घोप्ट्याइएको दूधको आहालमा बिपीको प्रतिबिम्ब

विद्वान् प्रधानमन्त्रीका अनुग्रहले भगवान् राम बल्ल ठोरी पुग्नुभएको छ, उहाँले गोमाताबारे पनि विचार गरिदिनुपर्छ कि ?

सोमबार, २२ भदौ, २०७७
डिजिटल संस्करण

‘बिक्री नहुँदा दिनदिनै दूध फाल्न बाध्य किसान’ ०७७ भदौ २० को नयाँ पत्रिकाको पहिलो पृष्ठमा खासै ध्यान नदिइने एउटा सानो समाचारले ध्यान खिच्यो । मेरो पहिलो प्रतिक्रिया त दूधका प्रति कांग्रेसको औपचारिक नीतितर्फ गयो । कांग्रेसका स्वनामधन्य अर्थशास्त्रीहरूले सधैँ एक चम्चा दूध बाँड्न हुँदैन भनेको सुनेको थिएँ, अझ त्यो पनि बिपी कोइरालाको उदाहरणका साथ । त्यस पृष्ठभूमिमा बाँड्नुभन्दा फाल्नु निको पो हो कि जस्तो लाग्यो, तर होइन कि ? भावी, वर्तमान वा प्रधानमन्त्री–उपप्रधानमन्त्रीको नर्तनको समाचारमा रमाइरहेका पाठकका निमित्त यो समाचार रसिलो छैन होला । तर, मुलुकमा चलिरहेको आर्थिक विकासको मोडलको दृष्टिले यस खबरमा निहितार्थ छ । 

केही दिनअघि मात्र बुद्धिजीवी र जुझारुसमेत मानिनुभएका कृषिमन्त्री घनश्याम भुसालले ‘नेकपा : अब अगाडिको बाटोका बारे’ भनेर एक विचारोत्तेजक बहसको बाटो खोल्नुभएको थियो । कृषिमन्त्रीका नाताले दूधको क्रय–विक्रय, व्यय–अपव्यय र संरक्षणसमेत उहाँको चासोको विषय हो । तदनुरूप लेखमा प्रतिक्रिया गर्ने राम कार्कीदेखि डा. विश्व पौडेलसम्मले यस विषयमा मनपेट दिनुपथ्र्यो । त्यो आएन । अपेक्षित टिप्पणीहरूमा दूधलगायत कृषिजन्य पदार्थमा बजारीकरण र भवितव्य एउटा विषय हुन सक्थ्यो । डा. विश्व पौडेलसम्मले किञ्चित चासो राख्नुभएको छ । टिप्पणीकारहरूले अनेकाैँ प्रश्न उठाएका छन् । तर, पोखिइरहने दूधबारे विचार गर्न भ्याएका छैनन् ।

एक्काइसौँ शताब्दीको तेस्रो दशक सन्निकट छ । अहिले नेपालको संविधानले समाजवादको लक्ष्य स्वीकार गरेको छ । मौका–कुमौकामा समाजवादका विषयमा वाद–संवाद भइरहन्छन् । बिपी कोइरालाको जन्म–दिवस (भदौ २४) सन्निकट छ । यस जन्ममितिले सदाझैँ बिपी कोइरालाको व्यक्तित्व र विचारको औपचारिक सम्झना गराउँछ । बिपी बाँचिरहनुभएको भए दूध विषयक कथित सानो समाचारले उहाँलाई घचघच्याउँथ्यो होला कि नाइँ ? त्योभन्दा प्रासंगिक अर्को कुरा छ, वर्तमान संविधानअन्तर्गत जोरसोरले पुग्ने भनिएको समाजवादी व्यवस्थासँग यसरी फ्याँकिँदै गरेको यस दूधको कुनै सम्बन्ध छ कि छैन ?

