सुधाकर दलेला नेपालका लागि भारतीय राजदूत प्रस्तावित

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ भारतले विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध हेर्ने सचिव रहेका अनुभवी कूटनीतिज्ञ सुधाकर दलेलालाई नेपालका लागि राजदूत प्रस्ताव गरेको छ ।

भारतीय विदेश मन्त्रालयले दलेलाको नाम स्वीकृतिका लागि मंगलवार परराष्ट्र मन्त्रालयमा लिखित अनुरोध पठाएको कूटनीतिक श्रोतले बताएको छ । 

नयाँ दिल्लीस्थित नेपाली राजदुताबासलाई समेत दलेलाको नियुक्तीवारे विदेश मन्त्रालयले जानकारी गराएको छ । भारतले लामो समयदेखि नेपालमा अतिरिक्त सचिव स्तरका बरिष्ठ कूटनीतिक अधिकारी पठाउँदै आएकोमा यसपटक सचिव ओहोदाका अनुभवी कूटनीतिज्ञ पठाउन लागेको छ । 

निवर्तमान राजदूत नवीन श्रीवास्तवको पदावधि १ अक्टोवरदेखि समाप्त भएसँगै उनी सेवाबाट अबकास पाएर दिल्ली फर्किसकेका छन् । उनकै ब्याजी रहेका दलेला श्रीवास्तवका उत्तराधिकारी भएका छन् ।
 

दलेला विगतमा भुटानका लागि भारतीय राजदूत तथा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान हेर्ने उत्तरी महाशाखा (नर्थ डिभिजन) प्रमुख थिए । त्यसअघि उनी दक्षिण एशियामा बंगलादेशको ढाकास्थित भारतीय राजदूताबासमा पनि काम गरेका छन् । दलेलाको नाम स्वीकृतिका लागि प्राप्त भएको परराष्ट्र मन्त्रालयका अधिकारीले पुष्टि गरेका छन् । नेपालले एग्रिमो पठाइसकेपछि दलेला विधिवतरुपमा राजदूत नियुक्त हुनेछन् । 

कूटनीतिज्ञ दलेला सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका थिए । इजरायलस्थित भारतीय राजदुताबासबाट कूटनीतिक करिअर शुरु गरेका उनले ब्राजिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु, र वासिङ्टन डि.सी. स्थित भारतीय नियोगहरूमा काम गरिसकेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

उनले नेपाल र भुटान हेर्ने डेस्कमा शुरु (सन् २००६) मा निर्देशक तथा सन् २०१६ देखि चार बर्ष प्रमुखका रुपमा काम गरेका थिए । उनी नेपाली राजनीतिक नेताहरु तथा कर्मचारीहरुमा परिचित व्यक्ति हुन् । 

उनी १ सेप्टेम्बर २०२५ देखि विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को रूपमा जिम्मेवारी सम्हालेका थिए । विदेश मन्त्रालयमा विदेश सचिवबाहेक पाँचजना विभिन्न क्षेत्रगत सचिवको जिम्मेवारीमा रहँदै आएका छन् ।

विदेश सचिव सबैभन्दा बरिष्ठतम हुन् भने अन्य सचिवहरुले क्षेत्रगत जिम्मेबारी सम्हाल्ने गरेका छन् । दलेला तिनैमध्येका हुन् । 

सुझावित समाचार