विश्वेश्वरप्रसाद कोइरालाले ००८ सालमा हिन्दूका आराध्यदेव पशुपतिनाथको मूर्तिलाई म्युजियममा राख्नुपर्ने अभिव्यक्ति सार्वजनिक गरे । उनले आफूलाई ईश्वर नमान्ने देखाउन र खासमा धर्मनिरपेक्षताको पक्षमा आफ्नो अभिमत प्रकट गर्न यस्तो अभिव्यक्ति दिएको देखिन्छ । राज्यव्यवस्थामा भर्खरै परिवर्तन भएको परिदृश्यमा उनको यस्तो अभिव्यक्तिको सर्वत्र आलोचना सुरु भयो । तत्कालीन समयमा उनी एउटा व्यक्ति मात्र थिएनन् । चलिरहेको राज्यव्यवस्थालाई उल्ट्याइदिने राजनीतिक वाद र क्रान्तिका नायक थिए । जुन अभिव्यक्ति मूलतः संस्थागत अवधारणा हो भनी प्रमाणित गराउन खोज्ने अर्को शक्तिलाई मौका पनि थियो । फेरि उनी देशको शान्ति सुरक्षा र अमनचयनको कमान्ड सम्हाल्ने शक्तिशाली गृहमन्त्री थिए । धर्ममा विश्वास राख्ने कट्टरवादी हिन्दूले उनको उक्त अभिव्यक्तिलाई धार्मिक आस्थामाथि प्रहार गरेको र समाजको पारस्परिक सद्भाव खल्बल्याएको आरोप लगाए । पदीय मर्यादामा जहाँ जे भए पनि तत्कालीन समयमा बिपी मात्र यस्ता अब्बल पात्र थिए, जो अन्तर्राष्ट्रिय रूपमै चिनिएका थिए । बिपीका प्रखर आलोचक आज पनि उनको त्यो अभिव्यक्तिलाई जोडतोडका साथ उप्काइरहन्छन् ।
हिन्दू धर्मका बहुसंख्यक अनुयायीको चित्त काटिने अभिव्यक्ति आलोचनाको निसाना पदीय मर्यादासहित सरकारमा रहँदासम्म र बाहिर हुँदा पनि बिपीप्रति सोझिइरह्यो । त्यसको पक्ष वा विपक्षमा तत्काल अर्को अभिव्यक्ति सार्वजनिक गर्ने आवश्यकता उनले सम्झेनन् । हिम्मतिलो व्यक्ति त्यो हो, जसले गुण वा दोष दुवैको श्रेय आफैँले सकार्न खोज्छ । बिपीमा त्यो क्षमता थियो ।
तर, बिपी आफैँमा अधार्मिक र असहिष्णु होइनन् भन्ने कुरा त्यसको तीन दशकपछि ०३८ पुसमा राष्ट्रपुकार साप्ताहिकमा ‘हृदय खुला छ, तर धर्मको अभ्यास गर्दिनँ’ शीर्षकमा प्रकाशित उनको अन्तिम लेखबाट प्रस्ट हुन्छ । त्यहाँ उनले सुरुमै भनेका छन्, ‘मलाई देवताले केही अनुकम्पा गर्लान् भन्ने जस्तो लाग्दैन ।’ हरेक व्यक्तिका आ–आफ्ना समस्या छन्, अन्त्यमा ईश्वरको पुकारा सबैको सहारा हो । बिपी क्यान्सरजस्तो असाध्य रोगको उपचारार्थ भारतस्थित अस्पतालमा भर्ना भएका थिए । अस्पतालको शय्याबाट केही क्षण टहलिन छतमा उक्लिँदा आर्तरोदनमिश्रित स्वरमा एकजना महिला सूर्यलाई पुकारा गरिरहेको देख्छन् । उनलाई लाग्छ, मजस्तै उनको निकटवर्ती कोही असाध्य रोगले गाँजिएको छ । मैले सक्ने भए उनको बिरामीको उद्धार गरिदिन्थेँ । तर, म आफैँ क्यान्सरपीडित छु । मेरो पनि आफ्नै पीडा छ । मेरो परिवार पनि मेरो उद्धारका निम्ति त्यस्तै पुकारा गरिरहेको छ । देश–विदेशमा धार्मिक अनुष्ठान, यज्ञ आदि चलिरहेको खबर आएका छन् । भगवान्ले कतिका पीडा सुन्ने ?’
