नेपाली क्रिकेटको महाउत्सव नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजन आजदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ । उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र अघिल्ला दुई सिजनमै फाइनल खेलेको सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)ले लगातार तेस्रो वर्ष एनपिएल आयोजना गरेको हो ।
यसपटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट मान्यता पाएको, चर्चित विदेशी खेलाडी भित्रिएको र डिसिजन रिभ्यु सिस्टम (डिआरएस)को प्रयोग हुने भएकाले एनपिएल झन् विशेष बनेको छ । अघिल्ला दुई सिजनभन्दा एनपिएलको यो सिजन धेरै कोणबाट फरक छ ।
दुई संस्करण सफलतापूर्वक सम्पन्न भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले एनपिएललाई पूर्ण मान्यता दिएको छ । यससँगै यो प्रतियोगिताले लिस्ट ए मान्यता पाएको छ । अब टिमहरूले टेस्ट राष्ट्रको खेलाडी अनुबन्ध गर्न गोलाप्रथा गर्नुपर्दैन ।
यसअघि ८ मध्ये चार टिमले मात्रै जम्मा एक टेस्ट राष्ट्रका खेलाडी खेलाउन पाउँथे । अब, ७ सम्म टेस्ट राष्ट्रका जुनसुकै खेलाडी अनुबन्ध गर्न पाउँछन् । त्यसबाहेक एक एसोसिएट राष्ट्रका खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । यस्तै, प्रतियोगिता सबै आइसिसीको मापदण्डअनुसार चल्नेछ भने आइसिसीलाई प्रतियोगिता सम्पन्न भएको तीन महिनामा प्रतिवेदन बुझाउनुपर्नेछ ।
एनपिएलको यो सिजनदेखि क्यानले डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रणाली भित्र्याएको छ । यो नेपालमै पहिलोपटक भित्र्याइएको हो । डिआरएस प्रविधिले एनपिएललाई थप विश्वसनीय बनाउने क्यानका सचिव पारस खड्का बताउँछन् । ‘डिआरएस प्रयोगमा ल्याउन २ देखि ३ करोड लाग्ने भएकाले यसअघि भित्र्याउन सकेका थिएनौँ, एनपिएलको चाम बढ्दै जाँदा यसलाई भिœयाएका हौँ,’ उनले भने ।
डिआरएसको उपस्थितिसँगै अब अम्पायरबाट हुने सामान्य गल्ती नदोहोरिने पूर्वकप्तान पवन अग्रवाल बताउँछन् । ‘डिआरएसले खेललाई फेयर गराउँछ । अम्पायरबाट केही न केही ह्युमन एरर हुनु अन्यथा होइन । तर, डिआरएसले त्यो एररलाई मिनिमाइज गर्न सघाउँछ । खेलको विश्वसनीयता बढाउँछ,’ उनले भने ।
आइसिसी अम्पायर दुर्गानाथ सुवेदी (देवेन्द्र) पनि डिआरएस प्रविधि भित्रिँदा सबैभन्दा सहज अम्पायर टिमलाई हुने बताउँछन् । ‘डिआरएस भित्रिनु निकै सुखद् पक्ष हो । यसले अम्पायरबाट हुने अतिसामान्य गल्तीलाई पनि सुधार गर्न सक्छ । पारदर्शी निर्णय आउने र विवाद कम हुने हुँदा यो प्रविधि निकै आवश्यक थियो,’ उनले भने ।
एनपिएलको पहिलो सिजनमा फ्लड लाइटको व्यवस्थासमेत थिएन । पिचसहितको गुणस्तरीय मैदान भए पनि दर्शक बस्ने प्यारापिटसहितको स्टेडियम पनि थिएन । दोस्रो सिजनदेखि त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान र सिटको व्यवस्था गरिएको हो । यसपटकका रात्रि खेलहरू पनि फ्लड लाइटमै हुनेछन् ।
देशभरका सात प्रदेशको प्रतिनिधित्व गर्दै सुरु भएको फ्रेन्चाइज प्रतियोगिता अबको एक महिना अर्थात् २१ नोभेम्बरसम्म चल्नेछ । कोशी प्रदेशको प्रतिनिधित्व गर्दै विराटनगर किंग्स, मधेशबाट जनकपुर बोल्ट्स, बागमतीबाट दुई टिम चितवन राइनोज र काठमाडौं गोर्खाज्, गण्डकीबाट पोखरा एभेन्जर्स, लुम्बिनीबाट लुम्बिनी लायन्स, कर्णालीबाट कर्णाली याक्स र सुदूरपश्चिमबाट सुदूरपश्चिम रोयल्सले खेल्दै छन् ।
यसपटक एनपिएलको विशेष आकर्षण विश्वचर्चित टेस्ट राष्ट्रका प्रख्यात खेलाडीको क्षमता त्रिवि मैदानमै देख्न पाउनु पनि हो । पाकिस्तान टी–२० टिमका कप्तान साहिबजादा फर्हान, दक्षिण अफ्रिकाबाट खेलिरहेका डेबिड मिलर, वेस्ट इन्डिजका चर्चित आन्द्रे रसेल, न्युजिल्यान्डका जिमी निसमलगायत खेलाडीले त्रिवि मैदानमा आफ्नो क्षमता प्रस्तुत गर्नेछन् ।
