अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मान्यता प्रदान गरेसँगै तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिता ह्वात्तै बढेको छ । आइसिसीको मान्यतापछि टेस्ट मान्यताप्राप्त राष्ट्रका सक्रिय तथा अनुभवी खेलाडीदेखि अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा प्रभाव जमाइरहेका क्रिकेटर विभिन्न फ्रेन्चाइज टोलीमा आबद्ध भएका छन् ।
अस्ट्रेलियन पूर्वकप्तान डेभिड वार्नर, वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल, पाकिस्तानी टी–२० टोलीका कप्तान साहिबजादा फरहान, श्रीलंकाली पूर्वकप्तान एन्जेलो म्याथ्युज, बंगलादेशी पूर्वकप्तान सकिब अल हसन, इंग्ल्यान्डका मोइन अली र दक्षिण अफ्रिकी डेभिड मिलरजस्ता चर्चित विदेशी क्रिकेटरले त्रिवि क्रिकेट मैदानमा आकर्षक स्ट्रोक लगाउनेछन् ।
डेभिड वार्नर (अस्ट्रेलिया), काठमाडौं गोर्खाज
अस्ट्रेलियन क्रिकेटर वार्नर एनपिएलमा आबद्ध विदेशी खेलाडीमध्ये ठुला स्टार हुन् । उनी काठमाडौंमा आबद्ध छन् । आक्रामक ब्याटिङका लागि चर्चित वार्नरले अस्ट्रेलियाका लागि लामो समय ओपनरको भूमिका निर्वाह गरेका थिए । उनी दुईपटक एकदिवसीय विश्वकप जित्ने टोलीका सदस्य हुन् ।
उनले सन् २०२३ मा अस्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिप तथा एकदिवसीय विश्वकप जित्दा महत्वपूर्ण भूमिका खेलेका थिए । विशेषगरी उनी टी–२० फम्र्याटमा आक्रामक शैलीमा ब्याटिङ गर्न प्रसिद्ध छन् । यसैगरी अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज क्रिकेटमा समेत वार्नरको लामो अनुभव छ । उनले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सबाट खेले । आइपिएलमा वार्नर सर्वाधिक सफल ब्याट्सम्यानमा पर्छन् ।
डेभिड मिलर (दक्षिण अफ्रिका), कर्णाली याक्स
कर्णालीले दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलरलाई अनुबन्ध गर्दै सनसनी मच्चाएको छ । गत शुक्रबार कर्णालीले दक्षिण अफ्रिकी मध्यक्रमका बायाँहाते ब्याट्सम्यान मिलरलाई अनुबन्ध गरेको थियो । उनी कर्णालीमा अनुबन्ध हुने छैटौँ विदेशी खेलाडी हुन् । ३७ वर्षीय मिलरले दक्षिण अफ्रिकासँगै विश्वचर्चित फ्रेन्चाइज लिगमा राम्रो छाप छाडेका छन् । उनले आइपिएल, बिग बास, पाकिस्तानी प्रिमियरसँगै थुप्रै लिग खेलेका छन् ।
आइपिएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पन्जाब, गुजरात टाइटन्सबाट खेलेको अनुभव उनीसँग छ । सन् २०२२ मा गुजरातले पहिलोपटक आइपिएल उपाधि जित्दा उनी मुख्य खेलाडी थिए । मिलरले दक्षिण अफ्रिकाबाट १४० टी–२० आईमा दुई हजार ८०४ रन बनाउँदा दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन् । यसैगरी ५८४ टी–२० खेलमा उनले १२ हजार ४३५ रन बनाएका छन् । यसक्रममा चार शतक तथा ५३ अर्धशतक बनाएका छन् । मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध ३५ बलमै कीर्तिमानी शतक प्रहार गरेका थिए ।
