बर्लिनको लकडाउनविरोधी प्रदर्शन

बुधबार, २४ भदौ, २०७७
डिजिटल संस्करण

केही दिनअघि बर्लिन सहरमा झन्डै ३८ हजार मानिस कोरोनाविरुद्ध उठाइएका कदमको विरोध गर्दै सडकमा उर्लिए । र्यालीमा आमनागरिक र वयोवृद्ध मानिसदेखि स्वस्तिक ट्याटु खोपेका दक्षिणपन्थी अतिवादीसमेत सहभागी थिए । प्रदर्शनकारीले बोकेका ब्यानरमा ‘दासले लगाउने मास्क फाल’ लेखिएका थिए । केहीले शान्तिको झन्डा पनि बोकेका थिए । धेरैले ‘हामी नागरिक हौँ’ नारा लगाइरहेका थिए । केहीले त ‘ट्रम्प र पुटिन आऊ जर्मन बचाऊ’ सम्म भनिरहेका थिए ।

जर्मन संसद्मा जबरजस्ती पस्न खोज्ने प्रदर्शनकारीले कालो, सेतो र रातो रंगयुक्त विगतको जर्मन साम्राज्यको झन्डा बोकेका थिए, जुन जर्मन साम्राज्यले पछि नाजीका लागि जग तयार पारेको थियो । जर्मनीले महाव्याधिविरुद्ध उत्साहवर्द्धक काम गर्दा पनि यी प्रदर्शन हुनु आश्चर्यजनक हो । अप्रिल महिनामा देशको दक्षिण–पश्चिम नगर स्टुटगार्टबाट सुरु भएको लकडाउनविरोधी प्रदर्शन अहिले देशव्यापी हुँदै गएको छ । यी प्रदर्शनमा २५० देखि ३० हजारभन्दा बढीसम्म मानिस देखिएका छन् ।

यी प्रदर्शन रहस्यात्मक छन् । सबैभन्दा अनौठो कुरा त प्रदर्शनकारीले हुँदै नभएको लकडाउनको विरोध गरिरहेका छन् । जर्मनीका सबै ठाउँमा लकडाउन हटिसकेको छ । विगतमा लकडाउन लागू हुँदा पनि अन्य युरोपेली मुलुकमा जस्तो कठोर थिएन । त्यसो भए प्रदर्शनमा त्यति धेरै मानिस किन आए ? ती को हुन् ? तिनलाई केले सडकमा ल्यायो ? के सडक आन्दोलन लामो समय चल्नेछ ? पछिल्ला प्रदर्शनको केन्द्रमा माइकल बलवेग देखिन्छन् । स्टुटगार्टका व्यवसायी माइकल सफ्टवेयर कम्पनी सञ्चालन गर्छन् । माइकलले स्थापना गरेको संस्था ‘क्वेरडेनकेन ७११’ को शनिबारको लगायत अधिकांश प्रदर्शनपछाडि संलग्नता देखिन्छ ।

अगस्ट १ मा बर्लिनमा सम्पन्न विशाल प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा बलवेगले भनेका थिए, ‘म आज जर्मन सरकारले प्रस्तुत गरेको दृष्टिकोण मन नपरेर यहाँ आएको छु ।’ उनका अनुसार जर्मनीको संघीय सरकारले कोरोनाविरुद्ध निरर्थकको नियन्त्रण र डरको माहोल सिर्जना गरिरहेको छ । उनले भाइरसको अस्तित्व अस्वीकार त गरेनन्, तर उनको दाबीअनुसार भाइरस सरकारले दाबी गरेभन्दा कम घातक छ । यसैले जर्मन सरकारले उठाएको नियन्त्रण अनावश्यक रूपमा कठोर भएको उनको दाबी थियो । अहिलेको अवस्थालाई विश्व महामारी मान्न अस्वीकार गर्ने माइकलले षड्यन्त्र सिद्धान्तमा विश्वास गरेको देखिन्थ्यो । 

सबैभन्दा अनौठो पक्ष के हो भने प्रदर्शनकारीहरू हुँदै नभएको लकडाउनको विरोध गरिरहेका छन्, जर्मनीका सबैजसो ठाउँमा लकडाउन हटिसकेको छ 