फर्हान र चर्चित ब्याटर मिलरले कर्णाली याक्सबाट खेल्दै छन् । अलराउन्डर आन्द्रे र श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजले विराटनगर किंग्सबाट खेल्दा न्युजिल्यान्डका जिमी निसम, पाकिस्तानका इफ्तिखर अहमद, इंग्ल्यान्डका चर्चित स्पिनर माइन अलीलाई जनकपुरले भित्र्याएको छ ।
त्यस्तै, पोखराले बंगलादेशका चर्चित अलराउन्डर सकिब हल हसन तथा सुदूरपश्चिमले वेस्ट इन्डिजका बलर सेरफन रदरफोर्ड र फेबियन एलेनलाई जोडेको छ । लुम्बिनी लायन्सले बंगलादेशका ब्याटिङ अलराउन्डर सामिम हुसेनलाई अनुबन्ध गरेको छ । चिवतनले पाकिस्तानका मोहम्मद नवाज र इंग्ल्यान्डका रवि बोपरालाई भित्र्याएको छ ।
एनपिएलको यो सिजनमा क्यानले डेढ अर्बबराबरको कारोबार हुने बताउँदै पुरस्कार राशीसमेत बढाएको छ । दोस्रो संस्करणमा विजेता क्लबलाई एक करोड १० लाख पुरस्कार दिएकामा क्यानले यो सिजनको बिजेतालाई एक करोड ५० लाख दिने घोषणा गरेको छ । यो पुरस्कार नेपाली खेलकुदमा दिने सबैभन्दा ठुलो राशीको हो ।
त्यस्तै, उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान हासिल गर्नेले ३० लाख पाउनेछन् । अघिल्लो संस्करणमा दोस्रो हुनेले ५१ लाख, तेस्रोले २५ लाख र चौथोले १५ लाख पाएका थिए । त्यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीले कार पाउनेछन् ।
क्यानका कोषाध्यक्ष पदमबहादुर खड्का
अघिल्लो संस्करणको तुलनामा यसपटक पुरस्कार रकम ३६.३६ प्रतिशत बढेको बताउँछन् । प्रतियोगिता व्यवस्थापन समितिले ७० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्ने र एक महिनाको अवधिमा समग्र आर्थिक कारोबार १ अर्ब ६० करोड पुग्ने खड्काको दाबी छ ।
एनपिएललाई आइसिसीको मान्यता
प्रतियोगिता सबै आइसिसीको मापदण्डअनुसार चल्नेछ भने आइसिसीलाई प्रतियोगिता सम्पन्न भएको तीन महिनामा प्रतिवेदन बुझाउनुपर्नेछ
दुई संस्करण सफलतापूर्वक सम्पन्न भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले एनपिएललाई पूर्ण मान्यता दिएको छ । यससँगै यो प्रतियोगिताले लिस्ट ‘ए’ मान्यता पाएको छ । अब टिमहरूले टेस्ट राष्ट्रको खेलाडी अनुबन्ध गर्न गोलाप्रथा गर्नुपर्दैन । यसअघि आठमध्ये चार टिमले मात्रै जम्मा एक टेस्ट राष्ट्रका खेलाडी खेलाउन पाउँथे । अब, आठै टिमले सात टेस्ट राष्ट्र र एक एसोसिएट राष्ट्रका गरी आठ विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछन् । मैदानमा भने एकपटकमा चार खेलाडी मात्रै उतार्न पाउँछन् ।
डेढ अर्बबराबरको कारोबार हुने
विजेता क्लबलाई डेढ करोड पुरस्कार, उत्कृष्ट खेलाडीलाई कार
एनपिएलको यो सिजनमा क्यानले डेढ अर्बबराबरको कारोबार हुने बताउँदै पुरस्कार राशिसमेत बढाएको छ । दोस्रो संस्करणमा विजेता क्लबलाई एक करोड १० लाख पुरस्कार दिएकामा क्यानले यो सिजनको विजेतालाई एक करोड ५० लाख दिने घोषणा गरेको छ । यो पुरस्कार नेपाली खेलकुदमा दिने सबैभन्दा ठुलो राशिको हो । त्यस्तै, उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान हासिल गर्नेले ३० लाख पाउनेछन् ।
अघिल्लो संस्करणमा दोस्रो हुनेले ५१ लाख, तेस्रोले २५ लाख र चौथोले १५ लाख पाएका थिए । त्यस्तै, प्रतियोगितमा सर्वोत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीले कार पाउनेछन् । क्यानका कोषाध्यक्ष पदमबहादुर खड्का अघिल्लो संस्करणको तुलनामा यसपटक पुरस्कार रकम ३६.३६ प्रतिशत बढेको बताउँछन् । प्रतियोगिता व्यवस्थापन समितिले ७० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्ने र एक महिनाको अवधिमा समग्र आर्थिक कारोबार एक अर्ब ६० करोड पुग्ने खड्काको दाबी छ ।