क्वारेन्टिनमा किन हुन्छ आत्महत्या ?

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

कोभिड–१९ बाट बच्न स्थानीयस्तरमा धेरै क्वारेन्टिन बनाइए । तर, विभिन्न कारण ती क्वारेन्टाइन आत्महत्या गर्ने थलो बन्न पुगे । क्वारेन्टिनको व्यवस्थापनमा मानवीय पक्षलाई ख्याल नगर्दा ती संक्रमण फैलाउने र मानसिक यातनागृह भए र थुप्रैलाई आत्महत्याका लागि उद्यत बनायो । क्वारेन्टिनमा सर्वसाधारण र हुनेखानेबीचमा विभेद भएको आवाज उठ्यो । सरसफाइ, स्वास्थ्यकर्मी, नराम्रो व्यवहार, खानेकुरा आदिलाई लिएर निकै कोलाहल पनि भयो । त्यसले कतिपय आत्मबल कमजोर भएका व्यक्तिलाई थप हतोत्साही बनाउँदा उनीहरूले आत्महत्या रोज्न पुगे ।

यस अवधिमा प्रदेश २ मा झुन्डिएर ३३४ र विष सेवन गरी ५८ जना गरी जम्मा चार सय १९ जनाले आत्महत्या गरे । तर, क्वारेन्टिनमा आत्महत्या गर्ने र भोकभोकै तड्पिएर मृत्युवरण गरेका नागरिकको छुट्टै विवरण सरकारी तथ्यांकमा छैन ।

क्वारेन्टिनमा आत्महत्या गर्नेको संख्या असामान्य देखिन्छ । त्यसमा पनि आत्महत्या गर्नेमा सबैभन्दा धेरै दलित तथा विपन्न परिवारका मानिस छन् । कोरोना महामारीअघि पनि आत्महत्या गर्नेको संख्या डरलाग्दो नै थियो । तर, लकडाउनको पाँच महिनामा त्यो आँकडामा निकै नै वृद्धि भएको छ । यस अवधिमा प्रदेश २ मा झुन्डिएर ३३४ र विष सेवन गरी ५८ जना गरी जम्मा चार सय १९ जनाले आत्महत्या गरे । तर, क्वारेन्टिनमा आत्महत्या गर्ने र भोकभोकै तड्पिएर मृत्युवरण गरेका नागरिकको छुट्टै विवरण सरकारी तथ्यांकमा छैन । बालबालिकाहरूसमेत झुन्डिएर आत्महत्या गर्नुले भयावह विषादको संकेत गर्छ । बालबालिकामा आत्महत्या गर्ने लहर कसरी उत्पन्न भयो ? यसबारे राज्य गम्भीर देखिँदैन । कोरोना महामारीलाई विश्वयुद्धपछिको सबैभन्दा भयानक घटनाको रूपमा चित्रित गरिएको छ । महामारीको अवधिमा आत्महत्या गरेका मानिसहरूको वस्तुनिष्ठ तथ्यांक नराख्नु सरकारको लापरवाही हो । त्यसले समस्याको पहिचान गर्न सहयोग गर्दैन । 

यतिवेला कोरोनाको सबैभन्दा ठूलो मार सहरमा र दैनिक ज्याला र मजदुरी गरी जिउने मानिसहरूमाथि परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा भोकभोकै एउटा पनि नागरिकले ज्यान गुमाउनु पर्दैन, उपचार नपाई कुनै पनि नागरिकले ज्यान गुमाउनु पर्दैन भनेर उद्घोष गरेका थिए । तर, त्यसको केही दिनमै खाना नपाएर सप्तरीमा मलर सदा मर्छन् । उपचार नपाएर धनुषामा राजु सदा छटपटाउँदै दम तोड्छन् । यसभन्दा दुःखद दृश्य अरू के हुन सक्छ ? सरकारले कोरोना महामारीमा १२ अर्ब रुपैयाँ खर्च गरिसकेको सार्वजनिक गरेको पनि निकै अघि हो । महाव्याधिमा भ्रष्टाचार र अव्यवस्थित व्यवस्थापनको कुरा सबैतिर उठिरहेकै हुन् । 

महामारीको अवधिमा आत्महत्या गरेका मानिसहरूको वस्तुनिष्ठ तथ्यांक नराख्नु सरकारको लापरवाही हो  ।

मुलुकमा गरिबी छ । परिवारभित्र चिन्ता र तनाव थपिँदै गएको छ । हदैसम्मको बेसहारा र अपमानित महसुस गर्दा सीमान्त नागरिक आत्महत्या गर्न मजबुर हुन्छन् । सप्तरीका जनस्वास्थ्य प्रमुख दुनियाँलाल यादव भन्छन्, ‘क्वारेन्टिनमा मनोपरामर्शकर्ता नहुँदा धेरै समस्या र चुनौती थपिएको छ ।’ मानवअधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका प्रदेश २ का इन्सेक संयोजक राजु पासवानका अनुसार क्वारेन्टिनमा उपचार प्रणालीमा लापरवाही, पशुतुल्य व्यवहार, पारिवारिक तनाव, बेसहारा बोध भएपछि आत्महत्या गर्ने वातावरण तयार भयो ।

नेपालमा राजा गीर्वाणयुद्धकै पालादेखि दर्जनौँपटक यस्ता गम्भीर प्रकृतिका महामारी मुलुकले झेलेको छ । ती महामारीमा यति धेरैले निराशामा डुबेर आत्महत्या गरेको पाइन्न । त्यसवेलाको खानपिन, रहनसहन र चालचलन सबै अर्ग्यानिक थियो । मानिसको सोचविचार पनि समझदार थियो । आजका मानिसको खानपिन, रहनसहन र चालचलन सबै प्रदूषित र विषाक्त छ । त्यसैले मानिसहरू असमझदार छन्, चाँडै आक्रोशमा आइहाल्ने, दीर्घकालीन असरबारे नसोची वर्तमानमा हडबड निर्णय गर्ने र फुर्सदमा पछुताउने प्रकृति छ ।

फलतः आत्महत्या गर्ने, अन्य जघन्य आपराधिक काममा संलग्न हुने घटनाहरू घटिरहेका छन् । बढ्दो आत्महत्यालाई कसरी रोक्ने, जनतामा फैलिएको बढ्दो निराशालाई कसरी न्यूनीकरण गर्नेजस्ता सवालमा राज्यले चासो दिन सकेको छैन । जोखिम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मी स्वयं संक्रमित भएर अझ भयावह स्थिति आएको छ । यस्तो भयावह अवस्थामा समेत सरकारको नागरिक सुरक्षाप्रति चिन्ता र चासो गएको देखिन्न । बरु तिनै तहको सरकारलाई चिन्ता र चासो छ कि महामारीको समयमा धेरैभन्दा धेरै भ्रष्टाचार कसरी गर्ने र अवैध तरिकाले आर्जन गरेको सम्पत्ति कसरी लुकाउने र वैधानिक बनाउने ? 

अहिले क्वारेन्टिनमा आत्महत्या गर्न विवश मानिसको तथ्यांकसमेत नराख्ने सरकारले भविष्यमा निकै ठूलो मूल्य चुकाउनुपर्नेछ । किनकि, आज आत्महत्या गरेका परिवारको मनभित्र राज्यप्रति निकै ठूलो निराशा छाएको छ । राज्यविहीनताको महसुस गरेका छन् । आजको एक्लोपन र निराशा भोलि राज्यविरुद्धको आक्रोशमा परिणत हुन सक्छ ।

सुझावित समाचार