सडकमै खस्यो विमान, सबै यात्रुको मृत्यु

मंगलबार, १७ कार्तिक, २०८३
प्रिन्ट संस्करण

फ्लोरिडा/ फ्लोरिडाको एक आवासीय क्षेत्रमा एउटा व्यावसायिक जेट विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै नौजनाको मृत्यु भएको छ । दुर्घटना पाम बिच काउन्टीस्थित राष्ट्रपति डोनाल्ड ट्रम्पको रिसोर्ट ‘मार–ए–लागो’बाट करिब १४ किलोमिटर टाढा क्रेस्टहेभननजिकै स्थानीय समयअनुसार दिउँसो करिब १ बजे भएको हो ।

तस्बिरहरूमा बहुलेनको सडकको मध्यभागमा एउटा ठुलो खाडल देखिन्छ, जहाँ ‘लियरजेट ६०’ विमानका भग्नावशेष छरिएका छन् र आगो लागिरहेको छ । यद्यपि, जमिनमा रहेका कुनै पनि व्यक्तिलाई भने चोटपटक लागेको छैन । फेडरल एभिएसन एड्मिनिस्ट्रेसन (एफएए) ले एक विज्ञप्तिमा जनाएअनुसार उक्त विमान टेक्सासको अस्टिनबाट उडेको थियो र बहामासतर्फ जाँदै थियो । उडान विश्लेषणले विमान दुर्घटना हुनुभन्दा केही क्षणअघि प्रतिसेकेन्ड सयौँ फिट तल झरिरहेको संकेत गर्छ ।

दुर्घटना हुनुभन्दा केही क्षणअघि रेकर्ड गरिएको हवाई ट्राफिक नियन्त्रण अडियोमा ककपिटमा रहेको कसैले पनि अशान्ति महसुस गरिरहेको रिपोर्ट गरेको सुन्न सकिन्छ । चालक दलका सदस्यले आपत्कालीन अवस्था घोषणा गर्दै चिच्याएका थिए, ‘हामी २० हजार फिट प्रतिमिनेटको गतिमा तीव्र रूपमा तल बढिरहेका छौँ ।’

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक अप्रमाणित फुटेजमा दुर्घटनाको क्षणको दृश्य देखिन्छ, जुन गाडीमा जडान गरिएको क्यामेरा (ड्यास–क्यामेरा) बाट खिचिएको जस्तो देखिन्छ । यसमा आवासीय उपनगरीय सडकमा सवारी साधनहरू चलिरहेको देखिन्छ, त्यही वेला अचानक एउटा विमान लगभग ठाडो रूपमा जमिनमा ठोक्किन्छ र ठुलो आगोको गोलामा परिणत हुँदै विस्फोट हुन्छ ।

सुझावित समाचार