पोर्चुगल तथा युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले २०२० को गोल्डेन फुट अवार्ड जितेका छन् । २८ वर्षमाथिका खेलाडीलाई यो उपाधि प्रदान गरिन्छ । १ डिसेम्बरमै रोनाल्डोलाई गोल्डेन फुट अवार्ड दिइने घोषणा भएको थियो । घोषणा भएको तीन सातापछि मात्र उनलाई गोल्डेन फुट प्रदान गरिएको हो ।
यो अवार्ड करिअरमा खेलाडीले एकपटक मात्र पाउँछन् । सन् २०१९/२० को सिजनमा ३५ वर्षीय रोनाल्डोले युभेन्टस र पोर्चुगलबाट समग्रमा ४४ गोल गरेका थिए । विश्व फुटबलमा रोनाल्डोका प्रतिद्वन्द्वी लियोनल मेस्सीले अझैसम्म पनि यो अवार्ड प्राप्त गरेका छैनन् । यद्यपि बार्सिलोनोबाट प्रत्येक सिजनमा प्रेरणादायी प्रदर्शन गरे पनि मेस्सी गोल्डेन फुट अवार्ड पाउन प्रतीक्षारत छन् । मेस्सी पनि ३३ वर्षका भइसकेका छन् । अवार्ड विजेता खेलाडीको दुवै खुट्टाको मार्किङ लिइन्छ । त्यसपछि यसलाई पछि फ्रेमिङ गरिन्छ ।
उपाधि विजेता खेलाडीलाई गोल्डेन पोलिसको खुट्टा आकृतिको अवार्ड दिइने चलन छ । रोनाल्डोका पनि दुवै खु्ट्टाको पदचिह्न मार्किङ लिइएको छ । रोनाल्डोले आफू गोल्डेन फुट अवार्डबाट सम्मानित हुँदा उत्कृष्ट खेलाडीहरूसँगै मोनाकोमा अमर हुन पाएको बताएका छन् । रोनाल्डो लेख्छन्, ‘फुटबलका सर्वकालीन महान् खेलाडीसँगै उभिने अवसर पाएको छु, मलाई यसमा भोटिङ गर्ने सबै समर्थक तथा शुभचिन्तकहरूलाई धन्यवाद दिन चाहन्छु ।’
गोल्डेन फुट अवार्ड सन् २००३ देखि दिन थालिएको हो । अहिलेसम्म यो अवार्ड रोबर्टो बाजियो, एलेसान्डर डेल पिएरो तथा रोनाल्डिन्हो जस्ता चर्चित खेलाडीले जितेका छन् । अन्तर्राष्ट्रिय जर्नालिस्टहरूको भोटिङको आधारमा अवार्ड विजेता छानिनेछ । युभेन्ट्सका रोनाल्डोले अन्तिम भोटिङमा मेस्सी, रोवर्ट लेवान्डोस्की, जर्जिओ चिलेनी, नेयमार, सर्जियो रामोस, सर्जियो अगुएरो, जेरार्ड पिके, मोहम्मद सलाह र अर्टुरो भिडाललाई पछि पारेका थिए । अहिलेसम्म यो अवार्ड १७ जना खेलाडीले पाइसकेका छन् ।