काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खस–आर्य क्लस्टर) पदको मतगणनामा मनोजमणि आचार्यले आफ्नो अग्रता कायम राखेका छन्।
केन्द्रीय निर्वाचन समितिको पछिल्लो विवरणअनुसार एक हजार ७०७ मत गणना हुँदा आचार्य ६२३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। उनका निकटतम प्रतिस्पर्धी जगदीश्वरनरसिंह केसीले ५४५ मत प्राप्त गरेका छन्। आचार्य र केसीबिच ७८ मतको अन्तर रहेको छ। त्यस्तै, सहमहामन्त्री पदका अर्का उम्मेदवार दिनेश कोइरालाले ३३१ मत प्राप्त गर्दा शुभराम बस्नेतले ११४ मत पाएका छन्।
सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा खस–आर्यसहित विभिन्न क्लस्टरका पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका अनुसार आज थप ६ वटा क्लस्टरको मतगणना भइरहेको छ भने केही क्लस्टरको गणना हिजोदेखि नै जारी छ।