सातामा ८२ अंक उक्लियो नेप्से, ४ वर्षयताकै उच्च बिन्दुमा

सेयर बजारमा रेकर्ड कायम गर्ने क्रम तीव्र

शनिबार, २९ कार्तिक, २०७७
डिजिटल संस्करण

गत साता बजारमा वृद्धि आएसँगै सेयर बजारमा रेकर्ड कायम गर्ने क्रम तीव्र भइरहेको छ । नेप्से परिसूचक चार वर्षयताकै उच्च बिन्दुमा आइपुगेको छ । साताभरमा ८२ दशमलव ४१ अंक जोडेर नेप्से परिसूचक १ हजार ७ सय १८ बिन्दुमा पुगेर बजार बन्द भएको थियो । यसअघि नेप्से परिसूचक २३ कात्तिक ०७३ मा १ हजार ७ सय २४ दशमलव ७९ मा थियो । त्यसयता नेप्से हालको बिन्दुसम्म आइपुगेकै थिएन । 

बजार हालसम्मकै उच्च बिन्दु १ हजार ८ सय ८१ बाट मात्रै १ सय ६२ बिन्दुको दूरीमा छ । बजार उच्च दिशामा पुग्ने तयारी गरिरहँदा सावधानी भने अपनाउनुपर्ने हुन्छ । हरेक उचाइपछि बजारले केही करेक्सन लिन्छ नै । नेपाली बजारमा विगतमा पनि ३ वटा ठूला चक्रहरू आएका छन् । १ सयदेखि ५ सय बिन्दुमा पहिलो, १ सयदेखि १ हजार १ सय ७५ मा दोस्रो र २ सय ९० देखि १ हजार ८ सय ८१ मा तेस्रो चक्र पूरा गरेको थियो । अहिले चौथो चक्र पूरा गर्ने क्रममा नेप्से आएको छ । 

सातामा २० अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबार मात्रै बजारमा एकै दिन ४ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको थियो । दैनिक कारोबारका आधारमा यो नेपाली सेयर बजारको इतिहासकै दोस्रो उच्च करोबार हो । यसअघि बजारमा १८ फागुन ०७६ मा एकै दिन बजारमा ४ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको थियो ।

गत साताको अन्तिम दिनको तुलनामा यस सातामा सबैभन्दा धेरै व्यापारमूलक समूहमा करिब ४८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, ‘अन्य’ समूह १८ प्रतिशत, उत्पादनमूलक समूह करिब १२ प्रतिशत, होटेल र निर्जीवन बिमा समूह करिब ८ प्रतिशतले वृद्धि भएका हुन् । जीवन बिमा समूह ५ प्रतिशत र बाँकी समूहमा १ प्रतिशतभन्दा कमको वृद्धि छ । विकास बैंक समूहगत परिसूचक भने १ प्रतिशतभन्दा कमले घटेको छ । 

सर्वाधिक उचाइ भेट्नुअघि स–साना प्रतिरोध 

नेप्सेले हालसम्मकै उच्च बिन्दु भेट्नुअघि स–साना प्रतिरोधको सामना गर्ने देखिएको छ । नेप्सेले अगाडि बढ्ने क्रममा १ हजार ७ सय ६२, १ हजार ८ सय १९ र १ हजार ८ सय ३८ मा स–साना प्रतिरोध भेट्नेछ । अहिले पनि नेप्सेले १ हजार ७ सय ९ देखि १ हजार ७ सय २४ को बिन्दुमा प्रतिरोधको परीक्षण भने गरिरहेको छ । 

बजारमा सूचीकृत ७० भन्दा धेरै कम्पनीको मूल्य एक वर्षकै उच्च बिन्दुमा आएको छ । ब्रेक आउट भएमा नयाँ उचाइ यसले प्राप्त गर्नेछ भने त्यसो हुन नसकेमा भने घट्नेछ । बजार नयाँ उचाइमा पुगिरहेकाले लगानीकर्ताले मोलमोलाइ तीव्र पारेका छन् । बजार घट्छ भन्ने र बढ्छ भन्ने दुवै पक्ष बलियो देखिएको मैनबत्ती चित्रबाट देखिन्छ । अन्तिम दिनको अन्तरदिनको कारोबारमा नेप्सेले लामो पुच्छर (तल्लो धागो) भएको सेतो मैनबत्ती बनाएको छ । यो मैनबत्तीको माथिल्लो धागो भने छोटो छ । 

नेप्सेको ७ र २१ दिने मुभिङ एभरेजमा भने सातदिने रेखा माथि रहेर टाढिँदै गएको छ । यसले बजारमा थप वृद्धिको सम्भावना देखाइरहेको छ । बजार बुलिस प्रवृत्तिमै रहेको संकेतसमेत यसले देखाउँछ । बजारमा खरिद चाप उच्च भएको १४ दिने आरएसआई सूचकले समेत देखाउँछ । यो ९० स्केलमा छ ।

सुझावित समाचार