मे ९ मा स्टुर्टगार्टमा सम्पन्न प्रदर्शनमा चर्चित युट्युबर केन जेब्सेनले कोरोना भाइरसलाई धनीहरूले आफूहरू झन् धनी हुन र आमजनतालाई थप शक्तिहीन बनाउन ल्याएको षड्यन्त्रको हिस्सा भएको दाबी गरे । जेब्सेन यहुदीविरोधी टिप्पणीका कारण एक रेडियोबाट बर्खास्त भएपछि युट्युबमा सक्रिय हुन थालेका व्यक्ति हुन् । धेरै प्रदर्शनकारीले सोसल डेमोक्रेटिक पार्टीका पूर्वसांसद तथा चिकित्सक वोल्फग्याङ वोडर्नका दाबी उद्धृत गरेको देखिन्छ । वोल्फग्याङले कोरोनाविरुद्ध विकास हुने नयाँ खोपले मानिसको जिनमा असर गर्ने दाबी गर्दै आएका छन् । उनका अनुसार मिडियाले ‘लोभी’ औषधि उद्योगलाई फाइदा हुने गरी यस महामारीको कभर गरिरहेका छन् । 

अधिकांश प्रदर्शनकारीमा कोरोना भाइरस धेरै खतरनाक नभएको आशंका देखिन्छ । ह्याम्बर्गकी एक प्रदर्शनकारी पनि यस्तै विश्वास गर्छिन् । उनको प्रश्न छ, ‘भाइरस खतरनाक हुन्थ्यो भने अस्पताल किन खचाखच भरिएको छैन ? किन मानिसहरू सडकमा हिँड्दाहिँड्दै मरिरहेका छैनन् ?’ यस्ता दाबीलाई उग्र दक्षिणपन्थी खुला समर्थन गरिरहेका छन् । यसअघि अगस्ट १ को बर्लिन प्रदर्शनलाई दक्षिणपन्थी उग्रवादी समूहले समर्थन गरेका थिए । अधिकांश प्रदर्शनमा उग्र दक्षिणपन्थी पपुलिस्ट पार्टी अल्टरनेटिभ फर जर्मनीका धेरै नेता पुगेका हुन्छन् । शनिबारको प्रदर्शनमा उग्र दक्षिणपन्थी नेताहरूको सहभागिता झन् बढी थियो । 

प्रदर्शनमा सहभागी हुनेहरू सबै दक्षिणपन्थी विचारधाराका पक्षधर छैनन् । तर, तिनका केही गुण भने समान छ । समाजशास्त्री सिमोन टिउन लकडाउनविरोधी प्रदर्शनलाई नजिकबाट अध्ययन गरिरहेका छन् । उनका अवलोकनमा लकडाउनबाट सेवा क्षेत्रमा कार्यरत मानिस सबैभन्दा बढी प्रभावित छन् तर, यी प्रदर्शनमा तिनको उल्लेख्य सहभागिता छैन । ‘मेरो अवलोकनले प्रदर्शनमा सहभागीहरू मुख्यतः औसतभन्दा बढी शिक्षा पाएका मध्यमवर्गका मानिस छन्,’ सिमोनले भने । आर्थिक समाजिक हैसियतमा समान भए पनि प्रदर्शनकारीहरू वैचारिक रूपमा एकताबद्ध नरहेको सिमोनको बुझाइ छ । तर पनि यी आन्दोलनलाई कमजोर आक्नु गल्ती हुनेछ । अहिलेको सर्वसाधारण नागरिक, षड्यन्त्र सिद्धान्तकार तथा दक्षिणपन्थी उग्रवादीहरूबीचको गठजोडमा एउटा साझा विश्वास देखिन्छ । ती सबैमा आफूहरूले नियतवश लुकाइएको वा बेवास्तामा परेको गोप्य सत्य थाहा पाएको भन्ने परेको छ । पछिल्लो समय विश्वभर देखिएको पपुलिस्ट आन्दोलन पनि यही विश्वासले बलियो बन्यो । सिमोनका अनुसार यस्तो धारणाले हिंसा निम्त्याउन सक्छ । 

अर्को डरलाग्दो पक्ष, पछिल्लो समय सरकार र परम्परागत मिडियामाथिको अविश्वास झन् गहिरिएको छ । प्रदर्शनका लागि प्रविधिको सकारात्मक भूमिका देखिन्छ । टेलिग्रामका च्यानल र ह्वाट्सएपका बन्द ग्रुपविना यी प्रदर्शन सम्भव हुने थिएनन् । त्यस्तै, यसमा युट्युबको अल्गोरिदमको पनि हात छ । यिनै अल्गोरिदमले गर्दा एकपटक तपाईंले वोल्फग्याङ वोडर्नको भिडियो हेर्नुभयो भने त्यस्तै खालका भिडियो देखाउने गर्छन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य
अन्ना सोव्रे जर्मन दैनिक पत्रिका डेर टगेस्पिगेलकी सम्पादक हुन् ।
 
 

सुझावित समाचार