बिपी धार्मिक अभ्यासले मुक्ति दिलाउँछ भन्ने कुरामा कम विश्वस्त देखिन्छन् । कर्तव्यपरायण धर्म र मुक्तिपरायण धर्ममध्ये एक रोज्न लगाएको भए सम्भवतः बिपीले कर्तव्यपरायण धर्म रोज्थे होला ।
सुशीला सहनशील सुशील छिन् । मेरो पीडा कम गर्न कसैले भगवान्सँग पुकारा गरेर विभूति ल्याइदियो । साधुसन्त, महन्त सबै लागेका छन् । मन्दिरको प्रसाद उनलाई गाँजेको क्यान्सर रोग निवारणको संकल्पसहित उनको घरमा आइपुग्छ । बिपी भन्छन्, ‘प्रसाद एवं विभूतिलाई पवित्र ठान्ने दुवैको भावनालाई म उच्च कदर गर्दै ग्रहण गर्छु ।’ यो भनाइले पनि प्रस्ट गर्छ कि धर्म वा ईश्वरप्रति आमनागरिकको जुन धारणा छ, त्यो बिपीमा पनि थियो ।
‘गरुड पुराणमा मान्छे मरेपछि के–के हुन्छ भनेको कुरा मान्दिनँ, म अब आस्तिक रहिनँ ? तर, त्यसमा अन्तर्निहित कुनै प्रतीकात्मक कुराप्रति मेरो अटल विश्वास र समर्थन छ ।’ कर्मकाण्डी धर्मप्रतिको आलोचनात्मक चेत बिपीले राम्रैसँग उजागर गरिदिएका छन् । मुस्लिम र क्रिस्चियनले कर्मकाण्डविहीन धर्मको वकालत गरिरहेका छन् । उनको पनि विश्वास छ, आस्था छ र भरोसा पनि छ, ईश्वरप्रति । मान्छे वासना या वाञ्छाको अनुकूल रहेसम्म त्यो भोगाधिकार त्यही व्यक्तिमा निहित हुन्छ । भोग गर्नलाई जन्म लिइरहनुपर्छ । पुनर्जन्मप्रतिको उनको विश्वास यतिमै बिट मारेका छन् ।
म नेपालमा जन्मिएँ । मेरो देश भूगोल, बाबुआमा, वर्ण, रूप, बुद्वि, समाज, संस्कार, वातावरण मैले चुन्न पाइनँ । पहिला नै चुनिए । यी धेरै महत्वपूर्ण कुरा पहिला नै कसैले चुनेर मलाई दिए । त्यही हो प्रारब्ध, त्यही हो नियति र त्यही हो भाग्य । बिपीको यो वस्तुनिष्ठ धारणा विश्वव्यापी मान्यतासँग ठयाक्कै मिल्दोजुल्दो छ । जसलाई विश्वका कुनै पनि धर्मका हिमायतीले सहर्ष स्वीकार गरिरहेका छन् । बिपी धार्मिक अभ्यासले मुक्ति दिलाउँछ भन्ने कुरामा कम विश्वस्त देखिन्छन् । कर्तव्यपरायण धर्म र मुक्तिपरायण धर्ममध्ये एक रोज्न लगाएको भए सम्भवतः बिपीले कर्तव्यपरायण धर्म रोज्थे होला ।
बिपी र अध्यात्म : करिब पाँच हजार वर्षअघि लेखिएको विश्वास गरिने आध्यात्मिक दर्शन गीताका सार समेटेर बिपीको ‘मोदी आइन्’ (२०३६) प्रकाशित भयो । महाभारत युद्धमा धर्मका नाममा जे जति मानवीय जीवन तहसनहस भएका छन्, बिपीले ‘मोदी आइन्’मा गम्भीर कटाक्ष गरेका छन् । महाभारतका मुख्य पात्र भगवान् कृष्णलाई युद्धउत्तोलकको संज्ञा दिँदै विधवा स्त्रीहरूको पीडा र आर्तनाद मुखरित गरिएको छ । मानौँ, ती सबै भगवान् कृष्णको युद्धउन्मादका खातिर भए, गराइए । उनको अर्को पुस्तक ‘हिटलर र यहुदी’ (२०४०) मा युद्धपिपासु हिटलरले मच्चाएको नरसंहार त्यही गीताको प्रेरणाबाट रचिएको बिपीको ठहर छ ।
