एनपिएलमा विशेष सुरक्षा : बेटिङदेखि म्याच फिक्सिङसम्मको निगरानी गर्न प्रहरीको विशेष टोली परिचालन

उद्घाटन खेलमा ११ सय २५ प्रहरी खटिने, रंगशालामा दैनिक तालिमप्राप्त कुकुरसहित सुरक्षा जाँच र ड्रोनबाट निगरानी

सोमबार, ९ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ एनपिएललाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ । खेलमा हुन सक्ने बेटिङदेखि म्याच फिक्सिङसम्मको निगरानीका लागि प्रहरीका विशेष टोली परिचालन गरिएको छ । 

आयोजक क्यानसँग नियमित छलफल गरी चुस्त सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए । ‘खेलमा कुनै अवाञ्छित गतिविधि हुन नदिन सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘अनलाइन बेटिङदेखि म्याच फिक्सिङसम्मका गतिविधिको निगरानी गर्न प्रहरीका विशेष टोली बनेका छन् ।’ प्रहरी प्रधान कार्यालय र सिआइबीका केही प्रहरीलाई सम्भावित म्याच फिक्सिङको निगरानीमा खटाइएको छ । 

विगतको सिजनमा रंगशालामै बसेर बेटिङ चलाउने भारतीयहरूलाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्ता समूह यसपटक पनि सक्रिय हुन सक्ने भएकाले डिजिटल निगरानी गर्नेदेखि सादा पोसाकमा प्रहरी खटाएर नियमित रूपमा निगरानी गर्न लागिएको छ । यो प्रतियोगिता देशको प्रतिष्ठानसँग समेत जोडिएकाले कुनै पनि कमजोरी हुन नदिन ठुलो संख्यामा प्रहरी परिचालन गर्न लागिएको छ । विगतमा भन्दा यसपटक धेरै विदेशी खेलाडी प्रतियोगितामा सहभागी हुँदै छन् । 

उनीहरूको समेत सुरक्षालाई ध्यानमा राखेर सुरक्षा योजना बनाइएको छ । उद्घाटन खेलमा एक हजार १२५ प्रहरी परिचालन हुनेछन् । त्यस्तै, त्रिवि क्रिकेट मैदानको बाहिरी पेरिमिटरमा सशस्त्र प्रहरीलाई पनि परिचालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।

खेलाडी बस्ने होटेलहरूमा समेत सुरक्षाका लागि प्रहरी खटाइएको छ । रंगशालामा दैनिक रूपमा तालिमप्राप्त कुकुरसहित सुरक्षा जाँचदेखि ड्रोनको प्रयोग पनि गरिने एसपी थापाले बताए । ‘एनपिएलमा इन्टेलिजेन्समा आधारित पुलिसिङ हुन्छ,’ उनले भने, ‘सादा पोसाकका प्रहरीबाट सूचना संकलन गर्नेदेखि प्रविधिको उच्चतम प्रयोग हुनेछ ।’ 

एनपिएल सुरक्षाबारे शनिबार जिल्ला प्रहरी कार्यालय, सुरक्षा अधिकारी र क्यानका पदाधिकारीबिच छलफल भएको थियो भने आइतबार साँझ उच्च प्रहरी अधिकारीले रंगशाला क्षेत्रमै पुगेर ब्रिफिङ लिएका छन् । क्यानसँगको छलफलमा खेलाडीको सुरक्षादेखि पार्किङका विषयमा समेत छलफल भएको छ ।

विगतका वर्षमा पार्किङको विषयसमेत समस्या भएको थियो । यसपटक पार्किङ क्षेत्र विस्तार गरिएको छ । साथै, टिकट नपाएको विषयमा पनि रंगशालाबाहिर नाराबाजी हुने घटना देखिएका थिए । टिकटका विषयमा पारदर्शी रूपमा समयमै दर्शकलाई सूचना दिन प्रहरीले आग्रह गरेको छ । त्यस्तै, सामाजिक सञ्जालमा पनि निगरानी गरिने प्रहरीले जनाएको छ । अनलाइन बेटिङदेखि सद्भाव बिगार्ने गतिविधि नियन्त्रणका लागि सामाजिक सञ्जालमा पनि निगरानी गरिने एसपी थापा बताए ।

सुझावित समाचार