बिपीमा मात्र होइन, कांग्रेसको राजनीतिक चिन्तनधाराले अविच्छिन्न गतिमा कुनै कालमा पनि धर्मलाई राज्यसँग जाडेको पाइन्न
गएको हप्ता कांग्रेसले बिपी कोइरालाको १०७औँ जन्मजयन्ती मनायो । म पनि केही कार्यक्रममा सहभागी भएँ, ‘जुम र स्काइप’मार्फत । ‘कम्फोर्ट जोन’मा बसेर बिपीको बखान गर्न निषेधाज्ञाले अवसर उपलब्ध गरायो । मजस्तालाई फेरि कांग्रेससँग जोडिने मौका पनि दियो । केही कार्यक्रम सार्थक र समयसापेक्ष थिए ।
मूल मुद्दा धर्मनिरपेक्षता : धर्म मूल मुद्दा थियो, वैचारिक बहसको । बिपीको बहुआयामिक व्यक्तित्व र गतिशीलतालाई बुझ्ने कोसिस पनि भयो कार्यक्रममा, अन्धोले हात्ती छामेझैँ । कम्युनिस्टसँगको संगत र सहकार्य ठीक वा बेठीक भनी प्रश्न उठाउनेको कमी थिएन । सबै विषयमा थप बौद्धिक बहस हुँदै जाला र कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टीले एउटा निश्चित वैचारिक राजमार्ग पनि समात्ला भन्ने आशा गरौँ । म कांग्रेसभित्र सबैभन्दा विवादित विषय धर्मनिरपेक्षतालाई छलफलका लागि अगाडि सार्छु ।
धर्मनिरपेक्षता कम्युनिस्ट एजेन्डा हो, कांग्रेस फसेको छ यसमा भन्ने मानसिकता कांग्रेसकै मूलमा छ । केही कांग्रेस पदाधिकारी खुलेर हिन्दूराष्ट्रको पक्षमा छन् भनिन्छ । धर्मनिरपेक्षतामा राय प्रकट गर्न कांग्रेस शीर्ष नेताहरू भने तर्किन्छन् । बहुमत नेपाली हिन्दूधर्म पक्षधर भएकाले भोटबैंकको राजनीतिमा ‘पपुलिस्ट’ धारको उल्टो हिँड्न सहज छैन, राजनीतिकर्मीलाई । तर्किनु स्वाभाविकै होला । तर, धर्म र राजनीति पृथक् विषय होइनन् भनी पूर्वीय दर्शनलाई गम्भीर अध्ययन गर्ने हो भने तर्केर हिँड्नुपर्ने कारण छैन ।
के हो धर्म ? : धर्मका हजारौँ परिभाषा भेटिन्छन्, पूर्वीय दर्शनमा । धर्म शब्दको अनेकन् सन्दर्भमा प्रयोग भएको छ । स्वभावको रूपमा धर्मको प्रयोग भएको छ । कर्तव्यको रूपमा धर्म भेटिन्छ । पन्थ, सम्प्रदाय र साधना पद्धतिका रूपमा पनि धर्म शब्दकै प्रयोग भएको पाइन्छ । धर्म शब्दको प्रयोग गीताको श्लोकदेखि मनुस्मृति र तुल्सीदासको रामचरित मानससम्म एकैखालको छ, कर्तव्य नै धर्म हो भनेर । राजा होऊ भने राजधर्म गर । क्षेत्रीय होऊ भने क्षेत्रीय धर्म गर । विद्यार्थी होऊ भने विद्यार्थी धर्म गर । शासक र प्रशासक होऊ भने त्यही धर्म पालन गर । सनातन धर्म यसरी आएको छ । अरूलाई पीडा दिने अधर्मी हो, सत्य सबैभन्दा महान् धर्म हो । धर्मविहीन राजनीति मृत शरीर समान हो, गान्धीवचन यही छ । गान्धीको धर्म राजनीतिमा नैतिकतासँग गाँसिएको छ । बिपी कोइराला पनि केही हदसम्म त्यहीँ उभिएका छन् । आत्ममन्थन यहाँ जरुरी छ । के हो राजनीतिमा नैतिक धर्म भनेको ?
