महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले अनावश्यक भिड नगर्न आग्रह गरिरहेका वेला निर्णय कार्यान्वयन गराउने निकायका प्रतिनिधिले भने भिड जम्मा पारेर बिहीबार झापाको एउटा पुल शिलान्यास गरेका छन् ।
झापाको शिवसताक्षी ११ र ८ जोड्ने पुलको शिलान्यास जनप्रतिनिधि र सरकारी निकायका कर्मचारीले भिड जम्मा गरेर एउटा पुल शिलान्यास गरेका हुन् ।
सरकारले कोरोना भाइरस नियन्त्रणका लागि भिडभाड नगर्न दैनिक आग्रह गर्दै आएको छ । संक्रमण फैलिएको स्थानमा लकडाउन गर्दै जनतालाई बाहिर निस्कनसमेत सरकारले रोक लगाएको छ । तर, सरकारको निर्णय कार्यान्वयन गराउने ठाउँमा बसेका प्रतिनिधि नै सरकारको आग्रहलाई उल्लंघन गर्दै भिड जुटाएर कार्यक्रम गर्नुले सर्वसाधारणमा गलत सन्देश जानसक्ने संभावना हुन्छ ।
पूर्वाधार विकास कार्यालय झापाले आयोजना गरेको उक्त कार्यक्रमको प्रमुख अतिथि थिए– झापा क्षेत्र नम्बर ४ ‘क’ प्रदेश सभा सदस्य झलकसिंह दर्लामी । शिलान्यास कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा र उपप्रमुख भोजकुमारी नेपालको पनि सहभागिता थियो । कार्यक्रममा एक सयभनदा बढी स्थानीयको सहभागिता थियो । अतिथि दीर्घामै करिब १५ जना थिए । त्यहाँ भौतिक दूरी कायम भएको थिएन ।
महामारीका वेला शिलान्यास मोह देखाएका प्रदेश सभा सदस्य दर्लामीले कार्यक्रममा थोरैको उपस्थितिमा शिलान्यास गर्ने भनिए पनि जनताको लामो प्रतीक्षामा रहेको पुल भएका कारण धेरैको उपस्थिति भएको बताए । उनले भौतिक दूरी कायम गरेर मास्क लगाउन आग्रह गरे । ‘शिलान्यास पछि गर्ने भन्ने भएको थियो । तर, निर्माण कम्पनीले कामदार ल्याइसकेकोले छिटै गर्नुपऱ्याे,’ उनले भने ।
शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले सामाजिक दूरी कायम गरेर कार्यक्रम गरेको दाबी गरे । जसका कारण धेरै उपस्थिति भएकोजस्तो देखिएको बताए । ‘वडाध्यक्षहरू, वरिपरिका दुई–चारजना आएका थिए । २०–२५ जनामा पनि धेरै भिड देखिनसक्छ,’ उनले भने, ‘मास्क, स्यानिटाइजर दिएरै कार्यक्रम गऱ्याैँ । हामी सचेत छौँ, भोलि कोरोनाले भेट्यो भने नगरपालिकालाई नै गाह्रो हुन्छ ।’
शिलान्यास कार्यक्रम गर्ने पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले सुरक्षा मापदण्ड अपनाएरै कार्यक्रम गरेको बताए । ‘हामीलाई पनि ज्यानको माया छ । कार्यक्रम मास्क लगाएर सामाजिक दूरी कायम गरेर आधा घन्टामै सिध्याएका हौँ,’ उनले भने, ‘कहिलेकाहीँ काम नगरी नहुने हुन्छ । ठेकेदारले काम सुरु गर्ने भएपछि कोभिडलाई मध्यनजर गर्दै संक्षेपमा शिलान्यास गरियो ।’ उक्त पुल दुई वर्षमा सक्ने गरी नौ करोड ६१ लाख ९१ हजार आठ सय १८ रुपैयाँमा अञ्जना निर्माण सेवालाई ठेक्का दिइएको छ ।