नागरिकको कोरोना उपचार गर्न सक्दिन भन्नु सरकारको गैरजिम्मेवारपन भएको कांग्रेस नेताहरूको ठहर

मंगलबार, ४ कार्तिक, २०७७
डिजिटल संस्करण

कोभिड– १९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुपर्ने कांग्रेस नेताहरूले बताएका छन् । 

नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय संविधानविपरीत भएको टिप्पणी गरे । 

उनले संविधानले ग्यारेन्टी गरेअनुसार सरकारले नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भएकोसमेत बताए । 
कोभिड– १९ संक्रमण अत्यधिक बढ्दै गएको अवस्थामा सरकार पछाडि हटेर आफ्नो उपचार आफैँ गर्न भन्नु गैरजिम्मेवारपूर्ण कदम भएको पनि उनले बताए । 

नेता सिंहले सरकार कोरोना संक्रमण रोकथाम र नागरिकको जिउने अधिकारको विषयलाई बेवास्ता गर्दै गैरजिम्मेवार रूपमा प्रस्तुत भएको बताए । 

यस्तो निर्णय तुरुन्त फिर्ता गरी कोरोना संक्रमणको स्थितिलाई तत्काल नियन्त्रण गर्न र नागरिकको उपचारको व्यवस्था मिलाउनसमेत उनले माग गरे । 

यस्तै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले संविधानले दिएको आधारभूत स्वास्थ्यको अधिकारविपरीत सरकारले निर्णय गरेको बताए । 

जिम्मेवारीबाट पन्छिने गरी आएको सरकारको निर्णय खेदजनक भएको उनको ठहर छ । 

कांग्रेसले दसैँपछि सुरु हुने संसद्को विशेष अधिवेशन र सडकमार्फत विरोध गर्ने उनले बताए । 

सरकारमा बस्नेहरूले राज्यकोषलाई आफूखुसी खर्च गर्न हुने, तर जनताको आधारभूत आवश्यकता पूर्ति गर्नतर्फ साधनस्रोत भएन भनेर पन्छिनु गैरजिम्मेवारपूर्ण कदम भएको उनले बताए ।

सुझावित समाचार