राजनीतिक व्यक्तिको जीवनी लेख्नु भनेको उसका पद, जिम्मेवारी र उपलब्धिको सूची बनाउनु मात्र होइन, उसको व्यक्तित्व निर्माण गर्ने परिवार, समाज, शिक्षा, गुरु, साथी, अभाव, संघर्ष, सफलता, असफलता र समयसँगको अन्तर्क्रियालाई पनि बुझ्नु हो । यही अर्थमा गोविन्दप्रसाद दुलालद्वारा लिखित ‘आनन्दप्रसाद पोखरेल ः विचार, संघर्ष र नेतृत्व’ पुस्तक मूल शक्ति आनन्दप्रसाद पोखरेललाई राजनीतिक नेताका रूपमा प्रस्तुत गर्नुमा छैन, संघर्षले बनाएको मानिसको विषयले जगाएको चेतना र अनुभवले परिपक्व बनाएको राजनीतिक व्यक्तित्वका रूपमा प्रस्तुत गर्नुमा छ ।
विचारको पहिलो झिल्को
पोखरेलको राजनीतिक चेतनाको सुरुवात कुनै ठुलो राजनीतिक मञ्चबाट भएको थिएन । गाउँको सामान्य जीवन, सीमित शैक्षिक अवसर, सामाजिक असमानता र अभावबिच हुर्किएको एउटा बालकमा देखिएको प्रश्न गर्ने स्वभाव नै पछि राजनीतिक चेतनाको आधार बन्यो ।
कक्षा पाँचमा पढ्दाको एउटा सामान्य विद्यालयीय घटनामा उनले अन्याय वा असहजतामाथि प्रश्न उठाएको प्रसंग पुस्तकमा आउँछ । त्यो प्रश्न एउटा बालकको सामान्य जिज्ञासा मात्र थिएन, त्यसमा पछि विकसित हुने विद्रोही चेतनाको पहिलो झिल्को देखिन्थ्यो । त्यही प्रश्न गर्ने स्वभाव पछि विद्यार्थी राजनीतिमा पुग्यो, जनआन्दोलनसँग जोडियो, कम्युनिस्ट संगठन निर्माणको यात्रामा प्रवेश गर्यो र अन्ततः राष्ट्रिय राजनीतिक जिम्मेवारीसम्म फैलियो । त्यसैले, पोखरेलको राजनीतिक जीवनलाई पद र जिम्मेवारीको क्रमबाट मात्र बुझ्न सकिँदैन । यो प्रश्नबाट चेतनातर्फ, चेतनाबाट संघर्षतर्फ, संघर्षबाट संगठनतर्फ र संगठनबाट सामाजिक परिवर्तनको राजनीतिक यात्रातर्फ गएको क्रम हो ।
नेपालको कम्युनिस्ट आन्दोलन अनेक धारामा विभाजित रहेको समयमा संगठित, अनुशासित र दीर्घकालीन राजनीतिक शक्ति निर्माण गर्नु ऐतिहासिक आवश्यकता थियो । दोलखामा नेकपा (माले) को संगठन निर्माण पनि यही आवश्यकताबाट अघि बढेको पुस्तकले देखाउँछ । त्यो कुनै एक व्यक्तिको एकल उपलब्धि थिएन । यो सामूहिक नेतृत्व, साझा सपना र हजारौँ कार्यकर्ताको त्यागबाट बनेको एउटा जीवित आन्दोलन थियो । त्यसैले, यस पुस्तकले एउटा गहिरो राजनीतिक सत्यतर्फ संकेत गर्छ, नेता इतिहासका एक्ला निर्माता होइनन्, नेता, संगठन, कार्यकर्ता र समाजको परिवर्तनशील चेतनाको अन्तर्क्रियाले इतिहास निर्माण हुन्छ ।
संगठन : व्यक्तिभन्दा ठुलो सामूहिक जिम्मेवारी
पोखरेलको जीवनयात्राको अर्को महत्वपूर्ण पाटो संगठन निर्माण हो । दोलखाको वाम आन्दोलनको विकासलाई पुस्तकले व्यक्तिगत सफलताको कथाका रूपमा होइन, सामूहिक प्रयत्नको इतिहासका रूपमा प्रस्तुत गरेको छ ।
कम्युनिस्ट आन्दोलनमा संगठन केवल चुनाव जित्ने संयन्त्र होइन । संगठन विचारलाई जनतासम्म पुर्याउने, कार्यकर्तालाई तयार गर्ने, जनताको पीडालाई राजनीतिक एजेन्डामा बदल्ने र परिवर्तनको शक्ति निर्माण गर्ने माध्यम हो । यस अर्थमा पोखरेलको जीवनबाट संगठनबारे निस्कने शिक्षा स्पष्ट छ, संगठन पद बाँड्ने संरचना होइन, विचारलाई व्यवहारमा बदल्ने सामूहिक शक्ति हो भन्ने कुराले प्रस्ट पार्छ ।
आजको राजनीतिमा व्यक्ति, प्रचार र पदलाई संगठनभन्दा माथि राख्ने प्रवृत्ति बढ्दै गएको सन्दर्भमा यो जीवन यात्रा झन् अर्थपूर्ण हुन्छ । व्यक्ति आउँछन्, जान्छन्, तर विचार, संगठन र जनताबिचको सम्बन्ध बलियो रह्यो भने आन्दोलन टिक्छ । पोखरेलको राजनीतिक यात्राको एउटा गहिरो अर्थ यही हो ।
कुनै व्यक्तिको विचार कहाँबाट आयो भनेर बुझ्न उसको जीवनको प्रारम्भिक भूगोल र अनुभवतर्फ फर्किनुपर्छ । पोखरेलको हजुरबाको मार्गदर्शन जीवनमा रामपुरको संघर्ष, गाउँको परिवेश, अभाव, शिक्षाका कठिनाइ र सामान्य जनजीवनसँगको निकट सम्बन्धले उनको चेतनालाई व्यावहारिक धरातल दिएको देखिन्छ ।
जीवनले सिकाएको यथार्थ किताबमा पढिने सिद्धान्तभन्दा फरक हुन्छ । अभाव आफैँले भोगेपछि अभावको अर्थ बुझिन्छ, अवसर नपाउँदा अवसरको मूल्य थाहा हुन्छ, अन्याय देखेपछि न्यायको आवश्यकता अनुभूत हुन्छ । पोखरेलको राजनीतिक चेतनामा पनि यही अनुभवजन्य यथार्थले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
त्यसैले, ‘जीवनले सिकाएको यथार्थ’ यस पुस्तकको एउटा महत्वपूर्ण अन्तर्धारा हो । यो यथार्थ कुनै दार्शनिक भाषणबाट आएको होइन, आफ्नै जीवनका सुखदुःख, अभाव, संघर्ष, हार–जित र सामाजिक अनुभवबाट निस्किएको हो । यही कारणले उनको विकास–दृष्टि पनि केवल सडक, भवन वा बजेटमा सीमित देखिँदैन । जलविद्युत्, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, पूर्वाधार, रोजगारी र सुशासनलाई परस्पर जोडेर हेर्ने उनको दृष्टिकोण समग्र विकासको अवधारणामा आधारित देखिन्छ ।