यी दुई कृति अद्योपान्त पढ्ने र विश्लेषण अध्ययन गर्ने जो कोहीले बिपीलाई अध्यात्मविरोधी कित्तामा उभ्याइदिए । यद्यपि, अध्यात्मका विषयमा बिपीको त्यस्तो अरुचिपूर्ण अभिव्यक्ति कहीँ कतै भेटिँदैन । बरु ‘धर्म, ईश्वर र नियति’ नामक उनकै निबन्धमा यी विषयमा थप लचिलो भेटिन्छन् । युद्धका विभिन्न रूप हुन्छन् । जातीय वा वर्गीय उत्पीडनबाट मुक्ति, राजनीतिक अधिकारको प्राप्ति, राज्य वा औपनिवेशिक विस्तार आदि उद्देश्यका लागि विश्वमा भएका युद्धका लामा सूची तयार गर्न सकिन्छ । नियमसंगत युद्धमा पक्ष वा विपक्षको हताहती स्वीकार्य मानिने जुनसुकै युद्धको विशेषता हो । महाभारतमा युद्धरत अर्जुनलगायत अन्य लडाकुलाई सृष्टिको प्रक्रिया, ज्ञान, भक्ति र कर्मयोगका विषयमा भगवान् कृष्णले गरेको शालीन व्याख्याको प्रतिबिम्ब उतार्न स्वयं लेखकलाई केही भ्रम उत्पन्न भएको हुन सक्ने कुरालाई नकार्न सकिँदैन ।
आफ्ना प्रत्येक रचनामा मान्छेका दमित इच्छा र मानवतावादलाई शीर्ष स्थान दिने बिपी अध्यात्मविरोधी हुन् भन्ने मतलाई प्रमाणित गर्ने आधार छैनन् । राजनीति र साहित्यलाई सँगसँगै हिँडाएका बिपीले यी दुवैमा छुट्टाछुट्टै विशिष्ट धारको प्रतिनिधित्व गर्छन् । फेरि पनि एकबाट अर्को नितान्त अप्रभावित छन् । तर, उनको धार्मिक एवं अध्यात्मिक पक्ष उतिसारो खुलस्त भने देखिँदैन । धर्म र अध्यात्मलाई सधैँ मझधारमा राखिराख्ने बिपीले आफ्नै शब्दमा प्रस्टीकरण दिएका छन्, न नास्तिक न आस्तिक, ‘म एड्नोस्टिक हुँ’ । रोग र जेलजीवनको दोसाँधमा पनि आफ्नो जीवनलाई अत्यन्तै व्यस्त बनाएका बिपी ६८ वर्षको उमेरमा परलोक प्रस्थान गरे ।
निष्कर्ष : साहित्यमा रुचि राख्नेका नजरमा बिपी आदर्शवादी पात्र हुन् । राजनीतिक आस्था व्यक्तिपिच्छे फरक–फरक हुन पाउँछ । बिपीले राजनीतिमा जहिले पनि जनतालाई राष्ट्रियताको पहिलो र अन्तिम तत्व माने । मान्छेका दमित एवं कुण्ठित मनोकांक्षाले पाठक तान्छ भन्ने लाग्यो, साहित्यमा त्यही धारको नेतृत्व गरे । ‘टाढाको देवताभन्दा करेसाको भूत काम लाग्छ’ भनेजस्तै बिपीले अर्कै लोकमा रहने विश्वास गरिएका देवतामा उतिसारो भरोसा दर्साएनन् । उनको उचाइ र छवि आजसम्म पनि चढ्दो छ, बढ्दो छ । कारण, उनमा विद्यमान बहुआयामिक क्षमता नै हो ।
(पौडेल आइएमई ग्रुपमा कार्यरत छन्)