चलनचल्तीको धर्म : कर्तव्यबोधबाट धर्म पालना गर्न संविधानको आवश्यकता पर्दैन । सबैले आफ्नो जिम्मेवारी पूरा गर्दा कर्तव्य गरेको ठहर्छ । राम र कृष्णलाई कुन संविधान चाहिएको थियो र कर्तव्यपालनका लागि ? हिन्दूराष्ट्र काठमाडौं, अयोध्या, मथुरा र द्वारका कुनै पनि थिएनन् विगतमा । संविधानवादको इतिहास नयाँ हो । समाजको सबै धारलाई संविधानले निर्दिष्ट गर्न सम्भव छैन । बिपीलाई राजनीतिक धर्म गर्न संविधानले कहिल्यै रोकेन । तर, धर्मको परिभाषा सनातनबाट सम्प्रदाय र पन्थमा आइपुग्दा फरक छ । एउटै धर्मभित्र पनि अनेकन् सम्प्रदायमा हिंस्रक प्रतिस्पर्धा भएका छन् ।
पश्चिममा धर्मको परिभाषा पूर्वीय दर्शनमा जस्तो व्यापक छैन । तसर्थ त्यहाँ धर्म भन्नाले क्रिस्चियन, इस्लाम वा यहुदी धर्म र त्यसभित्र भएका केही सम्प्रदाय भन्ने बुझिन्छ । एउटा धार्मिक ग्रन्थ, एउटा केन्द्र र एकजना ईश्वर क्रिस्चियन र इस्लाम धर्ममा भेटिन्छ । यसमा यी दुई धर्म रिजिड भएर हजार वर्षसम्म संसारलाई हिंस्रक बनाए । हिन्दूधर्मको नाममा पनि पुरोहित सम्प्रदायले हाम्रो समाज र सभ्यतालाई हजारौँ वर्ष मानवताविरोधी र जातीय श्रेष्ठताको अहंकारले अन्धकार युगमा राख्यो । अझै यो खेल जारी छ । पाँचाैँ शताब्दीदेखि झन्डै १४औँ शताब्दीसम्म ‘हजार वर्षको’ युरोपमा कालो र अन्धकार युगको इतिहास छ धर्मका नाममा । कैयन् धर्मयुद्ध भए युरोप र मध्यपूर्वमा । लाखौँ लाख मानिसको ज्यान गयो । इस्लामका सम्प्रदायबीच पनि खुनी हिंसा भए, भइरहेकै छन् ।
नेपाल धर्मनिरपेक्ष भए पनि धर्मप्रभावित राज्य रहन्छ नै । धर्मप्रभावित भन्नेबित्तिकै राज्यका नियम, कानुन, आदेश र व्यवहार खास धर्मप्रति लगावभाव राख्छन् भनी बुझे हुन्छ, जस्तो आजको नेपाल छ ।
नेपाली कांग्रेसभित्र ‘हिन्दूराष्ट्र’ नेपाललाई कायम राख्नुपर्छ भन्ने मतका पछाडि सनातन हिन्दूधर्म मात्र पक्कै छैन होला । कुनै अलौकिक मान्यतालाई अगाडि सारेर यो भनिएको हुनुपर्छ । पूर्वीय धर्म जब कर्तव्यको धर्मबाट तल झर्छ । पन्थ र सम्प्रदायमा प्रवेश गर्छ । अलौकिकतामाथि विश्वास जाग्छ । स्वर्ग र नर्क अनि त्यसलाई प्राप्त गर्न उपासना पद्धतिको खोजी हुन्छ । उपासना पद्धतिसँग पुरोहित एजेन्ट बनेर आउँछन्, स्वर्ग र नर्कको । चलनचल्तीको हिन्दूधर्म यही हो । यस्ता पन्थमार्गीहरू आफ्नो धर्मको श्रेष्ठतासँगै प्रचलित अरू धर्मको कट्टर विरोधी हुन्छन्, असहिष्णु हुन्छन् । राज्य कसरी असहिष्णु हुन सक्छ ? माथि भनिएको सनातन धर्म मान्नेको कुनै अलौकिक शक्ति थिएन र उपासना पद्धति पनि थिएन । जब–जब धर्मच्युत हुन्छ, म पटक–पटक यो पृथ्वीमा अवतरण गर्छु भनी श्री कृष्णले कर्तव्यपथमा लाग्न गीतामार्फत सन्देश प्रवाह गरेका छन् ।
