कालिञ्चोकको भित्रिखर्क किबीको पकेट क्षेत्र घोषित

बिहिबार, २ पुष, २०७७
डिजिटल संस्करण

दोलखाको कालिञ्चोक गाउँपालिका– १ क्याङपोलस्थित भित्रिखर्कलाई किबी फलको पकेट क्षेत्र घोषणा गरिएको छ । 

पछिल्लो समय कृषकको रोजाइमा परेको किबी फललाई थप विकास गर्न कालिञ्चोक गाउँपालिकाको अगुवाइमा भित्रिखर्कलाई पकेट क्षेत्र घोषणा गरिएको हो । 

प्रधानमन्त्री कृषि आधुनिक परियोजनाअन्तर्गत पकेट क्षेत्र घोषणाका लागि कम्तीमा दुई सय रोपनी जग्गा र एक हजार बिरुवा लगाउनुपर्ने प्रावधानअनुरूप गाउँपालिका र केही गैरसरकारी संस्थाहरूसमेतको लगानीमा भित्रिखर्कलाई पकेट क्षेत्र घोषणा गरिएको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामीले जानकारी दिए । 

भित्रिखर्कमा दुई सय रोपनी जग्गा छनोट भइसकेको र एक हजार बिरुवा रोप्न किसान तयार भएको क्याङपोलका अगुवा कृषक सुरवीर थामीले जानकारी दिए । 

उनले पुरानो कृषि प्रणालीले जीविकोपार्जनमा समेत समस्या भएपछि नगदे बालीतर्फ केन्द्रित हुनुपरेको बताए । 

उनका अनुसार पुस महिनाभित्र खाल्डो खन्ने र मल व्यवस्थापनको काम किसानहरू आफैँले गर्ने र माघको पहिलो साता बिरुवा रोप्ने तयारी रहेको सुनाएका छन् । 

कालिञ्चोकको क्याङपोल बेगुम्पालगायतका क्षेत्रमा यसअघि थोरै थोरै क्षेत्रफलमा स्थानीय नामसालिङ सामुदायिक विकास केन्द्रको सहयोगमा कृषकले किबी खेती गर्दै आए पनि अब भने व्यावसायिक रूपमा सो खेती गर्न स्थानीयहरू उत्साहित भएकाले थप सहयोग गर्ने तयारी रहेको नामसालिङका फिल्ड संयोजक राजन केसीले जानकारी दिए । 

कालिञ्चोक गाउँपालिकाले आफ्नो क्षेत्रको एक हजार रोपनी जग्गामा चालू आर्थिक वर्षभित्रै किबी खेती गर्ने तयारी गरेको छ । 

गाउँपालिका अध्यक्ष थामीले चार वडामा पाँचवटा पकेट क्षेत्र निर्माण गरी किबी खेतीलाई प्रोत्साहन गर्न ४० लाख बजेट विनियोजन भएको प्रतिक्रिया दिए । 

उनका अनुसार गाउँपालिकाको ३० लाख र प्रदेश सांसद विकास कोषको १० लाख गरी जम्मा ४० लाख बजेट किबी खेती विस्तारकै लागि विनियोजन भएअनुरूप काम अघि बढिसकेको छ।

सुझावित समाचार