चेन्नई सुपर किंग्सले १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा आइतबार सानदार जित निकालेको छ ।
दुबईको डिएससी मैदानमा किंग्स ११ पन्जावले पहिलो ब्याटिङ गरी चार विकेटको क्षतिमा एक सय ७८ रन बनाएको थियो ।
प्रत्युत्तरमा चेन्नईले १७.४ ओभरमा विनाक्षति एक सय ८१ रन जोड्दै दश विकेटको जित निकाल्यो ।
चेन्नईको जितमा ओपनरद्वय सेन वाट्सनले ८३ रन तथा फा डु प्लेसिसले ८७ रनको नटआउट इनिङ्स खेलेका थिए । वाट्सनले ५३ बलमा ११ चौका र तीन छक्का प्रहार गरे ।
प्लेसिसले ५३ बलमा ११ चौका र एक छक्का ठोके । यसअघिको ब्याटिङमा लोकेश राहुल र मायांक अग्रवालले पहिलो विकेटका लागि ६१ रनको राम्रो साझेदारी गरेका थिए ।
उत्कृष्ट फर्ममा रहेका मायांक ८.१ ओभरमा आउट भए । उनले १९ बलमा तीन चौकाको सहयोगमा २६ रन बटुले ।
त्यसपछि राहुलले मन्दीप सिंहसँग तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरे । मन्दीपले १६ बलमा दुई छक्काको सहयोगमा २७ रन बनाए ।
निकोलास पुरनले १७ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ३३ रनको योगदान दिए । राहुल र पुरन निरन्तर बलमा आउट भएका थिए । इनिङ्सको १७औँ ओभरमा राहुल र पुरन आउट भएका हुन् ।
यी दुवैको विकेटसँगै चेन्नईले खेलमा पकड जमायो । राहुलले ५२ बलमा सात चौका र एक छक्का प्रहार गरी ६३ रन बटुले । चेन्नईले आइपिएलमा पहिलो विकेटका लागि गरेको साझेदारी यो नै ठूलो हो । यसअघि सन् २०११ मा रोयल्स च्यालेन्जर्स बेंग्लोरविरुद्ध चेन्नईले १५९-० को प्रदर्शन थियो ।
म्यान अफ दी म्याच वाट्सनले आइपिएलमा आफ्नो २०औँ अर्धशतकीय इनिङ्स खेल्न सफल भए । यसैगरी डु प्लेसिसले पनि आइपिएलमा १५औँ अर्धशतक लगाउँदा चेन्नईको जित सहज भयो ।
चेन्नईले सिजनकै दोस्रो जित निकाल्यो । चेन्नईले अहिलेसम्म पाँच खेलमा तीन हारको सामना गरेको छ । चेन्नईले चालू आइपिएलमा लगातार तीन खेलमा हारको सामना गरेको छ । दोस्रो जितसँगै चेन्नइले चार अंक बटुल्यो ।
चेन्नईका कप्तान महेन्द्रसिंह धोनी आइपिएलमा सय क्याच लिने दोस्रो विकेटकिपर बनेका छन् । उनले पन्जावका कप्तान राहुलको विकेट लिँदै सो उपलब्धि हात पारेका हुन् ।
आइपिएलमा कोलकाताका दिनेश कार्तिकको नाममा एक सय ३ क्याच छ । आइपिएलमा वाट्सन र प्लेसिसबीचको साझेदारी दोस्रो ठूलो ओपनिङ हो ।
आइपिएलमा कोलकाताका गौतम गम्भीर र क्रिस लेनबीच २०१७ मा गुजराज लाइन्सविरुद्ध १८४–० को रेकर्ड राखेका थिए । यता हार सामना गरेका किंग्स ११ का कप्तान राहुलले आइपिएलमा १८औँ अर्धशतक पूरा गरे ।
मुम्बईको तेस्रो जित
आइपिएलमा साबिक विजेता मुम्बईले तेस्रोे जित निकालेको छ । तेस्रो जितसँगै मुम्बई ६ अंकका साथ शीर्ष स्थानमा रह्यो ।
शारजहाँ मैदानमा मुम्बईले पहिलो ब्याटिङ गरी निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय आठ रन बनाएको थियो ।
प्रत्युत्तरमा सनराइजर्स हैदराबादले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७४ रन जोड्दा मुम्बई ३४ रनले विजयी भयो ।
मुम्बईको ब्याटिङ इनिङ्समा क्विन्टन डी कोकले सर्वाधिक ६७ रन बनाए । उनले ३९ बलमा चार चौका र चारै छक्का प्रहार गरेका थिए ।
यसैगरी सूर्यकुमार यादवले १८ बलमा २७ रन, इशान कृषणले २३ बलमा ३१ तथा किरन पोलार्डले १३ बलमा २५ रनको योगदान दिए । हार्दिक पाण्ड्याले चार बलमा २० रन जोडे । प्रत्युत्तरमा हैदराबादका लागि कप्तान डेभिड वार्नरले सानदार ब्याटिङ गरेका थिए । तर, उनले आफ्नो टोलीलाई जित दिलाउन सकेनन् ।
वार्नरले ४४ बलमा पाँच चौका र दुई छक्का प्रहार गरी ६० रन बनाए ।
अर्का ओपनर जोनी वेरिस्टोले १५ बलमा २५ रन जोडे । मनीष पाण्डेले १९ बलमा ३० रन तथा अब्दुल सामदले ९ बलमा २० रन बटुले ।
हैदराबादका वार्नरले आइपिएलमा ४५औँ अर्धशतकीय इनिङ्स खेले । आइपिएलमा सबैभन्दा धेरै अर्धशतक बनाउने ब्याट्सम्यान वार्नर नै हुन् ।
उनीपछि रोहित शर्मा र सुरेश रैनाले ३८–३८ अर्धशतक जमाएका छन् । विराट कोहली र शिखर धवनले ३७–३७ अर्धशतकीय इनिङ्स खेलेका छन् ।
शारजहाँ मैदानमा लगातार चार खेलमा दुई सय रन योगफलभन्दा माथि गयो ।
मुम्बईले अन्तिम पाँच ओभरमा ६१ रन जोडेको थियो । यद्यपि मुम्बईले दुई सयमाथिको योगफल बनाए पनि शारजहाँ मैदानमा पावर प्लेमा कम योगफल खडा गऱ्याे ।
मुम्बईले पावर प्लेमा केवल ४८ रन मात्र बनाउन सक्यो । पछिल्लो सात खेलमा यो नै पहिलो ६ ओभरको पावर प्लेमा कम रन हो । मुम्बईका कप्तान रोहित शर्मा आइपिएलमा धेरै खेल खेल्ने दोस्रो खेलाडी बनेका छन् ।
उनले आइपिएलमा एक सय ९३ खेल पूरा गरेका छन् । चेन्नईका धोनीले आइपिएलमा एक सय ९४ खेल खेलेका छन् ।