हिन्दूहरूको वार्षिक पितृ अर्पण कार्य सोह्रश्राद्ध कोरोना भाइरस कोभिड– १९ का कारण प्रभावित बनेको छ । यो वेला सोह्रश्राद्ध गर्न पण्डितलाई भ्याइनभ्याई हुन्थ्यो । एकैजनाले चार–पाँच घरमा जजमानको काम गर्थे । तर, यो महामारीको समयमा कतिपयले सामाजिक दूरी कायम गरी श्राद्ध गरेका छन् ।
तनहुँको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले प्रविधिको प्रयोग गरी अनलाइनबाट सोह्रश्राद्ध गरेका छन् । उनले कोरोनाको संक्रमण बढेकाले अनलाइनबाट श्राद्ध गरेको बताए । ‘पछिल्लो समय कोरोनाका कारण संक्रमण फैलँदै गएको छ । यो वेला राज्यले पनि भिडभाड गर्नुहुँदैन भनेर सूचना जारी गरेको छ । यो महामारीको समयमा सबैजना जम्मा भएर सोह्रश्राद्ध गर्दा संक्रमण फैलने डर हुन्छ, त्यसैले जोखिम न्यूनीकरण र प्रविधिको पनि उपयोग हुने भएकाले अनलाइनबाट श्राद्ध गरेको हुँ,’ उनले भने ।
विगतमा एकैदिनमा धेरै घर पुग्ने पण्डितहरू यसपटक भने जान डराइरहेका छन् । उनीहरू कतिपयले सामाजिक दूरी कायम गरी श्राद्ध गरेका छन् भने केहीले प्रविधिको प्रयोग गरेका छन् । श्राद्धमा जहिले पनि इस्टमित्र र भान्जालाई श्राद्धमा बोलाउने गरेको भए पनि यसपटक भने सुवेदीले कसैलाई बोलाएनन् । यतिखेर इन्टरनेटको पहुँच भएकाहरूलाई श्राद्ध गर्न अनलाइन प्रभावकारी बनेको छ ।
‘सबैजना दाजुभाइ भिडियोमा जोडियौँ,’ उनले भने, ‘म भने पण्डितजीले भनेझैँ श्राद्ध गर्न थालेँ ।’ अनलाइनबाट श्राद्ध गर्दा अरूवेला भन्दा चाँडै पनि सकिने रहेछ । महामारीको वेलामा अनलाइनबाट श्राद्ध गरेको र छिमेकीलाई पनि प्रविधिको प्रयोग गर्न प्रोत्साहन मिल्ने सुवेदीको अपेक्षा छ ।
‘कर्ताले कुसको ब्राह्मणलाई टीका लगाएर दक्षिणा राखिदिने र अनलाइनबाट श्राद्ध गरे पनि ई–सेवाबाट दक्षिणा पठाइदिने गर्नुपर्छ । मैले पनि पण्डितलाई दक्षिणा ई–सेवाबाट पठाइदिन्छु,’ सुवेदीले भने ।