षडानन्द पुरस्कार २०८३ को घोषणा

आइतबार, १५ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं ।  आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले षडानन्द पुरस्कार २०८३ प्राध्यापक डाक्टर संस्कृतिविद् तथा समाजशास्त्री प्रेमकुमार खत्रीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

खत्रीले ३६ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकका रूपमा काम गरेका थिए । चाहे त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्रका डिनका रूपमा होस् वा नेपाल तथा एसियाली अध्ययन केन्द्रका कार्यकारी निर्देशक तथा केन्द्रीय क्याम्पस कीर्तिपुरमा संस्कृति विभागका अध्यक्षका रूपमा नै किन नहोस्, उनले नेपाली कला र संस्कृतिको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका छन् । उनका मानवशास्त्र, समाजशास्त्र तथा नेपाली संस्कृतिसँग सम्बद्ध एकल तथा संयुक्त लेखनमा तयार भएका नेपाली भाषाका दश र अंग्रेजी भाषाका चारवटा पुस्तक प्रकाशित छन् ।              

पूर्वाञ्चलको भोजपुरको दिङ्लामा जन्मिएर शिक्षा, संस्कृति, अध्यात्म, समाजसुधार तथा पर्यावरणका क्षेत्रमा अतुलनीय योगदान दिएका अबाल ब्रह्मचारी बालगुरु षडानन्दको स्मृतिमा हरेक वर्ष प्रदान गरिने यो पुरस्कारको राशि एक लाख रुपैयाँको रहेको छ । 

हरेक दुई वर्षमा प्रदान गरिने षडानन्द राष्ट्रिय पुरस्कार भने यस वर्ष विश्रान्ति मन्दिर आश्रम मूलघाट धनकुटालाई प्रदान गरिने भएको छ । यस आश्रमले आर्थिक रूपमा विपन्नका निम्ति निःशुल्क दाहसंस्कार तथा १३ दिनसम्मको किरियाकर्मका लागि आवश्यक सम्पूर्ण सामान निःशुल्क उपलब्ध गराउँदै आएको छ । यस आश्रमले वृद्धाश्रम सञ्चालन गर्नुका अतिरिक्त भोजनसहित निःशुल्क गुरुकुलीय शिक्षासमेत प्रदान गर्दै आएको छ ।

समाजसेवाका क्षेत्रमा पुर्याएको यो योगदानको कदर गर्दै विश्रान्ति मन्दिर आश्रमलाई पुरस्कृत गरिएको षडानन्द प्रतिष्ठानका सचिव बद्रीविशाल भट्टराईले जानकारी दिए । नेपालमा समाजसेवाका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्ति वा संस्थालाई प्रदान गर्ने यस पुरस्कारको राशि ५१ हजारको रहेको सचिव भट्टराईले बताए ।  

यस वर्षको षडानन्द क्षेत्रीय पुरस्कारबाट जसराज किराँतीलाई विभूषित गर्ने निर्णय प्रतिष्ठानले गरेको छ । आफ्नो जन्मथलो बुइपा, खोटाङलाई नै कर्मभूमि बनाई किराँतीले कविता सिर्जना तथा साहित्यिक पत्रिका प्रकाशनमा उल्लेख्य योगदान गरेका छन् । उनका उज्यालो खोज्ने आँखाहरू (२०३७) र जसराज किराँतीका कविताहरू (२०६५) कवितासंग्रह प्रकाशित छन् ।

हरेक वर्ष शिक्षा, संस्कृति तथा साहित्यका क्षेत्रमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गर्दै आएको यस क्षेत्रीय पुरस्कारको राशि ५१ हजारको रहेको छ । 

यी तीनवटै पुरस्कार आबाल ब्रह्मचारी षडानन्दको १९२औँ जन्मजयन्तीका अवसरमा मंसिर २८ गते प्रदान गरिने प्रतिष्ठानका सचिव भट्टराईले बताए ।
       
 

सुझावित समाचार