- युक्रेनको सेनाले स्टारलिंकको सेवा सर्त उल्लंघन गर्यो र सर्वसाधारणलाई मार्नका लागि आक्रामक ड्रोन प्रयोग गर्यो । त्यही भएर सेवा बन्द गरिएको हो ।
न्युयोर्क/ अमेरिकी अर्बपति एलोन मस्कले आफ्नो कम्पनी स्पेसएक्सले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवा प्रतिबन्ध गरेको बताएका छन् । युक्रेनी अधिकारीले कनेक्टिभिटी समस्या समाधान भएको बताइरहेका वेला मस्कले सेवामा रोक लगाएका हुन् ।
मस्कले युक्रेनलाई सैन्य गतिविधिका लागि प्रयोग गरेर युक्रेनले इन्टरनेट सेवा सर्त उल्लंघन गरेको आरोप लगाए । किभले मस्कको पछिल्लो दाबीमा आधिकारिक रूपमा टिप्पणी गरेको छैन, तर युक्रेनी राष्ट्रपतिका सल्लाहकार सेर्ही बेस्क्रेस्टनोभले उनको पोस्ट धेरै अनौठो भएको बताएका छन् । मस्कले पहिले युक्रेनको जडानलाई जानाजानी बिथोलेको विषयलाई अस्वीकार गरेका थिए । सेवा विथोलिँदा एक सातासम्म रक्षात्मक कारबाही सञ्चालन गर्ने क्षमतामा बाधा पुर्याएको बताइएको छ ।
रुसी तेल पूर्वाधारमा युक्रेनी आक्रमणलाई लिएर वासिंटन र किभबिचको व्यापक विवाद चर्किरहेका बेला यो विषय सार्वजनिक भएको हो । मस्कको पछिल्लो टिप्पणी र सेवामा अवरोध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि आएको हो । ‘मानिसलाई मार्नका लागि र आक्रामक ड्रोन आक्रमणका लागि स्टारलिंकले व्यावसायिक सेवा प्रयोग गर्ने अनुमति कहिल्यै दिइएको छैन, न त यसले कहिल्यै दिनेछ,’ मस्कले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । ‘युक्रेनको सेनाले स्टारलिंकको सेवा सर्त उल्लंघन गर्यो र मानिसलाई मार्नका लागि आक्रामक ड्रोन प्रयोग गर्यो । त्यही भएर गत हप्ता सेवा बन्द गरिएको थियो ।’
उनले अगाडि भने कि स्पेस एक्सले पृथ्वीमा रहेका अन्य कुनै पनि निजी कम्पनीको तुलनामा युक्रेनको रक्षाका लागि बढी काम गरेको छ । उनले स्टारलिंक एउटा फरक प्रणाली भएको र यो अमेरिकी सरकारको नियन्त्रणमा रहने कुरा दोहोर्याउँदै थपे, ‘उनीहरूले के गर्ने भन्ने निर्णय उनीहरूमै भर पर्छ ।’ पछि अर्को एक पोस्टमा उनले थपे, ‘स्टारलिंकलाई सैन्य पूर्वाधारका लागि प्रयोग गर्न सकिन्छ, तर यसलाई स्पष्ट रूपमा आक्रामक हमलाका लागि प्रयोग गर्न सकिँदैन । किनकि, त्यसो गर्दा यो (स्टारलिंक) पनि जवाफी हमलाको वैध निसाना बन्न सक्छ ।’
मस्कको पोस्टमा प्रतिक्रिया जनाउँदै बेस्क्रेस्टनोभले युक्रेनमा सञ्चालित स्टारलिंक टर्मिन लमा ७०–९० किमि/घण्टाको गति सीमा तोकिएको र तिनले रुसी भूभागमा काम नगर्ने प्रस्ट परेका छन् । ‘त्यसैले, हामी व्यावसायिक स्टारलिंकलाई गहिरो क्षेत्रमा गरिने हमला वा मध्यम दूरीका हमलाका लागि प्रयोग गर्नै सक्दैनौँ,’ उनले भने ।