विपन्नका घरघरमा शुद्ध खानेपानी

आइतबार, ४ असोज, २०७७
डिजिटल संस्करण
विपन्नका घरघरमा शुद्ध खानेपानी

वर्षौँपछि घरमा निःशुल्क धारा जडान भएपछि धाराको पानी चलाउँदै गौरादहका सन्थाल । तस्बिर : चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका

झापाकाे गौरादह- ३ की वसन्ती मुर्मुले गत वैशाखसम्म ट्युबेलबाट आउने पहेँलो पानी पिउँथिन् । नजिकैका घरहरूमा शुद्ध पिउने पानीको धारा हुँदा उनको घरमा धारा राख्ने क्षमता थिएन ।

दैनिक कमाएर खाने उनले घरमा धारा राख्न पटकपटक प्रयास गरिन् । तर, कहिल्यै पैसा पुगेन । शुद्ध खानेपानीको धारा जडान गर्न सबै खर्च जोड्दा १५ हजार लाग्छ । ‘कलको यस्तो पहेँलो पानी खाँदा-खाँदा दाँत बिग्रियो । रोग पनि चाँडै लाग्छ रे भनेर धारा राख्न खोजेँ,’ वसन्ती भन्छिन्, ‘जनमन गरेर पैसा जम्मा गर्यो, कहिले चामल किन्दा सकिन्छ, कहिले केटाकेटीलाई कापीकलम किन्दा सकिन्छ ।’

तर, गत जेठदेखि उनको घरमा शुद्ध पिउने पानीको धारा जोडिएको छ । गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले उनीजस्तै विपन्नलाई निःशुल्क घरघरमा धारा पुर्याइदिएको छ ।

खानेपानी तथा उपभोक्ता समितिले खानेपानी घरघरमा निःशुल्क जोडिदिएपछि विपन्नले वर्षौँदेखि प्रयोग गर्दै आएको आर्सेनिकयुक्त ट्युबेलको पानी क्रमशः प्रयोग गर्न छाडेका छन् । ‘पहिला त पानी ततायो भने चियारंग नहाले पनि हालेजस्तै बनाउँथ्यो । नजिको घरमा भएको धारामा थाप्न जाँदा पैसा लाग्छ भनेर खानेपानी पनि थाप्न दिँदैन थिए,’ झोपी हेमरमले भनिन्, ‘लुगाको त कुरै नगरौँ । नयाँ किनेर ल्याएर एक–दुईपटक लगायो भने पहेँलो भएर लगाउनै नहुने हुन्थ्यो । तर, अहिले त घरमै खानेपानी आएको छ ।’

गौरादह क्षेत्रमा २० वर्षदेखि शुद्ध खानेपानी वितरण भइरहेको छ । तर, खानेपानीको धारा जडान गर्न आफ्नै जग्गा हुनुपर्छ । जग्गा नभए स्थानीय तहबाट सिफारिस लिएर झन्झटिलो प्रक्रिया व्यहोर्नुपर्थ्याे । फेरि धारा जडानका लागि १५ हजारभन्दा धेरै पैसा सकिन्छ । एक चपरी जग्गा नभएका विपन्न सुकुम्बासीलाई घरमा धारा राख्ने सम्भव नै थिएन । ‘हाम्रा लागि त धाराको पानी खाने त आकाशको फल आँखा तरी मर भनेजस्तो थियो,’ कमल मुर्मु भन्छिन्, ‘अर्काको घरको पानी हेरेर हामीचाहिँ कलको गन्हाउने पानी खानुपर्थ्याे । अहिले त घरमै धारा छ । महिनामा उठेको बिलचाहिँ तिर्नुपर्छ । तर, घरसम्म निःशुल्क धारा आइपुग्यो ।’   

गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले अहिले खानेपानी वितरण गर्दै गरेको क्षेत्र गौरादह–१, २ र ३ नम्बर वडा हो । अब तत्काल क्षेत्र विस्तार गरेर वडानम्बर ४ र ९ र कमल कमल गाउँपालिकाको १ नम्बर वडामा शुद्ध पानी पुर्याउने लक्ष्य रहेको गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव डण्डीराज घिमिरेले जानकारी दिए ।

खानेपानी पुगेका क्षेत्रका विपन्न नागरिकलाई शुद्ध पिउने पानीबाट वञ्चित नगराउने उद्देश्यले विपन्नलाई नागरिकको घरघरमा खानेपानी पुर्याइएको उनले बताए । उनका अनुसार वैशाखयता पाँच सय १७ विपन्न र सुकुम्बासीको घरमा खानेपानीको धारा पुर्याइएको घिमिरेले जानकारी दिए । जसमा वडा कार्यालयले पनि सहयोग गरेको उनले बताए ।

‘शुद्ध खानेपानी खान पाउनु जनताको आधारभूत अधिकार हो । त्यही उद्देश्यले हामीले धारा जोड्न नसक्नेको घरमा निःशुल्क खानेपानी पुर्याएका हौँ । वडाको सिफारिसमा विपन्नको घरमा धारा जडान गरिने गरिएको छ,’ उनले भने, ‘हामीले मिटर किन्न साढे सात हजार लिने गरेका थियौँ । यसमा वडा कार्यालयले २५ सय दिन्छ । अरू सबै खर्च खानेपानीले व्यहोर्छ ।’

सुझावित समाचार