हिमाली जिल्ला मनाङमा चिसो बढेसँगै खानेपानीका धारामा बरफ जम्न थालेको छ ।
मंसिर दोस्रो सातादेखि मनाङमा चिसो बढ्न थालेपछि खानेपानीको धारामा पानी बरफ हुन थालेको हो ।
बेलुका बाल्टिनलगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानी र खानेपानीका धारामा पानी जमेर बरफ हुन थालेको सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले बताए । उनले भने, ‘तापक्रम माइनसमा झरेकाले खानेपानीका धारामै बरफ जमेको छ ।’
दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बिलाउने गर्छ । तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले पानीका धारामै बरफ जम्न थालेको हो । अहिले मनाङमा चिसो अधिक बढेको छ ।
रात र बिहानको समयमा तापक्रम माइनस ७ डिग्री सेल्सियससम्म झर्न थालेपछि जनजीवन प्रभावित बनेको छ । पिसाङका छिरिङ गुरुङका अनुसार अत्यधिक चिसोले साँझ र बिहान पाइपभित्र पानी जमेर धारामा पानी आउँदैन खानेपानी नै पाइँदैन ।
चिसोले धारा, बाटोघाटो तथा स–साना पोखरीको पानी जमेको छ । गुरुङका अनुसार साँझ र बिहान बाहिर निस्कनै मुस्किल हुने गरी चिसो बढेको छ । गत वर्ष मंसिर २८ मा नै मनाङको सदरमुकाम चामेमा हिमपात भएपनि यस वर्ष भने मनाङका माथिल्लो भेगमा हिमपात भए पनि चामेमा भने हिमपात भएको छैन ।
मनाङको सदरमुकाम चामेमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्ममा रहेको खानेपानीको धारामा चिसोले जमेको पानी ।