बारीमै कुहिन थाले दक्षिणकालीका किसानको नास्पाती

मंगलबार, १६ भदौ, २०७७
डिजिटल संस्करण

कोरोना भाइरस (कोभिड- १९) ले विश्वभरि नै ठूलो जनधनको क्षति गरेको छ । गत वर्ष डिसेम्बरमा चीनको उहानबाट उत्पत्ति भएको कोभिड– १९ बाट विश्वभरका करोडौँ जनता प्रभावित भएका छन् । नेपाल पनि कोरोनाबाट नराम्रोसँग प्रभावित भएको छ । हजारौँको संख्यामा संक्रमित छन् भने दुई सयभन्दा बढीको मृत्यु भइसकेको छ । यति मात्रै होइन, उद्योग–धन्दा, व्यापार–व्यवसाय ठप्प भएका छन् । किसानका बारीमा फलेका तरकारी र फलफूल बजार अभावमा कुहिएर जाने अवस्था आएको छ । निषेधाज्ञाका कारण दूध बिक्री नभएको भन्दै १३ भदौमा भक्तपुर सूर्यविनायक नगरपालिकाका किसानले त सडकमै फालेका थिए । 

संघ, प्रदेश र स्थानीय सरकारसहित सम्पूर्ण सरोकारवालाको ध्यान कोरोना नियन्त्रणतर्फ केन्द्रित हुँदा किसानका उत्पादन सडकमा फालिने, बारीमा कुहिएर जाने घटना नौलो हुन छाडेको छ । सम्पूर्ण राज्यशक्ति कोरोना केन्द्रित हुँदा आफ्नै बारीको उत्पादन बजारसम्म पुऱ्याउन नपाउँदा किसान पीडित त बनेका छन् नै जीविकोपार्जनका आधार नै खोसिएको महसुस गर्न थालेका छन् । 

काठमाडौं दक्षिणकालीका किसानको बारीमा फलेको नास्पाती बारीमै कुहिने अवस्थामा पुगेको छ । नास्पाती बिक्रीबाट आएको पैसाले घरखर्च धान्दै आएका यहाँका अधिकांश किसानलाई कोरोनाको भन्दा कोरोनाका कारण आफ्नो उत्पादन बारीमै कुहिने चिन्ताले पिरोलेको छ । विगतमा स्थानीय ठेकेदारहरूले बारीमै पुगेर नास्पाती किन्ने गरेकोमा यो वर्ष सरकारले जारी गरेको लकडाउन (निषेधाज्ञा) का कारण आएका छैनन् । दक्षिणकाली नगरपालिका– ८ छइमलेका तेजबहादुर लामा नास्पाती रूखमै कुहिएर खेर जाने पो हो कि भन्ने चिन्ता बढेको बताउँछन् । गत वर्ष ९० हजारको नास्पाती बिक्री गरेका उनको बारीमा ३४ बोट नास्पाती छन् । 

विगत वर्षहरूमा यहाँ हरेक परिवारले कम्तीमा ७० हजारदेखि एक लाखसम्मको नास्पाती बिक्री गर्ने गरेका थिए । तर, यस वर्ष सिजन सकिँनै लाग्दा पनि नास्पाती रूखमै छ । स्थानीय पूर्णबहादुर तामाङले किसानका नास्पाती व्यवस्थापनमा सरकारले सहयोग गरिदिए हुने भन्ने अपेक्षा गरेका छन् । 

विश्वव्यामी महामारीका रूपमा फैलिएको कोरोना नियन्त्रणका लागि सरकारले पूर्वाधार निर्माण, उपचार र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन गरिरहेको छ, यो सकारात्मक पक्ष नै हो । तर, महामारी नियन्त्रणका क्रममा हुने निषेधाज्ञा तथा लकडाउनका कारण किसानको उत्पादनले उचित बजार नपाउँदा कुहिने अवस्थामा रहेका फलफूल, तरकारीलगायतका स्थानीय उत्पादनको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने देखिएको छ ।
भिडियाे

सुझावित समाचार