सुदूरपश्चिमकोबजेटले एमालेभित्रचर्कियो विवाद

ह्विप उल्लंघन गरेका दुई सांसदलाई स्पष्टीकरण, सांसद थापाले दिए राजीनामा, संसद्को सामाजिक समितिका सभापति पाठकको खोसियो पद

बिहिबार, २९ असोज, २०८३
प्रिन्ट संस्करण

सुदूरपश्चिम प्रदेश सभाले मंगलबार पारित गरेको बजेटलाई लिएर सत्तारूढ एमालेभित्र विवाद चर्किएको छ । बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् भने बजेट पारित गर्न बसेको प्रदेश सभा बैठक बहिष्कार गरेका आफ्ना दुई सांसदलाई एमाले संसदीय दलले स्पष्टीकरण सोधेको छ । 

थापाले सभामुख भीमबहादुर भण्डारीलाई मंगलबार नै राजीनामापत्र बुझाएका हुन् । उनको राजीनामाबारे सभामुखले निर्णय गरिसकेका छैनन् । राजीनामा बुझाका थापा बजेट पारित गर्न मंगलबार बसेको प्रदेश सभा बैठकमा उपस्थित भएनन् । सभामुख भण्डारीले प्रदेश सभा सदस्य थापाले राजीनामा बुझाएको, तर यसबारे निर्णय भइनसकेको बताए । स्रोतका अनुसार थापाको राजीनामा तत्काल ‘होल्ड’ गर्न एमाले नेतृत्व तहबाटै सभामुखलाई आग्रह गरिएको छ ।

दलको ह्विप उल्लंघन गर्दै बजेट पारित गर्ने बैठक बहिष्कार गरेका थापा र अर्का सांसद धर्मराज पाठकलाई एमाले संसदीय दलले स्पष्टीकरण सोधेको छ । उनीहरूलाई ४८ घण्टाभित्र जवाफ पठाउन भनिएको छ । पाठकको सामाजिक विकास समिति सभापतिको जिम्मेवारी पनि खोसिएको छ । पाठकलाई समिति सभापतिबाट फिर्ता बोलाउने निर्णय सभामुखलाई समेत जानकारी गराइएको एमाले संसदीय दलका सचेतक निर्मला साउदले बताइन् । 

प्रदेश सभा बैठकमा उपस्थित नभएको विषयमा स्पष्टीकरण सोधिएको उल्लेख गर्दै साउदले जवाफ आएपछि थप कारबाहीबारे दलको बैठकमा छलफल हुने बताइन् । एमालेले मंगलबार बसेको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । ह्विप जारी गर्न बसेको दलको बैठकमा पाठक अनुपस्थित रहेको र थापा उपस्थित भए पनि हाजिरी नगरेको बताइएको छ ।

थापाले जनताका लागि, आफ्नो क्षेत्रका लागि केही गर्न नसकेको, ‘पावरवाला’को मात्र काम हुने सरकारबाट कुनै अपेक्षा पनि नरहेकाले जनताको करबाट सेवासुविधा लिइरहनु उपयुक्त नठानेकाले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । प्रदेश सरकारका गतिविधिले प्रदेश संरचनाप्रति पनि नकारात्मक भावना फैलिएको उनले राजीनामापत्रमा लेखेका छन् ।

स्रोतका अनुसार थापाले बजेट पारित गर्न नहुने र बजेटमाथिको छलफलका क्रममा सबै सांसदले भाग लिन पाउनुपर्ने माग संसदीय दलमा राखेका थिए । तर, दलका नेता राजेन्द्रसिंह रावलले उनलाई बजेटमाथिको छलफलमा दलका तर्फबाट बोल्न नाम दिएनन् । नेता रावल आफैँले बजेटबारे सदनमा धारणा राखेका थिए ।

कञ्चनपुर १ (१) बाट प्रत्यक्ष निर्वाचित थापा यसअघि प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थिए । आर्थिक मामिलामन्त्री चक्र मल्लले गत आइतबार प्रस्तुत गरेको ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजारको बजेट प्रदेश सभाले मंगलबार पारित गरेको थियो । मल्ल एमालेबाटै मन्त्री बनेका हुन् । बजेटलाई लिएर सत्तापक्षकै सांसदले चर्को असन्तुष्ट जनाएपछि आगामी मंसिर पहिलो सातासम्म पूरक बजेट ल्याउने गरी बजेट पारित गरिएको थियो ।
 

सुझावित समाचार