के बिपी धार्मिक थिए ? : कांग्रेसमा बिपीलाई बुझ्नेको संख्या क्रमशः रित्तिँदै छ । बिपीले जीवनमा आफ्नो कर्तव्य निर्वाह गर्नुभयो र यसमा अफसोच छैन भनी कैयन् ठाउँमा भन्नुभएको छ । त्यति मात्र होइन, फेरि अर्को जुनी पाए म त्यही गर्छु, जे गरेर त्यसैमा मलाई आनन्द आउँछ, बिपीको धर्म यही थियो । बिपी पुनर्जन्म र अवतारवादमा विश्वास गर्नुहुन्थ्यो । बिपीका अभिव्यक्ति पन्थ र सम्प्रदायविरोधी पनि छन् । कांग्रेस प्रवासकालको मुखपत्र ‘तरुण’ पत्रिकामा ती पढ्न पाइन्छ । बिपी धर्मविरोधी थिएनन् । त्यसो हुन सम्भव छैन । तर, धर्मको नाममा चलेको कर्मकाण्ड र सम्प्रदायको भने बिपी घोर विरोधी थिए । यो कुरा बिपीपुत्रलाई भन्दा बढी कसलाई जानकारी होला र ? तर, किन हो, अहिले मुखमा टेप लगाएका छन् ।
युरोपमा हजार वर्षको अन्धकार युगपछि क्रमशः सुधारको युग, प्रबोधन र पुनर्जागरण युग १५औँ शदाब्दीबाट सुरु भयो । कोपरनिकस, न्युटन, ग्यालिलियो, मैकियावेली, हब्स, लक हुँदै चाल्र्स डार्विनसम्मको यात्रा धेरै लामो छ, यो युग निर्माणका प्रवर्तकको । यी सबैका विचार र कामसँग बिपी जानकार थिए । अझ अगाडि बढेर हेर्दा कार्ल माक्र्सले ‘धर्म अफिम हो’ र अगस्ता कोम्तेले ‘मानवतावाद’को व्याख्या गर्दै धर्मको नयाँ परिभाषा र चुनौती अगाडि सारे । यही कालमा माक्र्सको समानान्तर ‘जोर्ज जैकब होलियाँक’ बेलायतमा उदाए, ‘सेकुलर सिद्धान्त’ अगाडि सारेर । बिपी माथि उल्लेख गरिएका यस्ता कैयन् समाज सुधारक र वैज्ञानिक विचारकसँग आफूलाई समीप पाउँथे ।
होलियाँकले धर्मप्रति राज्यको उपेक्षा, इहलोकवाद, विज्ञानलाई प्रगतिको माध्यम र राजनीतिमा नैतिकवान् हुनलाई धार्मिक हुनु नपर्ने सिद्धान्त पश्चिमासामु राखे । बिपीको कांग्रेस कार्यकर्ताका नाम लेखिएको चिठीमा ‘नैतिकता’ विषयले होलियाँक विचारसँग सामीप्य राख्छ । होलियाँक विचारमा व्यक्ति र समाजलाई धार्मिक भावनाअन्तर्गत स्वतन्त्र भएर अगाडि बढ्न कुनै अवरोध भएन, राज्यले भने कुनै पनि खास धर्मको प्रवर्धन र संरक्षणमा सक्रिय नहुने नीति लियो । सिद्धान्ततः यो कुरा स्वीकार्य भयो र राज्य धर्मनिरपेक्ष अर्थात् सेकुलर भनिए ।
बेलायतको गौरवशाली क्रान्ति, अमेरिकाको स्वतन्त्रता आन्दोलन, फ्रान्सको राज्यक्रान्ति र सोभियत संघको बोल्सिविक क्रान्तिबारे लेखिएको ‘एनोटमी अफ रेभुलुसन’ पुस्तक बिपी आफूलाई सबैभन्दा मनपर्ने पुस्तक भन्नुहुन्थ्यो । हामीजस्ता अंग्रेजी नबुझ्नेलाई पनि त्यो किताब पढ्न उहाँको सल्लाह हुन्थ्यो । चीन र भारतको राष्ट्रिय मुक्ति आन्दोलन र स्वतन्त्रता आन्दोलनमा उहाँ आफैँ साक्षी र सहभागी हुनुभयो । माथिका सबै क्रान्तिमा धर्म कहीँ मिसिएर आएको छैन । बिपीका यी सबै चेतना र मान्यताको शृंखलामा धर्म र राजनीति मिसिएको छैन । साहित्यलाई समेत राजनीतिमा नमिसाउने बिपी धर्मलाई कसरी राजनीतिमा मिसाउने सोच राख्न सक्नुहुन्थ्यो । कांग्रेसले बिपीको १०७औँ जन्मजयन्ती मनाइरहँदा बिपीविचारको मूल सिद्धान्त धर्मनिरपेक्षतामाथि गम्भीर छलफल नै गरेन, चिन्ता यति मात्र हो ।
