नेप्से परिसूचक साताको अन्तिम दिन स्थिर रहेको छ । बुधबारको तुलनामा बिहीबार नेप्से १ दशमलव ७८ अंकले घटेर १ हजार ६ सय ४५ दशमलव ६८ बिन्दुमा आएर बजार बन्द भएको छ । यसअघि लगातार सात दिन नेप्से बढ्दा ९० अंक उक्लिएको थियो । बुधबार मात्रै परिसूचक एकै दिन ४५ अंकले उक्लिएको थियो । यो अवधिमा भएको प्रतिफल सुनिश्चित गर्ने क्रममा लगानीकर्ताले बिक्री बढाएका छन् ।
बिहीबार बजारमा उच्च उतारचढाव देखिएको छ । नेप्से १ हजार ६ सय ४० आसपासबाट पटक–पटक फर्किएको छ । यद्यपि, कारोबारको सुरुमै कायम १ हजार ६ सय ६३ को उच्च बिन्दुलाई भने भेट्न सकेन । बजारले बुधबार १ हजार ६ सय ६५ को प्रतिरोध सामना गरिरहेको देखिन्छ । यसअघि २५ साउन २०७४ मा नेप्सेले यही बिन्दुमा प्रतिरोध पाएर घटेको थियो । यो बिन्दु पार गरेमा भने १ हजार ७ सय ९ मा अर्को प्रतिरोध सामना गर्नेछ । ३० चैत २०७३ मा यो बिन्दुमा प्रतिरोध पाएर १ हजार ५ सय ५१ सम्म आइपुगेको थियो ।
बजारमा लगानीकर्ता समूहगत सिफ्टिङ गरिरहेका कारण बजार अलग–अलग समूहको वृद्धिले अगाडि बढिरहेको छ । पछिल्लो समय वाणिज्य बैंक समूहगत परिसूचकमा भइरहेको वृद्धिले नेप्से बढ्न सहयोग पुगेको हो । बैंकहरूले कम लाभांश दर भए पनि बोनसको हिस्सा बढाएपछि बजार बढ्न थालेको हो । यो समूह उतारचढाव कम देखिनेमध्ये पर्ने भएकाले पनि अहिले बजारमा यसको प्रभाव देखिएको हो ।
बजारले प्रतिरोध सामना गरिरहेको र बैंकिङ समूहमा समेत वृद्धि रोकिएको छ । यद्यपि, अझै लाभांश घोषणा हुने क्रम बाँकी रहेकाले कम्पनीहरूले घोषणा गर्ने लाभांश दरमा बजारको आगामी गति निर्धारण हुने देखिएको छ । कारोबारमा आएका कम्पनीहरूको वृद्धिदरसमेत खुम्चिँदै गएको छ । मूल्य बढेका ८३ धितोपत्र तथा ऋणपत्रमा चारवटाको मात्र मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।
घट्ने ९१ कम्पनीहरूमा पनि सबैको मूल्य ४ प्रतिशतभन्दा कमले घटेको छ । बजारमा मोलमोलाइ तीव्र भएको छ । बजार बढ्छ भन्ने पक्ष र घट्छ भन्ने पक्षका लगानीकर्ता बराबरी अवस्थामा देखिएकाले पनि बजारले निश्चित दिशा समात्न सकेको छैन । कारोबार रकममा भने बढोत्तरी भएको छ । बिहीबार ३ अर्ब ३ करोड रुपैयाँको सेयर किनबेच भयो । कारोबारमा आएकामध्ये व्यापारमूलक, जलविद्युत्, लघुवित्त, निर्जीवन बिमा, जीवन बिमा र ‘अन्य’ समूहगत परिसूचक बढेको छ । बैंक, होटेल, विकास बैंक, वित्त, उत्पादनमूलक र सामूहिक लगानी कोषको समूहगत परिसूचक घटेको हो ।
बुधबार पहिलो कारोबारका लागि खुला भएको शिवश्री जलविद्युत्को ओपनिङ मध्यम रह्यो । १ सय २० रुपैयाँबाट कारोबार सुरु भएको कम्पनीको मूल्य बजार बन्द हुँदा भने १ सय ३२ रुपैयाँसम्म पुग्यो । कम्पनीले पहिलो कारोबारका लागि १ सयदेखि ३ सय रुपैयाँको रेन्ज पाएको भए पनि तत्काल माथिल्लो रेन्जमा पुग्न सक्ने देखिएन ।