आफ्नो विचारधाराको प्रस्तुतीकरण गर्ने सिलसिलामा बिपीले अनेकानेक पटक एउटा कुरो दोहो-याउनुभएको थियो, ‘आफ्नो वैचारिक विकासमा म प्रथमतः गान्धीबाट प्रभावित थिएँ । त्यसपछि माक्र्सतिर उन्मुख भएँ । अहिले म पुनः गान्धीको समीप पुगेको छु ।’ तर, स्मरणीय छ, बिपीले आफूलाई कहिल्यै पनि मार्क्सवादी वा गान्धीवादी भन्नुभएन । उहा“ले माक्र्स र गान्धी दुवैबाट यथावश्यक शिक्षा ग्रहण गर्नुभएको थियो । माक्र्स र गान्धी दुवैमा अनेकन् मतभेद थिए । तर, दुवै नै समाजको सीमान्त व्यक्तिको हकहितमा प्रतिबद्ध थिए । बिपी यस्तै प्रतिबद्धताबाट अनुप्राणित हुनुहुन्थ्यो । 

बिपी कोइरालाले आफ्नो राजनीतिक जीवनको सुदीर्घ संघर्षमा समाजवादका हकमा अन्ततः निष्कर्षमा पुग्नुभएको थियो । कार्ल माक्र्स र गान्धीबाट सुरु भएको विशाल र विदग्ध विचार परम्परा छ । त्यसतर्फ जाने खाँचो छैन । संक्षेपमा भन्दा बिपीले व्याख्या गर्नुभएको समाजवाद केही बिम्बका रूपमा नेपाली समाजको अवचेतनमा भए पनि अझै उपस्थित छन् । एउटा दुधारु गाई, एक हल गोरु, एउटा सुग्घर झुप्रो, सफा र स्वस्थ्य जीवनशैलीका प्रतिपादकका रूपमा बिपी कुनै समय कांग्रेसवृत्तमा चर्चित हुनुहुन्थ्यो । अब त्यो स्मृति मात्र छ। 

बिपी कोइरालाको देहान्त भएको अहिले झन्डै ४० वर्ष हुन आँट्यो । ऐतिहासिक कालक्रमका दृष्टिले ४० वर्ष खास ठूलो समय होइन । तर, यस ४० वर्षमा परिवर्तनको रफ्तार अचिन्त्य रूपमा तीव्र भएको छ । प्रथमतः बिपीको देहान्त भएको १० वर्ष नबित्दैमा सोभियत युनियनको विघटन भयो । त्यस विघटनलाई विश्वका सबै थरीका समाजवादीले पराजयका रूपमा लिए । पुँजीवादले भने आफ्नो अन्तिम विजयको शंखनाद ग-यो । लगत्तै पछि सञ्चार क्रान्तिको विस्फोट भयो । सञ्चार क्रान्ति, भूमण्डलीकरण र नवपुँजीवाद हातेमालो गरेर अगाडि बढे । 

विश्वमा एकै किसिमको आर्थिक व्यवस्थाको दुन्दुभी बज्यो– जे छ, बजार छ, बजारको अदृश्य हातले मनुष्यको नियतिको निर्धारण गर्छ, अरू कुनै विकल्प छैन भन्ने विश्वास विश्वमा हाबी भयो । अंग्रेजीमा ‘देयर इज नो अल्टरनेटिभ’ भन्ने चल्यो । त्यसलाई ‘टिना इफेक्ट’ भनिन्छ । विश्वव्यापी रूपमा हामी टिना असरबाट ग्रस्त छौँ ।

दिनरात समाजवादउपर बहस गरेर नथाक्ने तर लामो समयदेखि ‘मिल्क होलिडे’को अभिशाप खेपिरहेका किसानप्रति संवेदनशील हुन नसक्ने विद्वानजनको हालिमुहालीमाझ एउटा नयाँ किसिमको सभ्यताको सपना हेर्न सकौँला ?

