जुमार्ट ओटोरबायेभ
वैश्विक विद्युतीय उद्योग संरचनात्मक परिवर्तनको चरणमा प्रवेश गर्दै छ । दुई दशकभन्दा बढी समय चीन विश्वको प्रमुख उत्पादन केन्द्रका रूपमा रह्यो । यसमा आपूर्तिकर्ता, दक्ष जनशक्ति, पूर्वाधार, लजिस्टिक र इन्जिनियरिङ क्षमताको अतुलनीय केन्द्रीकरणले सघाउ पुर्यायो । तथापि, यो चिनियाँ प्रभुत्व अहिले केही खुकुलो हुँदै गएको छ । तर, यसलाई चिनियाँ उत्पादन क्षेत्रको पतनका रूपमा अर्थ्याउनु गल्ती हुनेछ । चीनले आफ्ना उत्पादन प्रक्रियाका केही अंश बाहिर पठाउँदै गर्दा सबैभन्दा महत्वपूर्ण औद्योगिक क्षमता भने आफैँसँग सुरक्षित राखेको छ ।
‘बोस्टन कन्सल्टिङ ग्रुप (बिसिजी)’का अनुसार, सन् २०१७ यता विदेशमा उत्पादन गर्ने चिनियाँ (मूलभूमि चीन, ताइबान र हङकङका समेत जोडेर ) इलेक्ट्रोनिक्स उत्पादकको हिस्सा १२ प्रतिशतबाट बढेर ५६ प्रतिशत पुगेको छ । बिसिजीले आफ्नो विश्लेषण ५० करोड अमेरिकी डलरभन्दा बढी वार्षिक आम्दानी भएका ९४२ सेयर बजारमा सूचीकृत कम्पनीको (जसमा चीनमा मुख्यालय भएका ३१४ कम्पनी पनि समावेश छन्) तथ्यांक अनुसन्धान गरेर तयार पारेको हो । यो एक उल्लेखनीय परिवर्तन हो ।
सन् २००० को दशकको सुरुदेखि २०१० को दशकको मध्यसम्म, कैयौँ बहुराष्ट्रिय कम्पनीले उत्पादन खर्च घटाउन चीनका प्रमुख औद्योगिक क्षेत्रबाट उत्पादन गर्ने कार्यलाई बढावा दिए । लागत कटौतीका लागि त्यस वेला चीनको सस्तो श्रमशक्तिले महत्वपूर्ण भूमिका खेलेको भए पनि यसको वास्तविक फाइदा भने उत्पादनसम्बन्धी ‘इकोसिस्टम’ (पारिस्थितिक प्रणाली) सानो क्षेत्रमै केन्द्रीकृत हुनुमा निहित थियो ।
यसले ‘इकोनोमिज अफ स्केल’ (ठुलो परिमाणमा उत्पादन गर्दा आउने न्यून लागत खर्च) र सञ्चालनगत दक्षता सिर्जना गर्यो । यसको बराबरी गर्न थोरै मात्र अन्य सक्षम भए । सन् २०१७ यता बढ्दो भन्सार महसुल, निर्यातमा कडा नियन्त्रण र संवेदनशील प्रविधिको कडा निगरानीले यो समीकरणलाई परिवर्तन गरिदिएको छ । चिनियाँ सामानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको उच्च भन्सार महसुलको उद्देश्य चिनियाँ उत्पादनमाथिको निर्भरता घटाउनु र उत्पादनलाई अमेरिका फर्काउन बाध्य पार्नु थियो । तर, यसले चिनियाँ कम्पनीलाई तेस्रो मुलुकमा उत्पादन क्षमता स्थापना गर्न प्रेरित गरिदियो, विशेषतः भन्सार छल्न सकिने उद्देश्यले ।
त्यही समय दक्षिणपूर्वी एसियाली देश, भारत र मेक्सिकोले चिनियाँ उत्पादकलाई आकर्षित गर्न कर छुट, अनुदान, औद्योगिक क्षेत्र र अन्य उपाय उपलब्ध गराउन थाले । चिनियाँ कम्पनीले पनि आफ्नो उत्पादन संयन्त्रलाई विभिन्न देशमा विविधीकरण गर्नुलाई भन्सार महसुल, निर्यात प्रतिबन्ध र अचानक आउने अवरोधविरुद्धको सुरक्षा उपाय (बिमा)का रूपमा हेर्न थालेका छन् । तर, यसको अर्थ चीनलाई पूर्ण रूपमा त्याग्नु भन्नेचाहिँ होइन । धेरै अवस्थामा चिनियाँ कम्पनीले सबै कुरा चीनमै उत्पादन गरेर अन्तिम एसेम्बली मात्र अन्य देशमा स्थानान्तरण गरिरहेका छन् ।
