हवाई क्षेत्रमा कोरोना कहर : उडान नभएपछि सिंगापुर एयरलाइन्सले प्लेनमै खाना बेच्न थाल्यो

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

कोरोना भाइरस (कोभिड– १९) महामारीका कारण लामो समयदेखि उडान सेवा बन्द हुँदा व्यहोर्नुपरेको घाटा उठाउन सिंगापुर एयरलाइन्सले प्लेनमै खाना बेच्न सुरु गरेको छ । कम्पनीले यसबाट थोरै भए पनि कोरोना भाइरस महामारीबाट सिर्जित संकटको सामना गर्न सहज हुने अपेक्षा गरेको छ ।

सिंगापुर एयरलाइन्सले सहरको मुख्य एयरपोर्टमा ‘पार्क’ गरिराखेको आफ्नो एयरबस ए ३८० मा ग्राहकलाई आएर बिहान–बेलुकाको खाना खाने अवसर दिएको छ । त्यसका लागि प्रतिव्यक्ति चार सय ९६ डलरसम्मको मूल्य तोकिएको छ । 

महँगो मूल्य तोकिए पनि पहिलो दिनको पहिलो दुई चरणको टिकट आधा घन्टामै बिक्री भएको एयरलाइन्सले जनाएको छ । एयरलाइन्सले त्यसपछि त्यस्ता अरू दुई चरणको टिकट पनि बिक्री गरेको थियो । प्लेनमा गएर खाना खान चाहने ग्राहक ‘बुकिङ’ गरेर आफ्नो पालो कुरिरहेका थिए ।

सिंगापुर एयरलाइन्स अरू धेरैमध्येको एयरलाइन्स कम्पनी हो, जो कोरोना भाइरस संक्रमण फैलिएपछि उडान बन्द हँुदा व्यहोर्नुपरेको घाटाको परिपूर्ति गर्न नयाँ खालको व्यापारको बाटो खोजिरहेको छ । सिंगापुरले तत्काललाई यो उद्देश्यका लागि आफ्नो दुई एयरबस ए ३८० प्रयोग गर्ने योजना बनाएको छ । जसमा तीन–तीन घन्टाको सेसन सञ्चालन हुनेछ ।
कोरोना भाइरस संक्रमण नफैलियोस् भन्ने उद्देश्यले प्रत्येक एयरबसको क्षमताभन्दा आधा मात्रै हुने गरी ग्राहकलाई प्रवेश दिइनेछ । उनीहरू सामाजिक दूरी कायम गरी बस्नेछन् । आफू बस्ने क्याबिन ग्राहक आफैँले रोज्नेछन् । जसमध्ये इकोनोमी क्लासको सिटको मूल्य ३९ डलर तोकिएको छ ।

खाना खाँदै फिल्म हेर्ने सुविधा
ग्राहकले खाना खाँदै गर्दा फिल्म पनि हेर्न पाउनेछन् । यद्यपि, प्लेन उड्ने छैन । उनीहरू त्यहीँ बसेर खाना खानेछन् र समय सकिएपछि निस्कनेछन् । एयरलाइन्सले ‘होम डेलिभरी’को सुविधा पनि दिने भएको छ, जसमा उडानको समय उपलब्ध गराइने सबै कुराहरू दिइनेछ ।

सुरुवातमा एयरलाइन्सले खाना खाने सेवासँगै उडानको पनि सेवा दिने योजना बनाएको थियो । खाना खाने अवधिभर आकाशमा उडान भर्ने योजना एयरलाइन्सले बनाएको थियो । यद्यपि, एयरलाइन्सले पछि यो योजना कार्यान्वयन गरेन ।

यो संकटमा फरक खालको सेवा सुरु गर्ने सिंगापुर एयरलाइन्स पहिलो र एक्लो एयरलाइन्स होइन । ताइवानको इभा र अस्ट्रेलियाको क्वान्तासले पनि ‘साइट सिइङ’को सेवा सुरु गरेका छन् । उनीहरूले ग्राहकलाई एकै एयरपोर्टबाट विभिन्न क्षेत्रको ‘साइट सिइङ’ गराएर फर्काउने गरेका छन् ।

सिंगापुर एयरलाइन्स कोरोना भाइरसले सबैभन्दा बढी संकटमा परेको कम्पनी हो । एयरलाइन्सले गत महिना मात्रै खर्चले धान्न नसक्ने भएपछि ठूलो संख्यामा आफ्ना कर्मचारीको कटौती गर्ने जनाएको थियो । कम्पनीले आफ्नो कम्पनीको चार हजार तीन सय वा २० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो ।

कतिपय ठाउँमा लकडाउन कुखुलो हुन थालेपछि एयरलाइन्सहरूले आन्तरिक उडानको सेवा दिने योजना बनाएका छन् । तर, यो सुविधा सबै एयर लाइन्सहरूलाई हुँदैन । यसले गर्दा पनि धेरै एयरलाइन्स समस्यामा देखिएका छन् । अन्तर्राष्ट्रिय उडान सुरु नभएसम्म उनीहरूको व्यापार ठप्प बन्नेछ ।

अस्ट्रेलियामा पनि अवस्था यस्तै छ । अस्ट्रेलियाका धेरै प्लेन ग्यारेजमा थन्किएका छन् । उनीहरू हवाई क्षेत्र खुल्ने समयको पर्खाइमा बसेका छन् । यही अवस्थाले हवाई क्षेत्र धराशायी बन्ने र धेरैको जागिर धरापमा पर्ने अवस्था देखिएको छ । अन्तर्राष्ट्रिय हवाई ढुवानी संघ (आएटा) ले कोरोना भाइरस महामारीका कारण सयौँ हजारको जागिर संकटमा रहेको जनाएको छ ।
विश्वभरका दुई सय ९० एयरलाइन्सको नेतृत्व गर्ने संस्था आएटाले यो वर्ष यो क्षेत्र पूर्ण रूपमा नखुल्ने जनाएको छ । आएटाको अनुसार यो वर्ष हवाई चाप सन् २०१९ को भन्दा ६६ प्रतिशतले कम हुने जनाएको छ ।
 

सुझावित समाचार