मोरङ । विराटनगर महानगरपालिका– १०, तिनटोलियास्थित मार्टस् बोर्डिङ स्कुलमा आगलागी हुँदा करिब १० लाख रुपैयाँबराबरको शैक्षिक सामग्री जलेर क्षति भएको छ।
बिहीबार बिहान ४ बजेतिर विद्युत् सर्ट भएर आगलागी हुँदा कार्यालयका उपकरण र विज्ञान प्रयोगशालाका सामग्री जलेर नष्ट भएका हुन्। विद्यालयका सञ्चालक सिएम श्रेष्ठका अनुसार आगलागीबाट कार्यालयमा रहेका दुई थान कम्प्युटर, एक थान प्रिन्टर, एक थान स्टेपलाइजर र दुई थान कुर्सी जलेर नष्ट भएका छन्।
त्यसैगरी विज्ञान प्रयोगशालामा रहेका विभिन्न सामग्रीमा समेत क्षति पुगेको उनले बताए। स्थानीयका अनुसार आगलागीको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो।
विराटनगर महानगरपालिकाको दमकलको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। घटनावारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।