मंसिर १५ भित्र ल्यान्डफिल साइट निर्माण सक्न सहरी विकासमन्त्रीको निर्देशन

आइतबार, १६ कार्तिक, २०७७
डिजिटल संस्करण

उपत्यकाको फोहोर व्यवस्थापन गर्न बन्चरेडाँडामा ल्यान्डफिल साइट निर्माणमा भइरहेको ढिलाइको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसँग चासो राखेका छन् । २०६५ देखि सञ्चालनमा ल्याउने भनिएको ल्यान्डफिल साइट १२ वर्ष बित्दा पनि सम्पन्न नभएपछि प्रधानमन्त्री ओलीले केही दिनभित्रै फोहोर बिसर्जन गर्न मिल्ने गरी काम सम्पन्न गर्न मन्त्री श्रेष्ठलाई निर्देशन दिएका हुन् ।  

त्यसलगत्तै ल्यान्डफिल साइट निरीक्षण गर्न गएका मन्त्री कृष्णगोपाल श्रेष्ठले मंसिर १५ भित्र फोहोर बिसर्जन गर्न मिल्ने गरी ल्यान्डफिल साइटको काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । ल्यान्डफिल साइटको पहिलो र दोस्रो चरणअन्तर्गत निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

निर्माण कम्पनी लुम्बिनी–कोसी एन्ड न्यौपाने जेभीका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले १ मंसिरदेखि फोहोर बिसर्जन गर्न मिल्ने गरी अन्तिम काम भइरहेको जानकारी दिए । ‘तपाईंले धेरैपटक भाका फेरिसक्नुभएको छ, अब मंसिर १५ देखि फोहोर बिसर्जन गर्न मिल्ने गरी तयारी गर्नुस्,’ निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले भने ।  

काठमाडाैँ र ललितपुर दुई महानगरसहित उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुने ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न पोखरी निर्माण भइरहेको छ । 

फोहोर वर्गीकरण गरी बिसर्जन गर्दा सय वर्षसम्म पुग्ने
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले फोहोर वर्गीकरण नगरी बिसर्जन गर्दा २५ र वर्गीकरण गर्दा करिब सय वर्षसम्म ढुक्कसँग व्यवस्थापन गर्न सकिने जानकारी दिए । सरकारले विभागलाई ल्यान्डफिल साइटमा आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्न जिम्मा दिएको थियो । महानिर्देशक गेलालले अहिलेसम्म ल्यान्डफिल जाने बाटोको निर्माण, डाँडा काट्ने, ड्याम निर्माण, रातोमाटो बिछ्याउने, ग्याबिङ पर्खाल निर्माण, दुईवटा भवन निर्माण सम्पन्न भइसकेको जानकारी गराए । अब फोहोर बिसर्जन गर्ने स्थानबाट लिचेड पोखरीसम्म पुग्ने ह्युम पाइप राख्ने र लिचेड पोखरी निर्माण गर्न मात्र बाँकी रहेको उनको भनाइ छ ।   

ल्यान्डफिल साइट निर्माणमा ४० करोड रुपैयाँ खर्च

ल्यान्डफिल साइट निर्माणमा हालसम्म करिब ४० करोड रुपैयाँ खर्च भइसकेको छ । पहिलो चरणमा ३४ करोड ६८ लाख ७४ हजार र दोस्रो चरणका लागि ४६ करोड ५ लाख ९४ हजार रुपैयाँको ठेक्का सम्झौता भइसकेको छ । पहिलो चरणको निर्माण सम्झौता वैशाख २२ सम्म थियो । तर, लुम्बिनी–कोसी एन्ड न्यौपाने जेभीले निर्माण सम्पन्न गर्न नसकेपछि विभागले यही २२ कात्तिकसम्म म्याद थपेको हो । 

दोस्रो चरणको निर्माण ठेक्का कालिका कन्स्ट्रक्सनले पाएको थियो । सो कम्पनीले आगामी जेठ १९ भित्र सम्पन्न गर्ने सम्झौता गरेको छ । ठेकेदार कम्पनीले कोभिड–१९ को स्वास्थ्यजन्य समस्याका कारणले कामदार र निर्माण सामग्री आपूर्तिमा कठिनाइ, सिसडोलमा फोहोरको पहिरो गई आगमन अवरुद्ध भएको र कोल्पु खोलामा बर्सातमा बाढी आएर निर्माणकार्य प्रभावित भएको जनाएको छ । 

 १३ वर्षदेखि  सिसडोल ल्यान्डफिल साइटको भ्याली १ र २ मा फोहोर बिसर्जन भइरहेको थियो । दैनिक १ हजार १ सय मेट्रिकटन फोहोर बिसर्जन हुने सिसडोल ल्यान्डफिल साइटमा काठमाडौं महानगरपालिकाबाट मात्र दैनिक करिब ७ सय मेट्रिकटन फोहोर बिसर्जन भइरहेको छ । २०६२ सालमा २ वर्षका लागि मात्रै फोहोर व्यवस्थापन गर्न मिल्ने गरी सिसडोल ल्यान्डफिल साइट तयार गरेको थियो । लगत्तै दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन बन्चरेडाँडामा गर्न १ हजार ७ सय ९२ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

उपत्यकाको फोहोर व्यवस्थापन गर्न जापानिज सहयोग नियोग (जाइका)ले सन् २००२ मा सिसडोल ल्यान्डफिल साइट हस्तान्तरण गरेपछि  बन्चरेडाँडा दीर्घकालीन ल्यान्डफिल साइटको अवधारणागत डिजाइन तयार गरी १ अर्ब ८६ करोड लाग्ने अनुमान गरेको थियो ।

जाइकाले सो ल्यान्डफिल साइट सन् २००९ सम्ममा सम्पन्न हुने जनाएको थियो । जाइकाले डिजाइन तयार गरेको ११ वर्ष बितिसकेको छ । सरकारले २०६२ सालमै तीन वर्षभित्र बन्चरेडाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो । लगत्तै एक दशकअघि बन्चरेडाँडाको ल्यान्डफिल साइटको जग्गा अधिग्रहण गरेको थियो ।
 

सुझावित समाचार