प्रधानाध्यापक र प्राविधिक शिक्षा संयोजककाे राजीनामापछि प्राविधिक शिक्षा शाखाको ताला खुल्यो

शुक्रबार, १९ भदौ, २०७७
डिजिटल संस्करण

बर्दियाको मधुवन नगरपालिकामा रहेको गुराँस माध्यमिक विद्यालयको प्राविधिक शाखामा लगाइएको ताला खुलेको छ । प्रयोगात्मक नम्बर कम दिई अनुत्तीर्ण भएका विद्यार्थीले लगाएको ताला विद्यालयका प्रधानाध्यापक र प्राविधिक शिक्षा संयोजकले पदबाट राजीनामा दिएपछि खुलेको हो । 

गुराँस माध्यमिक विद्यालयमा सञ्चालित सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रमअन्तर्गत  १८ महिने कृषि जेटिएमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण हुने गरी नम्बर दिएपछि त्यसको विरोध गर्दै तालाबन्दी गरेका थिए ।  

विद्यार्थीले प्रेस विज्ञप्ति निकाली विद्यार्थीको अनुत्तीर्ण अंक सच्याउनुपर्ने, अंक सच्याउन नमिल्ने भए विद्यार्थीलाई क्षतिपूर्ति दिनुपर्ने, प्रधानाध्यापक र कार्यक्रम संयोजकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राखेका थिए । 

विद्यालयका प्रधानाध्यापक केशव पौडेलले प्राविधिक रूपमा त्रुटि भई विद्यार्थीको प्रयोगात्मक नम्बर कम आएको बताउँदै त्यसको नैतिक जिम्मेवारी लिई पदबाट राजीनामा दिएको बताए । 

प्राविधिक शिक्षा शाखा संयोजक चेतनाथ कोइरालाले व्यक्तिभन्दा पनि संस्था ठूलो भएको बताउँदै नैतिकताको आधारमा राजीनामा दिएको बताए । उनले भने, ‘प्रयोगात्मक नम्बर दिनुमा मेरो कुनै हात नभए पनि संयोजक भएको नाताले मैले त्रुटिको जिम्मेवारी लिनैपर्छ, त्यसैले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको छु ।’ 

 विद्यालय व्यवस्थापन समितिले विद्यालयका शिक्षक वाईबी केसीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको छ । 

विद्यालय र विद्यालयले खटाएका सुपरिवेक्षकको लापरबाहीका कारण लिखितमा उत्तीर्ण भए पनि प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण हुँदा २१ जना विद्यार्थी अनुत्तीर्ण भएका थिए  । सिटिइभिटीको नियमानुसार प्रयोगात्मक परीक्षाको पूर्णांक २० भए पनि सुपरिवेक्षकले पूर्णांक १२ मानेर नम्बर दिएपछि ३९ जना विद्यार्थीमध्ये प्रयोगात्मक विषय २१ जना विद्यार्थी अनुत्तीर्ण भएका थिए ।

सुझावित समाचार