शनिबार १० बजेसम्मका प्रमुख १० खबर

शनिबार, २४ असोज, २०८३
डिजिटल संस्करण

शुक्रबार अवरुद्ध पृथ्वी राजमार्ग अझै खुलेन, भित्ता काटेर ट्र्याक बनाइँदै

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौदी नजिक सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार साँझदेखि आवागमन ठप्प हुँदा हजारौं यात्रु बाटोमै अलपत्र परेका छन्।

राजमार्ग अवरुद्ध भएपछि काठमाडौंलगायत विभिन्न गन्तव्यतर्फ जाँदै गरेका यात्रुहरू समस्यामा परेका छन्। लामो दूरीको यात्रा गरिरहेका यात्रुहरूलाई रात बिताउनसमेत कठिन भएको छ। सडक कहिले खुल्छ भन्ने निश्चित नहुँदा उनीहरू अन्योलमा परेका छन्।

भारतबाट काठमाडौं हुँदै पशुपतिनाथको दर्शन गर्न आएका सञ्जय चौधरी पनि गलौँदीमा अलपत्र परेका छन्। गन्तव्यमा पुग्न नपाउँदै बाटोमै बास बस्नुपरेको उनले बताए।

‘आउँदाआउँदै गन्तव्यमा नपुगी बाटोमै बास पर्यो। बाटो कहिले खुल्छ, थाहा छैन,’ उनले भने, ‘पशुपति दर्शन गर्न भारतबाट आएको हुँ। नचिनेको ठाउँमा बाटोमै अलपत्र परेँ।’

पोखराबाट आएका दीपेन्द्र परियार पनि परिवारलाई भेट्न घर जाने क्रममा गलौँदीमा रोकिएका छन्। साना सवारीसाधन आवतजावत गर्न थालेको भन्ने सुनेपछि अघि बढेका उनी परिवारसँग भेट्न निर्धारित समयमा घर पुग्न सकेनन्।

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा भीमफेदी-कुलेखानीमा दुवैतर्फ जाम

 

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौँडा-काठमाडौं जोड्ने छोटा मार्गमा सवारी चाप बढ्दा तीन घण्टाको यात्रालाई ६ देखि सात घण्टासम्म लागेको छ ।

भीमफेदी–कुलेखानी खण्डमा दुवैतर्फ जाम भएर यात्रुले सास्ती खेपिरहेका बेला मकवानपुर प्रशासनले कान्ति राजमार्ग चौबिसै घण्टा प्रयोग गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।

धादिङको गलौदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि पश्चिमका विभिन्न जिल्लाबाट काठमाडौं जाने सवारी मकवानपुर हुँदै आउन थालेका छन् । त्यसको प्रत्यक्ष असर हेटौँडा–भीमफेदी–देउराली–कुलेखानी हुँदै सिस्नेरी र फाखेलबाट काठमाडौं जोडिने मार्गमा परेको छ ।

एमालेद्वारा १३ जना केन्द्रीय सदस्यमा मनोनीत

 नेकपा एमालेले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। शनिबार पार्टी कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले ६ महिला, ६ पुरुष र अन्य पार्टीबाट एमालेमा प्रवेश गरेका एक जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।

एमालेका उपमहासचिव लेखराज भट्टका अनुसार महिला सदस्यतर्फ सिर्जना राई, सावित्रा अर्याल, इन्दु कडरिया विष्ट, सीता पंगेनी, सीता अधिकारी र डा. पुष्पा केसी भण्डारी मनोनीत भएका छन्।

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ।

मन्त्रालयले नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा प्रयोग भइरहेका नेलिस (NeLIS), एलआरएमआइएस (LRMIS) तथा मेरो कित्ता व्यवस्थापनका लागि खरिद गरिएका हार्डवेयर र सफ्टवेयरको वास्तविक अवस्था अध्ययन गर्न समिति गठन गरेको हो।

परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किए, बाढी पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १५ मिलियन डलर दिने

अस्ट्रेलियाको औपचारिक भ्रमण तथा फिजी र टुभालुमा आयोजित प्रि–कोप लिडर्स इभेन्टमा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार स्वदेश फर्किएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालमा बाढीबाट प्रभावित क्षेत्रको राहत तथा पुनर्निर्माणका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको छ। यससँगै बाढी विपतका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता २६ मिलियन अस्ट्रेलियन डलर पुगेको छ।