बिपी कोइराला नेपालका प्रथम समाजवादी विचारकका रूपमा प्रतिष्ठित हुनुहुन्छ । २०४७ सालमा हामीकहाँ बहुदलीय व्यवस्थाको पुनःस्थापना भयो । त्यस दिनदेखि नेपाली कांग्रेसले सधैँ नै बिपी कोइरालाको बाटोमा हिँडेको दाबा गरेको छ । तर, यो दाबा बिलकुलै गलत छ । मुलुकको आजको बेहाल हेरेर पनि यस गल्तीको अनुमान लगाउन सकिन्छ । वेलाबखतमा कांग्रेसको केन्द्रीय समिति, महासमिति र महाधिवेशनसमेतमा पनि कांग्रेसको निवर्तमान नीति र कार्यक्रमबारे प्रश्न उठेको हो । तर, एउटा कांग्रेसले संगठित रूपमा बिपीको विचारका उपर अध्ययन र मनन गर्ने जमर्को कहिल्यै गरेन । खास नेताहरू अन्य कुनै कुरोभन्दा पनि सत्ताको छिनाझपटीमा व्यस्त रहे । यसै पनि बिपीको विचारधारामा मनग्य अन्तरविरोध पनि थियो । त्यो अन्तरविरोध के थियो भनेर बुझ्नका लागि हामीले त्यस अन्तरविरोधको ऐतिहासिक पृष्ठभूमिमा जानुपर्ने हुन्छ । 

बिपीको जन्म सेप्टेम्बर १९१४ मा भएको थियो । काशी प्रवासमा रहँदै पढ्दै गर्दामा उहाँँको राजनीति प्रशिक्षण प्रारम्भ भएको थियो । पढाइ सिद्धिएपछि उहाँ थप अध्ययनका दर्मियान नै ‘कांग्रेस सोसलिस्ट पार्टी’को राजनीति र विचारप्रति आकृष्ट हुनुभएको थियो । नेहरु, आचार्य नरेन्द्रदेव र जयप्रकाश नारायणले उहाँका चिन्तनलाई गहिरो रूपमा प्रभावित गरेका थिए । यी तिनै महानुभाव माक्र्सवादका ज्ञाता थिए । तर, भारतीय उपमहाद्वीपको परिवेशमा गान्धीलाई आत्मसात् गर्नुपर्छ भन्ने उनीहरूको ठम्याइ थियो । उनीहरूले माक्र्स, गान्धी दुवैबाट पोषण लिए । त्यस पोषणको परिपाक जयप्रकाश नारायण र डा. राममनोहर लोहियाको भाषण र लेखहरूमा पाइन्छ । बिपीले यस समाजवादी परम्परालाई अझ अगाडि बढाउनुभयो ।

राजनीतिक विचारधारा कुनै ग्रन्थ विशेषबाट मात्र प्राप्त हुँदैन । ग्रन्थ चाहिन्छन् । तर, ग्रन्थले दियालोको काम गर्ने हुन् । दियालोको त्यस उज्यालोमा व्यावहारिक राजनीतिको बाटो हिँड्दा विचारधारा विकसित हुन्छ । जयप्रकाश र बिपीका साथ यस्तै भएको थियो । भारतीय स्वाधीनताको भोलिपल्ट नै जयप्रकाशजी जवाहरलाल नेहरुले देखाउनुभएको विकासको मोडलबाट पूर्णतः असन्तुष्ट हुनुभएको थियो । गान्धीले भन्नुभएजस्तै विकेन्द्रित एवं ग्राममुखी अर्थतन्त्रले मात्र भारतमा स्वाधीन समाज निर्माण गर्न सक्छ भन्ने उहाँको अडान थियो । बिपीका आखिरी वर्षका वक्तव्य र भाषणमा गान्धी र जयप्रकाशको विचारको प्रतिध्वनि भेटिन्छ । त्यसैअनुरूप गाई, हालो, झुपडी र सुग्गर, स्वस्थ र सहज जीवन प्रणाली उहाँका बिम्ब भएका थिए । आज विश्व फेरिएको छ । नेपाल पनि फेरिएको छ । त्यसो हुँदा गान्धीले भनेको चर्खा र बिपीले भन्नुभएको गाईको सुुगारटाइ गर्नु श्राद्धमा बिरालो बाँधेजस्तै हुन्छ । गान्धी र बिपीको वक्तव्यको स्वरूप र शब्द होइन, सार बुझ्न आवश्यक छ । 

