समस्यामा एसियन गल्फर

शनिबार, २० भदौ, २०७७
डिजिटल संस्करण

विश्व चर्चित गल्फर पिजिए टुर च्याम्पियनसिपमा सहभागी हुँदै छन् । एटलान्टामा शुक्रबारदेखि सुरु हुने पिजिए टुरमा ख्याति कमाएका गल्फरले कुल धनराशि ४ करोड ५० लाख डलर कमाउन आफ्नो कौशलता देखाउनेछन् । त्यही पृष्ठभूमिमा एसियन गल्फर प्रतियोगिताविहीन अवस्थामा छ । कोरोना भाइरस महामारीका कारण एसियका गल्फर खेल र तलबविहीन हुँदा जीवन गुजार्न कठिनाइ भोगिरहेका छन् । भारतदेखि अस्ट्रेलियासम्मका गल्फ खेल्ने खेलाडीले ७ मार्चयता कुनै पनि प्रतियोगितामा सहभागिता जनाएका छैनन् । 

उनीहरूले अन्तिमपटक खेलेको प्रतियोगिता नै मलेसियन ओपन थियो । यो एसियन टुरअन्तर्गतको गल्फ प्रतियोगिता थियो । कोभिड–१९ का कारण अहिले ती गल्फर अभ्यासमा समेत फर्किएका छैनन् । अहिले एउटा आशाको किरण देखिएको छ । दक्षिण कोरियाले अर्को सातादेखि सिन्हानम ओपन गर्दै छ । यो साताभित्र कोभिड–१९ मा सकारात्मक नतिजा आए मात्र दक्षिण कोरियाले प्रतियोगिता गर्नेछ । यदि संक्रमित संख्या बढ्दै गए प्रतियोगिता स्थगित गर्नुपर्ने हुन्छ । 

६ महिनादेखि चुपचाप बसेका एसियन गल्फरले दक्षिण कोरियामा कोभिड–१९ सामान्य अवस्थामै रहनु भन्ने कामना गरेका छन् । अर्कोतिर जापान तथा ताइवानले आ–आफ्ना नियमित प्रतियोगिता स्थगित गरेका छन् । उनीहरूले २०२१ मा कुनै पनि एसियन टुरका गल्फ प्रतियोगिता नहुने घोषणा गरेका छन् । एसियन टुरका सिइओ तथा कमिसनर चाओ मिन थान्टले यो वर्ष कम्तीमा १०–१२ वटा गल्फ प्रतियोतिगा आयोजना गर्ने लक्ष्य राखेको बताएका छन् ।

यसमा कोभिड–१९ को भूमिका महत्वपूर्ण हुने मानिएको छ । एसियामा कोरोन संक्रमित न्यून हुँदै गए मात्र एसियन टुरका प्रतियोगिता गर्न सकिने चाओले बताए । युएस, युरोपियन तथा एलपिजिए टुरका आयोजकले बिस्तारै सबै प्रतियोगिता सुचारु गर्ने तयारीमा छन् । सन् २०२० को आगमनसँगै ती राष्ट्रले वार्षिक क्यालेन्डरअनुसार हुने प्रतियोगिता स्थगित गरेका थिए । एसियन टुरका सिइओ चाओले एसियामा पनि गल्फ प्रतियोगिता सुचारु गर्न युरोप तथा अमेरिकाका आयोजकसँग छलफल गरेको बताएका छन् । 

‘हामी विभिन्न राष्ट्रका आयोजकसँग कुराकानी गरिरहेका छौँ, खेलाडीहरूलाई कसरी गल्फ कोर्समा सहभागी गराउने योजना बनाइरहेका छौँ,’ चाओले भने, ‘खेलाडीहरूको स्वास्थ्यदेखि फिटनेससम्म परीक्षण गर्छौँ ।’ तर एसियाका गल्फ खेल्ने राष्ट्रहरूले आफ्ना खेलाडीलाई १४ दिनको क्वारेन्टाइन व्यवस्था नगरेका कारण पनि प्रतियोगिता सुचारु गर्न असजिलो भइरहेको उनको भनाइ छ । यसैबीच हङकङले नोभेम्बर महिनामा हङकङ ओपन गर्नेछ । यो युरोपियनजस्तै हुनेछ । थाइल्यान्ड र दक्षिण कोरियाले आफ्ना घरेलु खेलाडीलाई राष्ट्रिय स्तरका प्रतियोगिता गर्ने तयारीमा रहेको छ । यसमा पनि सीमित खेलाडीलाई मात्र सहभागिता गराइनेछ ।

चीनमा हुने सांघाई ओपन अनिश्चित समयका लागि स्थगित भएको छ । नियमित हुने प्रतियोगिता एकपछि अर्को गरी रद्द हुँदा एसियन गल्फरमा निराशा छाएको सिइओ चाओले बताएका छन् । ‘खेलाडीहरूलाई खुसी दिन सकिरहेका छैनौँ, यो ६ महिनामा एसियन गल्फरले कस्टकर जीवन बिताएका छन्,’ उनले भने, ‘जब खेलाडीले गल्फ कोर्समा पटिङ र स्विङ गर्न पाउँदैनन्, त्यस बेलासम्म जीवनमा खुसी आउनेछैन ।’ एसियाका व्यावसायिक गल्फरले कोभिड–१९ का कारण वार्षिक लाखौँ डलर गुमाइरहेको ६ पटकका एसियन टुर च्याम्पियन भारतीय खेलाडी एसपी चवारिसाले बताए । 

भन्छन्, ‘एक महिनाअघि मात्र अमेरिकामा पुग्दा म संक्रमित भएँ, यसले संसारको कुनै पनि कुना सुरक्षित नभएको देखाउँछ ।’ एसियन टुर मात्र खेल्ने गल्फर आर्थिक रूपमै समस्यामा रहेको चाओले बताए । ‘जो वर्षभरि नै एसियन टुर मात्र खेल्छन्, उनीहरू अहिले बेरोजगार भएका छन्, यसले दैनिक जीवनमा असर गर्ने भइहाल्यो, साथै आर्थिक रूपमा उनीहरू समस्यामा देखिएका छन्,’ समस्या देखाउँदै चाओले भने, ‘हामीले पछिल्लो समयमा यस्तै समाचार सुन्यौँ ।’ 
 

See More On

सुझावित समाचार