मेसिनका पार्टपुर्जा, अत्यावश्यक सामग्री, मेसिनरी र इन्जिनियरिङ विशेषज्ञता चीनमै उत्पादन भइरहेका छन् । यसले ‘हब–एन्ड–स्पोक’ मोडेल उत्पादन गरिरहेको छ, ‘हब (केन्द्र)’ चीन नै रहन्छ, स्पोक (केन्द्रसँग जोड्ने)हरूमा भियतनाम, मलेसिया, थाइल्यान्ड, भारत, मेक्सिको र अन्य देशमा फैलिएका छन् । बिसिजीको अनुमानअनुसार दक्षिणपूर्वी एसियामा विस्तार भइरहेकामध्ये लगभग ७६ प्रतिशत चिनियाँ निर्माताले भियतनाम, थाइल्यान्ड वा मलेसियालाई गन्तव्य रोजिरहेका छन् ।
भियतनाम इलेक्ट्रोनिक्स एसेम्बलीका लागि बढ्दो रूपमा महत्वपूर्ण बन्दै गएको छ, उता मलेसिया सेमिकन्डक्टरको परीक्षण र प्याकेजिङमा सबल बन्दै गएको छ, भारतले विशाल घरेलु बजार सम्भावना प्रदान गर्छ भने मेक्सिकोले संयुक्त राज्य अमेरिकाको निकटताको फाइदा लिएको छ । तर, यी सबै नयाँ क्षेत्र चिनियाँ आपूर्ति शृंखलासँग गहिरो रूपमा जोडिएका छन् ।
सबैभन्दा परिणामात्मक विकास इलेक्ट्रोनिक्सभन्दा बाहिर हुन सक्छ । चीनको औद्योगिक रणनीति श्रमविभाजनसँग उपयुक्त छ, जसमा उन्नत अनुसन्धान, इन्जिनियरिङ, प्राविधिक नवप्रवर्तन र परिष्कृत उत्पादन घरेलु रूपमा केन्द्रित रहन्छ । साथमा यसले केही चुनिएका उत्पादनमा चरण अन्तर्राष्ट्रिय रूपमा वितरण गर्छ । यो चीनको औद्योगिक भूमण्डलीकरणको अर्को चरणको मूल विशेषता बन्न सक्छ । उत्पादनलाई चीनमा केन्द्रित राख्नुको सट्टा, बेइजिङले उत्पादन प्रविधि, मेसिनरी, पार्टपुर्जा, मापदण्ड, इन्जिनियरिङ क्षमता र आपूर्ति–शृंखला सम्बन्धमाथिको नियन्त्रण बढी महत्वपूर्ण हुन्छ । यो उत्पादन शक्तिको मौलिक रूपमा फरक अवधारणा हो । पुरानो मोडेलले उद्योग कहाँ छ भन्ने आधारमा औद्योगिक शक्ति मापन गर्थ्यो । उदीयमान मोडेलले भने औद्योगिक क्षमतालाई पारिस्थितिक प्रणालीलाई कसले नियन्त्रण गर्छ भन्ने आधारमा मापन गर्छ ।
यो प्रक्रियाले एक अस्पष्ट विडम्बना बोकेको छ । वासिंटनले चिनियाँ उत्पादनमाथि भन्सार बढाएर र प्रविधिमाथिको चिनियाँ पहुँचलाई नियन्त्रण गरेर विश्वव्यापी उत्पादनमा चीनको भूमिका घटाउन खोज्दै छ । तर, जवाफमा चिनियाँ उद्योगलाई सम्भावित राजनीतिक जोखिम घटाउन धेरै क्षेत्रमा उत्पादन सञ्जाल निर्माण गर्न प्रेरित गरेको छ । चिनियाँ कम्पनीले यदि दक्षिणपूर्वी एसियाली देश, भारत, मेक्सिको र अन्य बजारमा उत्पादन सुविधासँग चिनियाँ अनुसन्धान तथा विकास, मेसिनरी र इन्जिनियरिङसँग जोड्न सके भने त्यसले कुनै एकल देशको व्यापार नीतिको लागि कम जोखिमपूर्ण उत्पादन प्रणाली सिर्जना गर्न सक्छ ।
तथापि, यसको मतलब चिनियाँ उत्पादन प्रभुत्व कसैगरी पनि तोडिन्न भन्ने होइन । प्रतिस्पर्धीले समयक्रममा आफ्नै आपूर्तिकर्ता पारिस्थितिक प्रणाली, प्रविधि र औद्योगिक क्षमता विकास गर्नेछन् । प्रतिस्पर्धा अझ बढ्ने निश्चित छ । तथापि, अहिलेको संकेत भने स्पष्ट छ– विश्वव्यापीकरण केहीले भनेजस्तो अन्त्य हुँदै छैन । बरु यसले तीव्र गतिमा नयाँ रूप लिँदै छ । चीनले ‘विश्वको कारखाना’का रूपमा रहेको आफ्नो पुरानो भूमिका त्याग्दै छैन । बरु, यसले आफूलाई रूपान्तरण गर्दै छ । यो त अहिले नवप्रवर्तन र विकासको विश्वव्यापी केन्द्र (मुख्यालय) बन्दै गइरहेको छ । उत्पादन क्षमता विभिन्न देशमा छरिएर जान सक्ने भए पनि औद्योगिक मस्तिष्क’ भने चीनमै रहेको छ ।
(ओटोरबायेभ किर्गिज गणतन्त्रका पूर्वप्रधानमन्त्री हुन् । साउथ चाइना मर्निङ पोस्टबाट श्रवण उप्रेतीको अनुवाद)