सकिब अल हसन (बंगलादेश), पोखरा एभेन्जर्स
एभेन्जर्सले बंगलादेशी अनुभवी क्रिकेटर सकिबलाई अनुबन्ध गरेको छ । विश्व क्रिकेटका उत्कृष्ट अलराउन्डरमध्येका उनीसँग अन्तर्राष्ट्रिय क्रिकेटको राम्रो अनुभव छ । ४० वर्षीय सकिबले आइपिएलदेखि ३० भन्दा बढी फ्रेन्चाइज टोलीबाट खेलिसकेका छन् । बंगलादेशी पूर्वकप्तान रहेका उनले १२९ टी–२० आईमा दुई हजार ५५१ रन बनाउनुका साथै १४९ विकेट लिएका छन् । उनले समग्रमा टी–२० मा ४७८ खेल खेल्दै सात हजार ८५३ रन बनाएका छन् । यसैगरी, उनले यस विधामा ५१५ विकेट लिएका छन् ।
साहिबजादा फरहान (पाकिस्तान), कर्णाली याक्स
कर्णालीले पाकिस्तानी टी–२० टोलीका कप्तान फरहानलाई अनुबन्ध गर्दै धमाका मच्चायो । फरहानको आगमनसँगै कर्णालीको ब्याटिङ मजबुत बनेको छ । उनी टी–२० आई फम्र्याटमा विश्वकै उत्कृष्ट खेलाडीमा पर्छन् । जापानमा भएको २०औँ एसियन खेलकुददेखि उनले पाकिस्तानको कप्तानी गर्ने अवसर पाएका हुन् । ३० वर्षीय फरहानले सन् २०२६ को आइसिसी पुरुष टी–२० विश्वकपमा ६ खेलबाट ३८३ रन बनाएका थिए ।
यससँगै उनले टी–२० विश्वकपको एउटै संस्करणमा सर्वाधिक रन बनाउने कीर्तिमान आफ्नो नाममा लेखाए । यसअघि सो कीर्तिमान भारतका विराट कोहलीको नाममा थियो । कोहलीले सन् २०१४ को टी–२० विश्वकपमा ३१९ रन बनाएका थिए । फरहानले श्रीलंकाविरुद्ध दोस्रो शतक प्रहार गर्दै कोहलीको कीर्तिमान तोडे । उनले एउटै संस्करणको टी–२० विश्वकपमा नामिबियाविरुद्ध अविजित १०० र श्रीलंकाविरुद्ध १०० रन बनाएका थिए । उनले ४७ टी–२० आई खेलमा एक हजार तीन सयभन्दा बढी रन बनाएका छन् । उनी आइसिसी टी–२० ब्याटिङ वरीयताको तेस्रो नम्बरमा छन् ।
आन्द्रे रसेल (वेस्ट इन्डिज), विराटनगर किंग्स
विश्व क्रिकेटमा वेस्ट इन्डिजका रसेल विस्फोटक अलराउन्डरमा पर्छन् । उनी विराटनगरमा आबद्ध भएका छन् । उनको क्षमता नै छक्का र चौकाको वर्षासँगै एकल प्रयासमा खेलको नतिजा बदल्न हो । रसेलको सबैभन्दा ठुलो शक्ति पावर हिटिङ हो । यसकारण उनी टी–२० क्रिकेटका खतरनाक ब्याटरमा गनिन्छन् । रसेलले ५९४ टी–२० खेलमा नौ हजार ६६२ रन बनाएका छन् । उनको स्ट्राइक रेट १६७.४५ छ । टी–२० खेलमा उनले ७८५ छक्का प्रहार गरेका छन् । बलिङमा पनि उनी त्यत्तिकै प्रभावशाली छन् । उनले आइपिएलका १४० खेलमा दुई हजार ६५१ रन बनाउनुका साथै १२३ विकेट लिएका छन् । आइपिएलमा उनको ब्याटिङ स्ट्राइक रेट १७४.१८ छ । उनले १६ जुलाई २०२५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।
मोइन अली (इंग्ल्यान्ड), जनकपुर बोल्ट्स
पहिलो संस्करणको विजेता जनकपुरले इंग्ल्यान्डका अनुभवी अलराउन्डर अलीलाई अनुबन्ध गरेको छ । दुई वर्षअघि इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट सन्न्यास लिएका उनले अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समय बिताएका थिए । सन् २००५ देखि क्रिकेटमा सक्रिय अलीले इंग्ल्यान्डबाट ६८ टेस्ट, १३८ एकदिवसीय र ९२ टी–२० आई खेलेका छन् । उनले टेस्टमा तीन हजार ९४, एकदिवसीयमा दुई हजार ३५५ र टी–२० आईमा एक हजार २२९ रन बनाएका छन् । उनले समग्रमा टेस्ट र एकदिवसीयमा गरी आठ शतकीय इनिङ्स खेलेका छन् ।
