दुर्गम गाउँमा विकासको योजना लिएर कोही जनप्रतिनिधि पुगे भने स्थानीयले कस्तो प्रतिक्रिया जनाउलान् ? बुधबार काठमाडौंको चाबहिलमै त्यस्तै दृश्य देखियो । सडक कालोपत्रे भइरहेको अवलोकन गर्न काठमाडौंका मेयर विद्यासुन्दर शाक्यसहितको टोली त्यहाँ पुगेको थियाे ।
वर्षौँदेखि अलपत्र छाडिएको सडक कालोपत्रे भएको भन्दै स्थानीयले खुसी मात्रै व्यक्त गरेनन्, अरू योजनामा आशा पनि सुनाए । नगर विकास आयोजनाअन्तर्गत निर्माणाधीन सडक वर्षौँदेखि अलपत्र छाडिदिँदा आफूहरूले दुःख पाएको स्थानीयवासीले गुनासो सुनाए । त्यही सडक महानगरपालिकाले आठ करोड रुपैयाँ लागतमा कालोपत्रे गरेको छ ।
मैजुबहालदेखि चक्रपथ सडकसम्मको करिब दुई किलाेमिटर सडक कालोपत्रे गरिएको हो । ‘झन्डै २५ वर्षदेखि हामी कच्ची सडकको सास्ती झेल्दै आएका थियौँ, अब राहत मिलेको छ,’ स्थानीय रविन्द्र पण्डितले भने ।
स्थानीयलाई सम्बोधन गर्दै मेयर शाक्ले आफू निर्वाचित भएर आएपछिका तीन वर्षमा वडामा भएका कामको प्रत्यक्ष अनुभव गर्न वडास्तरमा अनुगमनमा पुग्न र गुनासो सुन्न थालेको बताए ।
‘हामीले प्रत्येक वडाको विकास निर्माणका लागि बजेट पठाउने गरेका छौँ,’ उनले भने, ‘केन्द्रबाट पठाएको बजेट र वडामार्फत पनि परिचालन गरेको बजेटबाट कति काम सम्पन्न भयो, कति सम्पन्न हुन बाँकी छ भन्ने जानकारी लिनका लागि यो अनुगमन गरेका हौँ, यसरी नै अब ३२ वटै वडामा पुग्छौँ ।’