जापानी प्रधानमन्त्री सुगा विनासर्त उत्तर कोरियाका सर्वोच्च नेता किमसँग भेट्न तयार

शनिबार, १० असोज, २०७७
डिजिटल संस्करण

जापानका नयाँ प्रधानमन्त्री योसिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अनसँग भेट्न चाहेको बताएका छन् । विनसर्त उनीसँग भेट्न तयार रहेको प्रधानमन्त्री योसिहिडेले शुक्रबार स्पष्ट पारेका छन् । 

उनले भने, ‘जापानको नयाँ प्रधानमन्त्रीका रूपमा म उहाँलाई भेट्न चाहन्छु, त्यसका लागि कुनै सर्त मसँगै छैन ।’ संयुक्त राष्ट्रसंघको ७५औँ महासभामा बोल्ने क्रममा उनले उत्तर कोरिया र जापानबीचको सम्बन्धलाई सामान्य बनाउन चाहेको पनि स्पष्ट पारे ।

उनले जापान–डिपिआरके प्योङयाङ घोषणाको स्मरण गर्दै त्यसअनुसार नै सम्बन्धलाई अगाडि बढाउन चाहेको पनि उल्लेख गरे । ‘आपसी सम्बन्ध र परमाणुसम्बन्धी  विषयमा सन् २००२ मा भएको दुईपक्षीय सम्झौतालाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्नेमा मेरो जोड छ,’ उनले भने । 

प्रधानमन्त्री सुगाले टोकियो र प्योङयाङबीच रचनात्मक र सन्तुलित सम्बन्धको पक्षमा आफू रहेको पनि जानकारी दिए । उनले थपे, ‘हामी हाम्रो दुईपक्षीय कारणले मात्रै नभई यस क्षेत्रमा शान्ति स्थापनाका लागि पनि योगदान पुऱ्याउनुपर्छ, त्यसैले हाम बीचमा सहकार्य र सुमधुर सम्बन्धको आवश्यकता छ ।’ उनले आफू आफ्ना प्रतिबद्धता र उद्देश्यबाट पछाडि हट्ने र राम्रो गर्ने अवसरलाई गुमाउने पक्षमा नरहेको पनि स्पष्ट पारे । 

सुझावित समाचार