साताको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से ८ दशमलव २७ अंकले बढेर १ हजार ९ सय ६४ बिन्दुमा पुगेको हो । बजार खुलेदेखि उच्च उतारचढाव देखिएको नेप्से दिनभरमा १ सय ३४ अंकसम्म तलमाथि गर्यो ।
यसले लगानीकर्ताको मनोविज्ञानसमेत अस्थिर देखिएको स्पष्ट हुन्छ । सेयर बजारमा पछिल्ला दिनमा कारोबार रकममा समेत कमी आइरहेको छ । बिहीबार भने कारोबार रकम १२ प्रतिशतले घटेर ४ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ ।
कारोबारमा आएका दुईबाहेक सबै समूहको परिसूचक बढेको छ । ४ समूहको परिसूचक भने १ देखि २ प्रतिशतसम्म वृद्धि भएको छ । यसरी वृद्धि हुने समूहमा उत्पादनमूलक, व्यापारमूलक, जीवन बिमा र होटेल समूहका परिसूचक छन् । यस दिन कुनै समूहमा पनि कारोबार रकम १ अर्ब नाघेको छैन । लिबर्टी इनर्जी, नारायणी डेभलपमेन्ट बैंक र हिमालयन डिस्टिलरीको सेयर मूल्य करिब १० प्रतिशतका दरमा वृद्धि भएको हो ।
केही महिनाअघि सूचीकृत हुँदा ३ सय रुपैयाँबाट कारोबार सुरु भएको लिबर्टी हाइड्रोपावरको मूल्य १ सय ९४ रुपैयाँसम्म पुगेर फर्किएको हो । हाल कम्पनीको मूल्य २ सय ४२ रुपैयाँ पुगेको छ । गत आवमा ८ करोड रुपैयाँ नाफा हुने प्रक्षेपण गरेको कम्पनीले चालू आव अन्त्यमा १५ करोड रुपैयाँ नाफा गर्ने प्रक्षेपण आह्वानपत्रमा गरेको थियो । कम्पनीको गत आवदेखिकै वित्तीय विवरण सार्वजनिक भएको छैन ।
केही दिनदेखि मूल्यवृद्धि भइरहेको माथिल्लो तामाकोसीको सेयर भने १० प्रतिशत घटेको हो । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनी १ करोड ७८ लाख रुपैयाँ नोक्सानमा छ । त्यस्तै, ७१ करोड सञ्चित नोक्सान छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ३७ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । २ हजार रुपैयाँसम्म काराबोर भएर घट्न थालेको यस कम्पनीको सेयर पुनः बढ्ने क्रममा छ । २ सय ४ धितोपत्र र ऋणपत्रको कारोबार भएकोमा बिहीबार १ सय ३ कम्पनीको सेयर मूल्य बढेकोमा ७५ कम्पनीको मूल्य घटेको हो ।
गृहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले ८ प्रतिशत बोनस सेयर र ३ दशमलव ४० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । युनाइटेड फाइनान्सले भने यसपटक लाभांश घोषणा नगर्ने भएको छ । कम्पनी बलियो बनाउन लाभांश घोषणा नगर्ने उल्लेख गरेको छ ।