सुडानलाई अमेरिकाले आतंककारी राष्ट्रको सूचीबाट हटायो

मंगलबार, ७ पुष, २०७७
डिजिटल संस्करण

अमेरिकी संसद्ले सुडानलाई आतंकवादी राष्ट्रको सूचीबाट मुक्त गर्ने प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै सुडानले सबै राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध पुनः कायम गर्ने बाटो खुलेको छ ।

सन् २००१ को सेप्टेम्बरमा अमेरिकी दूतावासहरूमा भएकाे आक्रमणको दोष अमेरिकाले सुडानमाथि लगाउँदै आएको थियो । सो घटनामा भएको जनधनको क्षतिबापत करोडौँ डलर क्षतिपूर्ति तिर्न सुडान सरकार तयार भएपछि अमेरिकाले सुडानमाथिको प्रतिबन्ध हटाएको हो । 

आतंकवादी राष्ट्रको सूचीबाट सुडानलाई अमेरिकाले गत साता हटाएको थियो । सुडानले इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्न सहमति जनाएको दुई महिना नपुग्दै अमेरिकाले सो निर्णय गरेको हो ।

कोरोना भाइरस महामारीको चपेटामा परेर आर्थिक संकटमा परेको सुडान अहिले राजनीतिक संक्रमणकालमा छ । अमेरिकाले सुडानलाई आर्थिक सहायता, ऋण मोचन र लगानीका लागि पनि सघाउने जनाएको छ । 

सुडानलाई अमेरिकाले ७० करोड आर्थिक सहायताका साथै अन्तर्राष्ट्रिय मुद्रा कोषलाई भुक्तानी गर्नुपर्ने थप १२ करोड डलर ऋण चुक्ता गर्न सघाउने बताएको छ । अमेरिकामा रहेका सुडान सरकारका बैंक खाताहरू पनि अब खुला हुनेछन् ।

सुडानसँगको सम्झौतामा सुडानले सन् १९९८ मा केन्या र तान्जानियास्थित अमेरिकी राजदूतावासमा अलकायदाद्वारा भएका हमलाका पीडितलाई क्षतिपूर्तिबापत ३३ करोड ५० लाख डलर भुक्तानी गर्न सहमति जनाएको थियो । 

सो हमला सुडानका तत्कालीन राष्ट्रपति ओमार अल–बसिरको शासनकालमा भएका थिए जतिवेला आतंकवादी संगठन अलकायदाका नेता बिन लादेन सुडानमै थिए ।
 

सुझावित समाचार