नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले घर–डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपालीमा अनुरोध गरेका छन् । विजयादशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सामाजिक सांस्कृतिक पर्वहरू मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गरेका छन् ।
सभापति देउवाले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै कोरोना भाइरस (कोभिड– १९) को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न पनि आग्रह गरे ।
‘दसैँ हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले पारिवारिक स्नेह, सामाजिक सदभाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको छ,’ सन्देशमा उनले भनेका छन् । सभापति देउवाले शुभकामना सन्देशमार्फत विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबुत बनाउँंदै आएको र बनाउनुपर्ने उल्लेख गरेका छन् ।
‘कोरोना भाइरस संक्रमणको नियन्त्रणमा पर्याप्त समय हुँदाहुँदै पनि सरकार पूर्ण रूपमा असफल भएको छ । आमजनताको स्वास्थ्य खतरामा परेको छ, अर्थतन्त्र धराशायी भएको छ । जनताको जीवन अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको छ । सरकार जनताका प्रति संवेदनहीन, गैरजिम्मेवार, अनुत्तरदायी र कर्तव्यविमुख देखिएको छ,’ सन्देशमा उनले भनेका छन्, ‘कोरोना भाइरस रोकथाममा सरकारले देखाएको उदासीनताका कारण बढ्दो संक्रमणलाई कम गर्न नागरिक आफैँ पनि सचेत र सजग हुन जरुरी देखिएको छ ।’