कांग्रेसको १५औँ महाधिवेशनबाट थप ६ पदाधिकारीको नतिजा आएको छ । जसमा गत पुसमा विशेष महाधिवेशनबाट आएका नेताहरू नै निर्वाचित भएका छन् ।
आइतबार राति सम्पन्न मतगणनामा उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भए । भण्डारी र आचार्य खुलातर्फ र चौधरी समावेशीतर्फ निर्वाचित भएका हुन् । भण्डारीलाई ३,७३५ र आचार्यलाई २,३४२ तथा चाैधरीलाई १,७४५ मत प्राप्त भएका छन् ।
यस्तै, महामन्त्रीमा दुई खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा तथा डा. डिला संग्रौला निर्वाचित भएका छन् । पौडेललाई ४१९४, राणालाई २,३३० र संग्रौलालाई ३,११८ मत प्राप्त भएको छ । पदाधिकारीमा निर्वाचित भण्डारीबाहेक सबै विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा थिए ।
उपसभापतिको खुलातर्फ दुई पदका लागि भण्डारी, आचार्य, गोविन्द भट्टराई, सुरेन्द्रराज पाण्डे, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्रमोहन यादव प्रतिस्पर्धामा थिए । उपसभापतिको समावेशीतर्फ एक पदका लागि चौधरी, जीवन परियार, फरमुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्ण प्रतिस्पर्धामा थिए ।
महामन्त्रीको खुलातर्फ दुई पदका लागि पौडेल, राणा, अमरसिंह पुन, डा. सुनीलकुमार शर्मा, गुरुराज घिमिरे, नैनसिंह महर, डा. सन्तोष उपाध्याय र शंकर तिवारी प्रतिस्पर्धामा थिए । महामन्त्रीको महिलातर्फ एक पदका लागि महालक्ष्मी उपाध्याय डिना, संग्रौला र रिता खनाल प्रतिस्पर्धामा थिए । कांग्रेस सभापतिमा गगन थापा, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्वाचित भइसकेका छन् । विशेष महाधिवेशनबाट आएको कार्यसमितिमा थापा सभापति, शर्मा र भुसाल उपसभापति थिए ।
सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको गणना जारी
आइतबार साँझदेखि सहमहामन्त्री र महिला केन्द्रीय सदस्य खुलाको मतगणना थालिएको छ । विभिन्न ६ ठाउँमा मतगणना भइरहेको कांग्रेस निर्वाचन समितिले जनाएको छ । सहमहामन्त्री खुलामा नौजना चुनावी मैदानमा छन् । जसमा दुईजना निर्वाचित हुन्छन् ।
उम्मेदवारहरूमा रामहरि खतिवडा, अजयबाबु सिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्रराज कँडेल, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेश धमला र राजीव ढुंगाना छन् । एकजना महिला सहमहामन्त्रीका लागि नानुमैया बाँस्तोला र प्रतिमा गौतम प्रतिस्पर्धी छन् ।
केन्द्रीय सदस्य महिला खुलामा १५ जनाका लागि ३६ जना प्रतिस्पर्धामा छन् । जसमा अकला गुरुङ, अनिता देवकोटा, इन्दिरा चौलागाईं, उमा दाहाल, उर्मिला थपलिया, कल्पना तिवारी, कान्तिका सेजुवाल, कुसुमदेवी थापा, गंगा दाहाल, गंगा शाही, गण्डकी थापा अधिकारी, गीता सत्याल, चिनी पोखरेल (चिनु), जमुना ढकाल, तुलसी देवकोटा, धनाकुमारी खतिवडा, नम्रता बराल, निमा गिरी, निर्मला क्षेत्री प्रतिस्पर्धी छन् ।
यस्तै, निर्मला तामाङ बस्नेत, पवित्राकुमारी अर्याल, भगवती काफ्ले भण्डारी, भवानी देवकोटा, विनिता खड्का, विष्णुकुमारी सापकोटा, बासना थापा, मुना भुसाल, मोदती केसी, यस्मिन ढुंगाना, राधिका कटुवाल, रीता थापामगर, रीता सेन ओली, लक्ष्मी पाण्डे, सम्झना खत्री, सुमित्राकुमारी बम र सिर्जना अधिकारी प्रतिस्पर्धामा छन् ।