सार स्पष्ट छ । दुवैले मुख्यतः आत्मनिर्भर अर्थ व्यवस्थामा जोड दिएका थिए । दुवैले स्वदेशी तर आत्मनिर्भर विकासको मोडलमा जोड दिएका थिए । दुवैले नेपालीको अन्तरज्ञान श्रम र सीपको सम्मान खोजेका थिए । बिपीले पञ्चायतकालीन विकासमा भुइँफुट्टा वर्गको हालिमुहालीको उल्लेख गर्नुभएको छ । नेपालको माटोसँग कुनै सम्बन्ध नराखी कमिसनको पैसा खाएर दरबार ठड्याउने सम्भ्रान्त वर्गलाई औँल्याउनुभएको थियो । नेकपाका वृत्तमा अहिले दलाल पुँजीवादी र भ्रष्टाचारको जुन कुरा चलिराखेको छ, बिपीले स्पष्ट तर सरल शब्दमा यही कुरो भन्नुभएको थियो । नेपालमा विकासको मौलिक मोडेल सजिलै बन्न सक्छ । कोरोनाको संकटलाई अवसरको रूपमा लिन सकिन्छ ।

यो एक इष्टापत्ति हुन सक्छ र त्यसका लागि हामीले हाम्रा डाँडाकाँडा, वनपाखा, प्राकृतिक संशाधन, श्रम र सर्वोपरि हामीसँग सञ्चित रहेको सहज बुद्धि र सीपलाई प्रोत्साहन र परिमार्जन गर्नुपर्छ । समाजवाद एउटा नयाँ किसिमको सभ्यताको सुरुवात हो । यसले नयाँ किसिमको जीवनशैलीको माग गर्छ । तदनुरूप हामीले उत्पादनको शक्ति र उत्पादनको सम्बन्धबारे पनि मौलिक र साहसिक पुनर्विचार अगाडि ल्याउनुपरेको छ । दिनरात समाजवादउपर बहस गरेर नथाक्ने तर लामो समयदेखि ‘मिल्क होलिडे’को अभिशाप खपिरहेका किसानप्रति संवेदनशील हुन नसक्ने विद्वान्जनको हालिमुहालीका माझ एउटा नयाँ किसिमको सभ्यताको सपना हेर्न सकौँला ? 

संसारमा हिंसाले झन्–झन् क्रूर र विविधतापूर्ण अभिव्यक्ति दिएको छ । पर्यावरणको विनाश मुख्य हिंसा भएको छ । त्यसतर्फ कसैको ध्यान छैन । उल्टो हामी एक से एक विशाल विद्युत् परियोजना बनाउँदै छौँ । विभिन्न बहनामा जंगल काटिँदै छ । बिपीले हवाईजहाज र सडकका विषयमा पनि खै के के हो, बोल्नुभएको थियो । तर, यो सब बिर्सिएर हामीले आफ्ना हिंस्रक क्रियाकलापद्वारा एउटा प्रजातिका रूपमा मनुष्यलाई विनाशको डिलमा उभ्याएका छौँ । 

समय आएको छ– नेपालले बिपीले देखाउनुभएको बाटोेका बारेमा गम्भीर बहस थाल्नुपरेको छ । समाजवादलाई एउटा नवीन सभ्यताको रूपमा प्रतिष्ठित गर्नुपरेको छ । त्यस समाजवादमा व्यक्ति र व्यक्तिको सम्बन्ध, व्यक्ति र प्रकृतिको सम्बन्ध, प्रकृति, परिवेश र जीवजन्तुसँगको सम्बन्ध विमर्शको केन्द्रमा रहनेछ । 

उपरोक्त विमर्शमा गोमाता र गोरसले पनि ठाउँ पाउनुपर्छ कि भन्ने मेरो जिज्ञासा हो । विद्वान् प्रधानमन्त्रीका अनुग्रहले भगवान् राम बल्ल ठोरी पुग्नुभएको छ । प्रधानमन्त्रीले गोमाताबारे पनि विचार गरिदिनुपर्छ कि भन्ने मेरो प्रार्थना छ । 

सुझावित समाचार