सेरफेन रदरफोर्ड (वेस्ट इन्डिज), सुदूरपश्चिम रोयल्स
साबिक दुईपटकको उपविजेता सुदूरपश्चिमले वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान सेरफेनलाई अनुबन्ध गरेको छ । बायाँहाते मध्यक्रमका ब्याट्सम्यान सेरेफेन टी–२० क्रिकेटमा आक्रामक ब्याटिङ तथा उत्कृष्ट फिनिसिङ क्षमताका लागि परिचित छन् । आइपिएलमा उनले बेंग्लोर, मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबाट खेलेका छन् । २८ वर्षीय सेरफेन विभिन्न फ्रेन्चाइज लिगमा आबद्ध छन् । उनले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६० भन्दा बढी टी–२० आई खेलेका छन् ।
फेबियन एलेन (वेस्ट इन्डिज), सुदूरपश्चिम रोयल्स
वेस्ट इन्डिजका अलराउन्डर एलेनले सुदूरपश्चिमबाट प्रतिस्पर्धा गर्नेछन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याट्सम्यान तथा बायाँहाते स्पिनर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन् । एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० आई खेलेका छन् ।
एकदिवसीयमा उनले दुई सय रन बनाउनुका साथै सात विकेट लिएका छन् । टी–२० आईमा उनको नाममा २९८ रन र २४ विकेट छ । सबैखाले टी–२० क्रिकेटमा एलेनले १७८ खेल खेल्दै एक हजार ६३४ रन र १०९ विकेट लिएका छन् । उनले क्यारेबियन, युएई, दक्षिण अफ्रिका, क्यानडा, पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशका विभिन्न टी–२० लिगमा खेलेका छन् ।
एन्जेलो म्याथ्युज (श्रीलंका), विराटनगर किंग्स
श्रीलंकाली पूर्वकप्तान तथा अनुभवी अलराउन्डर एन्जेलो विराटनगरमा आबद्ध भए । विराटनगरले यसपटक विश्व क्रिकेटका स्थापित र व्यावसायिक खेलाडीलाई टोलीमा अनुबन्ध गरेको हो । एन्जेलोको आगमनले टोलीको ब्याटिङ र बलिङ दुवै पक्ष मजबुत हुनेछ । ३९ वर्षीय एन्जेलोसँग अन्तर्राष्ट्रिय क्रिकेटका साथै विश्वभरका विभिन्न फ्रेन्चाइज लिग खेलेको अनुभव छ । श्रीलंकाका लागि टेस्ट, एकदिवसीय र टी–२० आई गरी चार सयभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका एन्जेलोले चुनौतीपूर्ण परिस्थितिमा टोलीलाई सम्हाल्ने क्षमता राख्छन् ।
मेहदी हसन (बंगलादेश), पोखरा एभेन्जर्स
बंगलादेशी अलराउन्डर मेहदीले तेस्रो संस्करणको एनपिएलमा पोखराबाट आफ्नो क्षमता प्रस्तुत गर्नेछन् । बंगलादेशका उत्कृष्ट अलराउन्डर तथा आइसिसी टी–२० आई बलिङ वरीयतामा आठौँ स्थानमा रहेका मेहदीको आगमनले पोखरा बलियो देखिएको छ । ३१ वर्षीय मेहदीले बंगलादेशबाट ७८ टी–२० आई र १२ एकदिवसीय खेलेका छन् । उनले टी–२० मा ७८ र एकदिवसीयमा १५ विकेट लिएका छन् । मेहदीले बंगलादेश प्रिमियर लिगका विभिन्न सात टोलीबाट खेलेका छन् । एनपिएल उनका लागि पहिलो विदेशी लिग हुनेछ ।