महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आव ०७५/७६ मा जीवन बिमा गर्ने बिमितलाई दिने पोलिसी बोनस सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बिमांकीय मूल्यांकन गरी सञ्चालनमा ल्याएको तथा मुनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बिमाको ०७५/०७६ का लागि न्यूनतम ५० रुपैयाँ प्रतिहजारका दरले बोनस घोषणा गरेको हो ।
बिमा समितिले हालै जारी गरेको संशोधित बिमांकीय मूल्यांकन निर्देशिकामा सो अवधिसम्म जारी पोलिसीको बिमांकीय मूल्यांकन गर्दा जारी पोलिसीको अवधि भुक्तानी नभएसम्मका लागि बोनस व्यवस्था गर्नुपर्ने कम्पनीले जनाएको छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सले नयाँ कम्पनीहरूमा पहिलोपल्ट उक्त व्यवस्थासहितको मूल्यांकन गरी बोनस घोषणा गरेको दाबी गरिएको छ । कम्पनीको आगामी बिमांकीय मूल्यांकन नभएसम्मका लागि यही बोनसदरले अन्तरिम बोनस भुक्तानी गरिने कम्पनीले जनाएको छ ।
कुन बिमामा कति ?
बिमा समितिबाट स्वीकृत बोनसदरअनुसार महालक्ष्मी सावधिक जीवन बिमामा ५ वर्षदेखि १५ वर्ष अवधिका लागि ५० रुपैयाँ, १६ देखि २५ वर्षका लागि ५१ रुपैयाँ र २६ देखि ३० वर्षका लागि ५२ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
त्यस्तै, महालक्ष्मी सरल जीवन बिमा र महालक्ष्मी जीवन हेरचार बिमामा पनि त्यही दर रहेको जनाइएको छ । जीवन हेरचार बिमा भने बढीमा २५ वर्ष अवधिको हुने कम्पनीले जनाएको छ ।