राज्यको धर्म हुनुपर्छ ? : हिन्दूराष्ट्र नेपालबारे बिपीको नकारात्मक टिप्पणी कसैबाट लुकेको छैन । यद्यपि नेपाल धर्मनिरपेक्ष भए पनि धर्मप्रभावित राज्य रहन्छ नै । बिपी कोइरालाको शासनमा पनि थियो । धर्मप्रभावित भन्नेबित्तिकै राज्यका नियम, कानुन आदेश र व्यवहार खास धर्मप्रति लगावभाव राख्छन् भनी बुझे हुन्छ, जस्तो आजको नेपाल छ । प्रधानमन्त्री ओली कम्युनिस्ट हुन्, तर कट्टर हिन्दूझैँ राम मन्दिर बनाउन ‘फर्मान’ जारी गर्छन्, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सिको गर्दै । प्रधानमन्त्री ओलीको फर्मान धर्मतन्त्रबाट सञ्चालित राज्य नेपाल हो भनी बुझिन्छ ।
धर्मप्रभावित अमेरिका पनि छ । अमेरिकाको सबै डलरमा‘इन गड वी ट्रस्ट’ लेखिएको छ । युरोपका अधिकांश देशका सरकार कुनै न कुनै चर्चप्रति निष्ठा व्यक्त गर्छन् । बौद्धधर्मप्रति झुकाव राख्ने भुटान, कम्बोडिया, श्रीलंका, बर्मा र लाओस छन् । इजरायलको कुरै भएन । इस्लामिक देशहरू धर्मतन्त्रमा मात्र छैनन्, अरू धर्मप्रति अत्यन्त असहिष्णु छन् । नेपालमै राजकीय धर्म हिन्दू छैन्, तर सार्वजनिक बिदा अधिकांश हिन्दूधर्मका विभिन्न पन्थबाट निर्देशित छन् । कांग्रेसको ‘राजनीतिक चिन्तनधारा’मा आजपर्यन्त धर्मतन्त्रको सहारा लिनुपरेको छैन, स्मरण यो मात्र गराउन खोजिएको हो । कांग्रेस र कम्युनिस्ट दुवै दल राजनीतिक विचारधाराबाट जनतालाई आकर्षित गर्न नसक्ने भएर उग्र राष्ट्रवाद र धर्मतन्त्रमाथि विश्वास व्यक्त गर्न थालेका हुन् भने भन्नु केही छैन । दुवैले समात्न खोजेको बाटो घोर दक्षिणपन्थी हो । प्रगतिशील राजनीतिबाट दक्षिणपन्थको यात्रामा भासिँदा देशको सार्वभौमसत्ता र अखण्डताको रक्षा कसरी होला, चिन्ता यहाँ छ ।
कांग्रेसको राजनीतिक चिन्तनधारामा बिपी एक्लै थिएनन् । सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, योगेन्द्रमान शेरचन, रामनारायण मिश्र, महेन्द्र नारायण निधि, देवान सिंह राईजस्ता राष्ट्रिय पहिचान थिए, राष्ट्रिय अखण्डताको स्रोत देखिने समूह थियो । कसैले पनि धार्मिक राज्यको कल्पना कहिल्यै गरेनन् । यद्यपि कांग्रेसका अधिकांश नेता आफ्नो धर्म–संस्कृतिप्रति अगाध आस्था राख्थे, बिपीवाहेक । नेपाल, फ्रान्सजस्तो कठोर धर्मनिरपेक्ष देश होइन । फ्रान्समा कुनै पनि धर्मको चिह्न सार्वजनिक ठाउँमा प्रदर्शन गरेर हिँड्न र डुल्न प्रतिबन्ध छ । मुस्लिम महिलाले बुर्का लगाउन पाउँदैनन् । हिन्दूलाई निधारमा टीका बन्देज छ । क्रिस्चियनलाई समेत क्रस लकेट घाँटीमा झुन्ड्याएर कुनै सार्वजनिक स्थलमा घुमफिर गर्न बन्देज छ । नेपाल, अमेरिका र भारतको धर्मनिरपेक्षता व्यवहारवादी हलुका छ भन्दा हुन्छ, फ्रान्सको आलोकमा ।
बिपीमा मात्र होइन, कांग्रेसको राजनीतिक चिन्तनधारा जुन अविच्छिन्न गतिमा विगत सात दशकदेखि बगेको छ, त्यहाँ कुनै कालमा पनि धर्मलाई राज्यसँग जोडेको पाइन्न । किन कांग्रेसभित्र धर्मलाई राजनीतिमा जोड्ने आवाज यतिखेर उठ्दै छ ? कमजोर भएर हो कि ? बहस, चिन्तन र छलफल गर । त्यसमा पनि बिपीपुत्र कांग्रेस महामन्त्री डा. शशांक कोइराला यो अभियानका अभियन्ता हुन् भनिन्छ । धर्मलाई राजनीतिको साधन बनाउने बाध्यता कांग्रेस र कोइराला परिवारलाई किन पर्यो ? जबकि त्यस्तो जरुरी देखिँदैन ।