५ मंसिरदेखि झापा महिला गोल्डकप

आगामी ५ देखि १२ मंसिरसम्म हुने गोल्डकप विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पाउने

सोमबार, ९ कार्तिक, २०८३
प्रिन्ट संस्करण

 झापा / दोस्रो संस्करणको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आगामी ५ देखि १२ मंसिरसम्म हुने भएको छ । आयोजकका अनुसार प्रतियोगिता झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा हुनेछ ।

प्रतियोगितामा तीन विभागीय एपिएफ, नेपाल पुलिस र त्रिभुवन आर्मी फुटबल क्लबको महिला टिम सहभागी हुने टुंगो लागेको आइतबार पत्रकार सम्मेलन गर्दै आयोजकका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिएका छन् ।

गोल्डकपमा एक आयोजक, तीन विदेशी क्लब र नेपालका दुई शीर्ष डिभिजन क्लबको सहभागिता रहने उनले बताए । पहिलो संस्करणमा आयोजकको आफ्नै टोली थिएन । जिल्लास्तरबाट छनोट गरेर कोशी प्रदेशभित्रकै खेलाडीको टोली बनाउने तयारी भइरहेको अध्यक्ष थोप्राले बताए । ‘कोशी प्रदेशमा नदेखिएका खेलाडी छन् । हामीले बजारमा टल्काएर राखेको हिरा मात्रै देखेका छौँ । लुकेर बसेका प्रतिभा देखेका छैनौँ,’ उनले भने, ‘यस्ता प्रतिभा पनि विभिन्न ठाउँमा खोज्ने काम गरिरहेका छौँ । प्रत्येक जिल्लामा नाम लिस्ट मगाएका छौँ ।’ 

उनका अनुसार छनोट गरिएका खेलाडीलाई प्रतियोगिता सुरु हुने १५ दिनअघिदेखि प्रशिक्षणमा राखिनेछ । दोस्रो संस्करणको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार प्राप्त गर्नेछन् । यसअघि पहिलो संस्करणको विजेतलाई १० लाख १० हजार र उपविजेतालाई पाँच लाख रुपैयाँ प्रदान गरिएको थियो । पहिलो संस्करण नेपाल पुलिस क्लबले जितेको थियो । 

उत्कृष्ट खेलाडीलाई डेढ लाख पुरस्कार 
दोस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, प्रशिक्षक र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्र्रत्येक खेलको प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगिताका लागि एक करोड २५ लाख बजेट रहेको अध्यक्ष थोप्राले बताए । उनका अनुसार प्रत्येक टिकटबाट १० रुपैयाँ आदिवासी नेत्रहीन संघ र अटिजम भएका बालबालिकाको अध्ययनका लागि एक विद्यालयलाई प्रदान गरिनेछ । पहिलो संस्करणमा गेटमनी मात्रै ५८ लाख संकलन भएको थियो । फाइनल खेलमा मात्रै टिकट बिक्रीबाट ३० लाख दुई हजार चार  सय संकलन भएको आयोजकले जनाएको छ ।

सुझावित समाचार