विश्व मानसिक स्वास्थ्य दिवसमा रास्वपा नेता विपिनकुमार आचार्यले भने – ‘म ठिक छु’ भन्नु नै मानिसको उत्कृष्ट अभिनय

रास्वपा नेता विपिनकुमार आचार्यले बाहिरबाट सामान्य र खुसी देखिने मानिसभित्र पनि गहिरो पीडा, चिन्ता, निराशा र मानसिक संघर्ष लुकेको हुन सक्ने उल्लेख गरेका छन्। मानिसले आफ्नो जीवनमा गर्ने सबैभन्दा उत्कृष्ट अभिनय नै ‘म ठिक छु’ भन्नु भएको उनको भावनात्मक अभिव्यक्ति छ।

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा उनले आफ्ना डर, चिन्ता र निराशासँग भित्रभित्रै लडिरहेका मानिसलाई पनि आत्मीय साथ, भरोसा र बुझिदिने मनको आवश्यकता पर्ने बताएका छन्। रातभर आफ्नै विचारसँग संघर्ष गरेर बिहान मुस्कानका साथ संसारसामु प्रस्तुत हुने मानिसहरूको साहसलाई उनले मौन योद्धाको संज्ञा दिएका छन्।

इन्टरनेट शुल्क वृद्धि गर्न कुनै स्वीकृति दिएका छैनौँ : दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा इमेल सेवाको शुल्क वृद्धि गर्ने सम्बन्धमा कुनै स्वीकृति नदिएको स्पष्ट पारेको छ। विभिन्न सञ्चारमाध्यममा इन्टरनेट सेवा शुल्क वृद्धि भएको भन्दै प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले शुल्क बढाउने कुनै प्रस्तावसमेत प्राप्त नभएको जनाएको हो।

प्राधिकरणले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा इन्टरनेट सेवा प्रदायकहरूबाट सेवा शुल्क वृद्धि गर्ने प्रस्ताव नआएको र प्राधिकरणले पनि शुल्क वृद्धि गर्न स्वीकृति नदिएको उल्लेख गरेको छ।

प्राधिकरणका अनुसार दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्नेछ। सेवा प्रदायकले शुल्कको दर निर्धारण गर्दा प्राधिकरणले तोकेको निर्देशिकाअनुसार तयार गरी लागू हुने मितिसमेत उल्लेख गरेर कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था छ।

नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ : सभापति गगन थापा

 नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताए। उनले महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने भन्दै काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाफदेहिता बढाउनुपर्नेमा जोड दिए।

एमालेमा युवा र नयाँ–पुरानाको सन्तुलन मिलाउन योगेश भट्टराईको माग, पदाधिकारी चयन हतारमा नगर्न आग्रह

नेकपा एमालेका उपमहासचिव नेता योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको आन्तरिक एकता कायम राख्दै केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न आग्रह गरेका छन्।

एमाले स्थायी कमिटीको जारी बैठकमा आफू आवश्यक कामका कारण उपस्थित हुन नसकेको जानकारी दिँदै भट्टराईले अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका हुन्। उनले पार्टीभित्रको एकता बलियो बनाउँदै लोकतन्त्र र संविधानको रक्षाका लागि प्रमुख राजनीतिक दलहरूले रूपान्तरणसहित अग्रसरता लिनुपर्ने बताएका छन्।

नेपाल टेलिकमको दसैँ–तिहार अफर : इन्टरनेट जडानमा पाँच सय छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ। अफरअन्तर्गत नयाँ फाइबर इन्टरनेट जडानमा पाँच सय  रुपैयाँ छुट र वार्षिक प्याकेजमा एक महिना थप सेवा उपलब्ध हुने भएको छ।

कम्पनीका अनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटिटिएच इन्टरनेट जडान गर्ने ग्राहकले जडान शुल्कमा पाँच सय  रुपैयाँ छुट पाउनेछन्। त्यस्तै, १००, १५० र २०० एमबिपिएसका वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले १२ महिनाको शुल्कमा १३ महिना इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन्।

 

 

 

सुझावित समाचार