मेडिकल शिक्षाको शुल्क र सिट बढाउन निजी मेडिकल कलेजहरूको माग

बिहिबार, २२ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ निजी मेडिकल कलेजहरूले चिकित्सा शिक्षाको शुल्क र सिट वृद्धि गर्न दबाब दिन थालेका छन्। विगतमा आफूहरूले नेपालको मेडिकल शिक्षालाई उकास्न सुधारका कामहरू गरेको दाबी गर्दै कलेजहरूले अब सुधारको मूल्यांकन गरी सिट तथा शुल्क निर्धारण गर्नुपर्ने माग राखेका हुन्।

हाल नेपालमा १९ वटा मेडिकल कलेज छन्। त्यसमा दुईवटा डेन्टल मेडिकल कलेज छन्। सरकारीतर्फ ९ वटा मेडिकल कलेज तथा प्रतिष्ठानहरू छन्। तर, मेडिकल जनशक्ति उत्पादन घटेको र भविष्यमा मेडिकल जनशक्तिको चरम हाहाकार हुने तर्क गर्दै उनीहरूले सिट र शुल्क बढाउन माग गरेका हुन्।

हाल सरकारी र निजीमा गरी वार्षिक करिब एक हजार ८ सयको संख्यामा मेडिकल जनशक्ति उत्पादन हुन्छ। तर, यसमध्ये बिदेसिने संख्यासमेत बढिरहेको भन्दै नेपालमा आगामी सन् २०३० सम्म स्वास्थ्य जनशक्तिको हाहाकार हुने भएकाले सिट वृद्धि गर्नुपर्ने उनीहरूको माग छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निजी मेडिकल कलेजहरूले आफूहरूले मेडिकल शिक्षामा गरेको सुधारको मूल्यांकन हुनुपर्ने बताए। विगतमा डा. गोविन्द्र केसीको विरोध गर्दै आइरहेका उनीहरूले केसीका कदमले मेडिकल शिक्षालाई गुणस्तरीय बनाएको बताए। विगतमा केसीको मागअनुसारका विषय निजी मेडिकल कलेजहरूले पालना गरेकाले अब भने शुल्क निर्धारण गर्नुपर्ने उनीहरूको तर्क छ।

एसोसिएसन अफ प्राइभेट मेडिकल कलेज एन्ड डेन्टल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रबहादुर कार्कीले डा. केसीको अभियानका कारण मेडिकल शिक्षा पढाउने संरचनासमेत व्यवस्थित बनेका बताए।

सुझावित समाचार