काठमाडौं/ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेका छन्।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री वाग्ले र एडिबीका अध्यक्ष मासातो कान्दाबिच बिहीबार भेटवार्ता भएको हो।
भेटवार्तामा अर्थमन्त्री वाग्लेले विपतपश्चातको पुनरुत्थान, जलवायु–उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताहरू अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न आग्रह गरेका हुन्।
विनाशकारी बाढीपछि उद्धार कार्यमा सहयोग गर्न आपतकालीन अनुदानको छिटो स्वीकृति र हार्दिक ऐक्यबद्धताका लागि वाग्लेले एडिबीप्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त गरे। डा. वाग्लेसँगको भेटमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताए।