नेकपाका अध्यक्षद्वयबीच छलफल : मन्त्रालय टुक्य्राउनेदेखि मन्त्रीहरू हेरफेर गर्नेसम्मका विषयमा केन्द्रित

सोमबार, १२ असोज, २०७७
डिजिटल संस्करण

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति सन्तुलनका लागि यसअघि बनेको सहमतिअनुसार मन्त्रिमण्डल पुनर्गठनका लागि दुई अध्यक्ष निरन्तर छलफलमा जुटेका छन् । 

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अहिले पनि बालुवाटारमा छलफल चलिरहेको छ । छलफल हाल खाली रहेका तीनवटा मन्त्रालयमा मन्त्री नियुक्त गर्ने, तीनवटा मन्त्रालय टुक्य्राएर ६ वटा बनाउने र करिब एक दर्जन मन्त्रीलाई फेरेर नयाँलाई मन्त्री बनाउने विषयमा केन्द्रित रहेको स्रोतले जनाएको छ । 

हाल सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री रहेका छैनन् । 

त्यसैगरी ऊर्जा जलस्रोत सिँचाइ, उद्योग वणिज्य र आपूर्ति र भौतिक पूर्वाधार तथा यातायातलाई टुक्य्राएर ६ वटा बनाउने छलफल चलिरहेको स्रोतले जनाएको छ । 

यसअघि तत्कालीन नेकपा एमालेबाट प्रधानमन्त्री बनेका माधवकुमार नेपालका पालामा पनि धेरै मन्त्रालयलाई टुक्य्राएर मन्त्रीको संख्या उच्च बनाइएको थियो । 

साथै दुई अध्यक्षबीच आवश्यकताको सिद्धान्तका आधारमा केही मन्त्री हेरफेर गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको छ । जसमा झन्डै एक दर्जनजति मन्त्रालयका हालका मन्त्री फेरेर नयाँलाई ल्याउने स्रोतले जनाएको छ । 

मन्त्रिमण्डल पुनर्गठनका विषय गत २६ भदौको स्थायी कमिटी बैठकले पास गरेको थियो । 

त्यसयता नेकपाका अध्यक्षद्वय ओली र दाहाल निरन्तर रूपमा यसबारेमा छलफलमा जुटिरहेका छन् । 

छलफलमा कति मन्त्री हेरफेर गर्ने र कसरी पार्टीभित्रका पूर्वसमूहहरूको भागबन्डन टुंग्याउने भन्ने विषय सबैभन्दा पेचिलो बनेको स्रोतले जानकारी दिएको छ ।

सुझावित समाचार