काठमाडौं उपत्यकामा आवत–जावत गर्नेको दर बढ्दो

आइतबार, २५ असोज, २०७७
डिजिटल संस्करण

उपत्यकामा कोरोना भाइरस संक्रमण उच्चदरमा वृद्धि भइरहेको छ ।

पछिल्ला केही दिनयता उपत्यकाभित्र कोरोना संक्रमणको दर बढेसँगै सरकारले उपत्यकामा आवतजावत नगर्न  र दसैँमा पनि हिँडडुल नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । 

यदि यात्रा गर्नुपर्ने अवस्था आएमा सम्पूर्ण मापदण्ड अपनाएर मात्र यात्रा गर्न आग्रह गरेको छ । तर, लामो दूरीको सवारीसाधन सञ्चालनमा आएसँगै उपत्यकाभित्र आवतजावत गर्नेको भिड दिनप्रतिदिन बढ्दै गएको छ ।

१ असोजबाट लामो दूरीको सवारीसाधन सञ्चालनमा आएसँगै उपत्यकाबाट बाहिरिनेको संख्यामा वृद्धि भएको छ भने  भित्रिनेको  संख्या पनि बढेको देखिन्छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १ असोजदेखि  २४ गतेसम्मको तथ्यांकअनुसार  करिब चार लाख १६ हजारले काठमाडौं उपत्यका छाडेका छन् । उपत्यकामा कोरोना बढेकाले गाउँगाउँमा कोरोना संक्रमणको दर फैलिन सक्ने जोखिम पनि त्यतिकै बढेको छ  ।

त्यस्तै उपत्यका भित्रिनेको संख्या तीन लाख  ९३ हजार रहेकाे छ । काठमाडौं उपत्यकामा बाहिरी जिल्लाबाट सामान ढुवानी, व्यापार गर्नेको  भिड बढेकाले भित्रिनेको संख्यामा पनि वृद्धि भइरहेको ट्राफिक प्रहरीको भनाइ छ । 

सरकारले उपत्यका आवतजावतका लागि कुनै निश्चित मापदण्ड तोकेको छैन  । 

सवारीसाधनमा उच्च भिड बढेको छ । स्वास्थ्य मापदण्डको पालना गरेको भए पनि बीचबाट मान्छे हाल्ने, सिट क्षमताभन्दा बढी नै यात्रु लैजाने गरेको प्रस्ट देखिन्छ । नियामक निकायहरूले खासै कुनै कदम नचालेको देखिन्छ । 

बढी यात्रु हाल्ने सवारीसाधनलाई कारबाही गर्दै आइरहेको ट्राफिकका एसएसपी भीम ढकालको दाबी छ । 

‘दसैँ लागेसँगै उपत्यका छाड्नेको लर्को नै लागेको छ, त्यसका लागि दूरी कायम राख्ने र सिट क्षमता चेकचाँच गर्ने काम नियमित गरिहेका छौँ,’ ढकालले भने ।

उनका अनुसार हाल दैनिक दुईदेखि तीन हजारले उपत्यका छाड्ने गरेका छन् ।   

दसैँ नजिकिएसँगै बाहिर जानेको संख्या बढेको हो ।

सुझावित समाचार