टिकटकमाथि रोक लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश रोकियो

सोमबार, १२ असोज, २०७७
डिजिटल संस्करण

अमेरिकी संघीय एक न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  भिडियो सेयरिङ एप्स टिकटक अमेरिकामा रोक लगाउने विवादास्पद आदेशको कार्यान्वयनलाई रोकिदिएका छन् । 

राष्ट्रपति ट्रम्पको आदेशअनुसार अमेरिकामा आइतबार रातिदेखि टिकटक डाउनलोड गर्न पाइने थिएन । यसअघि अमेरिकी वाणिज्य मन्त्रालयले टिकटक प्रतिबन्ध लगाउने आदेशको कार्यान्वयनलाई २७ सेप्टेम्बरसम्म स्थगित गर्ने बताएको थियो ।

राष्ट्रपति ट्रम्पले टिकटक खरिद गर्न इच्छुक अमेरिकी कम्पनीहरू ओराकल र वाल्मार्टले टिकटकमाथि पूर्ण नियन्त्रण गर्न पाउनुपर्ने सर्त अघि सारेका थिए । यी दुई अमेरिकी कम्पनीले टिकटकको अमेरिका व्यवसाय खरिद गर्न टिकटकको आधिकारिक कम्पनी बाइटडान्ससँग सम्झौता गरेका छन् । 

गत ६ अगस्टमा ट्रम्पले अमेरिकी सुरक्षा र अमेरिकी नागरिकको व्यक्तिगत गोपनीयतामा खतरा औँल्याउँदै चिनियाँ कम्पनी बाइटडान्सलाई अमेरिकामा कारोबार गर्न प्रतिबन्ध लगाउने गरी  कार्यकारी आदेशमा हस्ताक्षर गरेका थियो । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले टिकटक र विच्याटजस्ता चिनियाँ कम्पनीले गोप्य अमेरिकी तथ्यांक विवरणहरू चिनियाँ सुरक्षा निकायहरूलाई उपलब्ध गराएको आरोप लगाएका छन् । 

सुझावित समाचार