रुकुम पश्चिममा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन भइरहेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्ला खाद्यान्नमा आत्मनिर्भर रहेको छ । वर्षमा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन हुने गरेको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष ०७६/७७ मा अनुमानित एक लाख ७० हजार ९२ जना जिल्लावासीलाई ३४ हजार एक सय ८८ मेट्रिक टन खाद्यान्न आवश्यक रहेकाेमा ३५ हजार सात सय ६० मेट्रिक टन खाद्यान्न उत्पादन भएको थियो । यो आवश्यकताभन्दा एक हजार पाँच सय ७२ मेट्रिक टन बढी हो ।
जिल्लामा बर्सेनि खाद्यान्न पुगेर बचत हुने गरेको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिए । गत वर्ष मात्र सबै जिल्लावासीलाई पुगेर एक हजार पाँच सय ७२ मेट्रिकटन धान, गहुँ, मकैलगायतको खाद्यान्न बचत भएको उनले बताए ।
उनका अनुसार जिल्लामा सबैभन्दा बढी गहुँ उत्पादन हुने गरेको छ । चार हजार पाँच सय ८९ हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेकोमा गत वर्ष २७ हजार आठ सय ५९ मेट्रिक टन गहुँ उत्पादन भएको केसीले बताए ।
त्यस्तै १४ हजार नाै सय ८८ मेट्रिक टन मकै, नाै हजार सात सय ५६ मेट्रिक टन धान, एक हजार ११ मेट्रिक टन कोदो र एक दशमलव ८० मेट्रिक टन फापर उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्लामा मकै चार हजार ६८ हेक्टर, धान तीन हजार ४८ हेक्टर, कोदो तीन सय ६९ हेक्टर, जौ तीन सय ६७ हेक्टर र फापर दुई दशमलव पाँच हेक्टर जमिनमा खेती हुने गरेको छ ।
हावा, पानी, माटो तथा सिँचाइको राम्रो सुविधा भएका कारण जिल्लामा खाद्यान्नको अभाव नरहेको कृषि विकास कार्यालयको भनाइ छ ।