सिटीले वित्तीय नियम उल्लंघन गरेको ठहर

आइतबार, ११ असोज, २०८३
डिजिटल संस्करण
  • इंग्लिस प्रिमियर लिगको विभिन्न सिजनमा आर्थिक विवरण नबुझाएकोसहित ११५ आरोपको प्रारम्भिक फैसला म्यानचेस्टर सिटीविपरीत

इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि लागेको एक सय १५ वटा वित्तीय नियम उल्लंघनसम्बन्धी आरोपमा फैसलाले विश्व फुटबलमा हलचल मच्चाएको छ । सन् २०२४ को सेप्टेम्बरमा सिटीमाथि लगाइएका आरोपको सुनुवाइ भएको थियो । छानबिनका लागि गठन भएको स्वतन्त्र आयोगले अधिकांश आरोपमा सिटीलाई दोषी ठहर गरेको बिबिसीले जनाएको छ । यद्यपि, आयोगको यो निर्णय अन्तिम भने होइन । यसको अन्तिम निर्णय आउन बाँकी रहेको छ । दोषी ठहर भएपछि सिटीले कस्तो सजाय पाउँछ भन्ने निर्णय हुन बाँकी छ । स्वतन्त्र आयोगको लिखित फैसला सार्वजनिक भएपछि मात्र सजाय र निर्णयका विस्तृत आधार स्पष्ट हुनेछन् । 

प्रिमियर लिगका अधिकांश आर्थिक आरोपमा सिटी दोषी ठहरिएपछि अन्य क्लबहरूले क्षतिपूर्तिको दाबी गर्ने सम्भावना बढेको बिबिसीले जनाएको छ । अन्य इंग्लिस क्लबहरूले आ–आफ्ना कानुनविद्सँग परामर्श लिन थालेका छन् । सिटीविरुद्ध लगाइएका एक सय १५ आर्थिक आरोपमध्ये अधिकांशलाई प्यानलले सदर गरेको छ । द एथलेटिकले एक सय १५ मध्ये एक सय १४ आरोप कायम गरेको हो । 

सिटीले आर्थिक विवरण नदिएको 
सिटीले सन् २००९–१० देखि २०१७–१८ सम्म वित्तीय विवरणमा सही जानकारी नदिएको जनाइएको छ । यसका साथै खेलाडी तथा प्रशिक्षकलाई गरिएको भुक्तानीबारे सही विवरण नदिएको र युइएफए तथा प्रिमियर लिगका वित्तीय नियम उल्लंघन गरेको आरोप लगाइएको थियो । आरोपमध्ये ५४ वटा सही वित्तीय जानकारी उपलब्ध नगराएको, १४ वटा खेलाडी तथा प्रशिक्षकको भुक्तानीसम्बन्धी विवरणमा र सातवटा प्रिमियर लिगको नाफा तथा दिगोपन नियमसम्बन्धी रहेको बिबिसीले उल्लेख गरेको छ । त्यस्तै, युइएफएका नियम उल्लंघनका पाँच आरोप र प्रिमियर लिगको अनुसन्धानमा सहयोग नगरेको ३५ आरोप पनि छन् । सिटीले आफूहरूले कुनै पनि सिजनमा गलत काम नगरेको र सबै आर्थिक विवरण सम्बन्धित निकायलाई बुझाएको दाबी गर्दै आएको छ । 

शीर्ष डिभिजन धरापमा पर्न सक्ने
स्वतन्त्र आयोगले अर्कोपटक पूर्ववत् निर्णयलाई सदर गरे खण्डमा सिटीले गम्भीर समस्यामा पर्न सक्छ । इंग्लिस प्रिमियर लिगको नियमअनुसार सिटीको अंक कटौती हुनेछ । यसैगरी, जरिवाना वा सबैभन्दा गम्भीर अवस्थामा प्रिमियर लिगबाटै हटाएर तल्लो डिभिजनमा घटुवा गर्न सकिने प्रावधान छ । अहिले नै सिटीलाई प्रिमियर लिगबाट घटुवा गरिने वा उपाधि खोसिने निश्चित भइसकेको छैन । यसको निर्णय आयोगको अन्तिम निर्णय नै हो । सिटीमाथि आरोप लागेको सिजनमा धेरै उपाधि जितेको थियो । यसमा तीनवटा प्रिमियर लिग उपाधिसमेत रहेको छ । सन् २०११–१२, ०१३–१४ र ०१७–१८ को सिजनमा सिटीले प्रिमियर लिग उपाधि हात पारेको थियो । यसैगरी, सिटीले सन् २०११ को एफए कप पनि जितेको थियो । सन् २०१३–१४, २०१५–१६ र २०१७–१८ को सिजनमा सिटीले इएफएल कपमाथि कब्जा जमाएको थियो । आयोगले उपाधि पुनर्वितरण गर्ने निर्णय गरेको खण्डमा दोस्रो स्थानमा रहेको क्लब विजेता बन्नेछ । 

सुझावित समाचार