एक खेलमा पाँच रातो कार्ड : साबिक विजेता पिएसजी लगातार दोस्रो खेलमा पराजित

सोमबार, २९ भदौ, २०७७
डिजिटल संस्करण

फ्रेन्च लिग वानको साबिक विजेता पेरिस सेन्ट जर्मन (पिएसजी) ले लगातार दुई खेल गुमाएको छ । 

सन् १९८४–८५ पछि पिएसजीले पहिलोपटक लगातार दुई खेल गुमाएको हो । 

आइतबार राति पिएसजीले मार्सेलाेविरुद्ध प्रतिस्पर्धा गरेको थियो । जसमा पिएसजी १–० ले पराजित हुँदा मार्सेलाेका लागि फलोरान थाउभिनले खेलको ३१औँ मिनेटमा एक मात्र विजयी गोल गरेका थिए । 

यद्यपि मार्सेलोले कठिन जित निकाले पनि यो खेल विवादास्पद रूपमा सम्पन्न भयो । 
खेलको अन्तिम इन्जुरी समयको दुई मिनेटभित्र पाँच खेलाडीले रातो कार्ड खाए । 

ब्राजिलियन स्टार नेमारसहित पाँच खेलाडीले रातो कार्ड व्यहोर्दा अफिसियलाई अन्तिम समयम खेल नियन्त्रण लिन हम्मेहम्मे परेको थियो । 

मार्सेलाेका खेलाडीलाई सीधै मुक्का हानेको भिएआरमा स्पष्ट देखिएपछि नेमारले रातो कार्ड पाए । 

नेमारले रातो कार्ड पाएपछि खेल नियन्त्रणभन्दा बाहिर गयो । बाहिरिने क्रममा फोर्थ अफिसियलले आफूमाथि रंगभेदी शब्द प्रयोग गरेको नेमारले दाबी गरेका छन् । 

यसैकारण उनीहरूमाथि हात हालेको उनले बताए । स्थिति संहाल्ने क्रममा रेफ्रीले पिएसजीका तीन तथा मार्सेलीका दुई खेलाडीलाई रातो कार्ड देखाए । 

पिएसजीका लिएन्ड्रो पारडिज तथा लाभिन कुजावाले कार्ड पाए । मार्सेलाेका जोर्डान अमाभी तथा डारियो वेनेडेटोले रातो कार्ड पाए । 

खेलपछिको पोस्टम्याच कन्फरेन्समा मार्सेलीका म्यानेजरले खेल मैदान जातीय शब्द प्रयोग गर्ने तथा भेदभाव गर्दै स्थल नभएको बताएका छन् । 

‘मैदान केवल खेल्ने स्थान हो, यहाँ जातीयतासम्बन्धी शब्द प्रयोग गर्न मिल्दैन,’ म्यानेजर एन्ड्रे भिलासले भने, ‘यसबारे थप अनुसन्धान हुनुपर्छ ।’ 

पार्का डेस प्रिन्सेसमा पाँच हजार दर्शक खेल हेर्न अनुमति पाएको थियो । यस सिजनको फ्रेन्च वानमा अहिलेसम्म १७ खेलाडीले कार्ड पाइसकेका छन् । 

युरोपियन च्याम्पियन्स लिगको फाइनलपछि पिएसजीका खेलाडी घुम्न जाँदा नेमार र एन्जेल डी मारिया कोरोना संक्रमित भएका थिए । सेल्फ आइसोलेसनपछि मैदान फर्किएका नेमारका लागि सुखद भएन । 

सन् २०११ मा मार्सेलाेले पिएसजीलाई अन्तिमपटक पराजित गरेको थियो । पिएसजीले १९७८ पछि दुवै ओपनिङ खेलमा गोल गर्न असमर्थ भएको छ । 

जितसँगै मार्सेली ६ अंकका साथ शीर्ष स्थानमा उक्लेको छ । साबिक विजेता पिएसजी अंकविहीन रहँदै १८औँ स्थानमा छ । 

पिएसजीका खेलाडी लगातार तीन खेलमा गोल गर्न असमर्थ रहे ।

सुझावित समाचार