- बालगोपाल साहुखलले एएफसीको आधिकारिक प्रो लाइसेन्स प्राप्त गरेपछि नेपाली राष्ट्रिय फुटबल टोलीले स्वदेशी मुख्य प्रशिक्षक पाउने बाटो खुलेको छ । यसअघि नेपालका प्रशिक्षकसँग प्रो लाइसेन्स नहुँदा विदेशी प्रशिक्षक ल्याउनुपर्ने बाध्यता थियो ।
बालगोपाल साहुखल प्रो लाइसेन्सप्राप्त प्रशिक्षक बनेका छन् । एएफसी प्रो लाइसेन्स प्राप्त गर्ने उनी पहिलो नेपाली हुन् । अस्ट्रेलियामा भएको एक वर्ष लामो डिप्लोमा कोर्स आयोजनामा उत्तीर्ण भएसँगै साहुखलले प्रो लाइन्सेस पाए । फुटबल अस्ट्रेलियाको आयोजनामा सञ्चालन भएको सो कोर्सलाई एसियन फुटबल महासंघ (एएफसी)ले मान्यता दिएको छ । एक वर्षको अवधिमा साहुखलले चार तहको विभिन्न कोर्स पूरा गरेका थिए ।
नेपालकै पहिलो प्रो लाइसेन्स प्रशिक्षक हुँदा उनले खुसी व्यक्त गरेका छन् । ‘यो सफलता मेरो मात्र नभएर सम्पूर्ण नेपालीको हो,’ साहुखलले एन्फासँग कुराकानी गर्दै भनेका छन्, ‘यहाँसम्म आउन मेरो एकल प्रयासले सम्भव थिएन । यसमा सबैको सहयोग उत्तिकै छ ।’ अब नेपालले कम्तीमा राष्ट्रिय फुटबल टोलीमा मुख्य प्रशिक्षक राख्ने प्रावधानको बाटो खुला भएको छ ।
एएफसी र फिफाले कुनै पनि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बन्न प्रो लाइसन्स हुनुपर्ने नियम बनाएका छन् । यसै नियमका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)ले पछिल्लो केही वर्षयता विदेशी प्रशिक्षकलाई नै टोली हेर्ने जिम्मा दिँदै आइरहेको थियो । अब एन्फाले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रूपमा नेपालीलाई छनोट गर्न सक्छ ।
साहुखलले आफू देशमै बसेर काम गर्ने जनाएका छन् । उनले एन्फासँग पनि कोर्स पूरा भएपछि नेपालमै भोलेन्टियर रूपमा काम गर्ने प्रतिबद्धता जनाएका थिए । ‘मैले अगाडि भनेको थिएँ । प्रो लाइसेन्स पाउँदा नेपालमै भोलेन्टियरका रूपमै काम गर्छु,’ उनले एन्फासँगको अन्तर्वार्तामा भने, ‘अब केही काम बाँकी छन् । त्यसपछि यहाँकै फुटबलको विकासमा योगदान दिनेछु ।’
प्रो लाइसेन्स पाउन त्यति सहज छैन । यसका लागि विभिन्न तह पार गर्नुपर्छ । प्रो लाइसेन्स फुटबल प्रशिक्षकका लागि उच्च तहको व्यावसायिक प्रशिक्षण मानिन्छ । यसमा उच्चस्तरीय प्रशिक्षण रणनीति, नेतृत्व, खेल विश्लेषण, खेलाडी विकास तथा प्रशिक्षक टोली व्यवस्थापनलगायतका विषयमा गहन अध्ययन र व्यावहारिक प्रशिक्षण गराइन्छ । प्रो लाइसेन्स प्राप्त प्रशिक्षकले कुनै पनि राष्ट्रमा मुख्य प्रशिक्षकका रूपमा आवेदन दिन सक्छन् ।
यसअघि अमेरिकामा रहेका नेपाली प्रशिक्षक प्रदीप हुमागाईंले पनि प्रो लाइसेन्ससम्बन्धी कोर्स गरेका थिए । तर, साहुखलले फुटबल अस्ट्रेलिया र एएफसीको मान्यतासहितको प्रो लाइसेन्स प्रशिक्षण पूरा गरेका छन् । यसै कारण उनी पहिलो नेपाली नागरिकको उपलब्धि आफ्नो नाममा लेखाएका हुन् । यसअघि नेपालमा एएफसीको ‘ए’, ‘बी’ र ‘सी’ लाइसेन्स प्राप्त प्रशिक्षक मात्रै थिए । साहुखलले सन् २०२३ मा कतार फुटबल संघ एएफसी ‘ए’ लाइसेन्स प्राप्त गरेका थिए ।
एक वर्षको कोर्स
साहुखल नेपाली फुटबलमा खेलाडी र प्रशिक्षक दुवै भूमिकामा सक्रिय थिए । उनले ‘ए’ डिभिजन लिगमा खेलाडीका रूपमा प्रतिस्पर्धा गरेका थिए । च्यासल युथ क्लब ‘ए’ डिभिजनमा रहँदा उनी मुख्य प्रशिक्षकका रूपमा थिए । साहुखलले नेपाली यू–१९ महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको जिम्मेवारी लिइसकेका छन् । उनले सहिद स्मारक ‘बी’ डिभिजनमा सरस्वती युथ र ‘सी’ डिभिजनमा महावीर क्लबलाई प्रशिक्षण दिएका थिए ।
उनले कम्तीमा दुईदेखि तीन वर्ष नेपालमै रहेर नेपाली फुटबलको विकासमा योगदान गर्ने प्रतिबद्धता जनाएका छन् । साहुखलले व्यक्तिगत करिअरसँगै नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक उत्पादन र व्यावसायिक कोचिङ विकासका लागि पनि नयाँ ढोका खोल्ने अपेक्षा राखेका छन् । ‘फुटबलको लामो यात्रामा अर्को एउटा खुड्किला पार गरेको छु । मिहिनेतको फल प्राप्त हुँदा खुसी लागेको छ,’ उनले भने, ‘अवसर पाउँदा नेपालकै जिम्मेवारी निर्वाह गर्ने इच्छा छ ।’